आठ सय रोपनीमा हिउँदे आलुको खेती
पर्वत– म्याग्दी जिल्लामा यस वर्षको हिउँदे सिजनमा आठ सय रोपनीभन्दा बढी जमिनमा हिउँदे आलुखेती विस्तार गरिएको छ ।
नगदे बालीको रूपमा जिल्लामा रहेका एक नगरपालिका र पाँचवटै गाउँपालिकामा व्यावसायिक रूपमा आलुखेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले समुदायस्तरमा खायन आलु प्रवर्द्धन कार्यक्रममार्फत् किसानलाई अनुदान उपलब्ध गराएपछि जिल्लामा हिउँदे आलुखेती विस्तार भएको हो ।
खायन आलु प्रवर्द्धन कार्यक्रम अन्तर्गत विभिन्न २१ वटा कृषक समूह तथा सहकारीले ८५० रोपनीमा व्यावसायिक रूपमा आलुखेती लगाएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिए । उनका अनुसार, यस कार्यक्रममार्फत् करिब तीन सय रोपनीमा बर्खे आलुखेती गर्ने तयारी गरिएको छ ।
गण्डकी प्रदेशको कृषि तथा सहकारी मन्त्रालयले म्याग्दी जिल्लामा आलुको संरक्षण तथा विस्तार र व्यावसायिकताका लागि चालु आर्थिक वर्षमा एक करोड २० लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट कार्यालयले कार्यक्रममा समावेश हुन आएका किसान समूह र सहकारीलाई आलुको बीउ, यान्त्रिक उपकरण खरिद, सिँचाइ सुविधा विस्तार र बजारीकरणमा अनुदान दिएको कार्यालयले जानकारी दिएको छ ।
खायन आलु प्रवर्द्धन कार्यक्रमको लागि छनोटमा परेका कृषक समूह र सहकारीमा आबद्ध किसानले आलुको बीउ र सिँचाइतर्फ ७५ प्रतिशत तथा यान्त्रिकरण र बजारीकरणतर्फ ५० प्रतिशत अनुदान पाएका छन् । यस वर्ष जिल्लामा एक हजार दुई सय रोपनी जमिनमा आलुखेती विस्तार गर्ने लक्ष्य लिइएको छ । बाँकी क्षेत्रफलमा बर्खे सिजनमा आलुखेती हुने कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेश सरकारबाट मन्त्रालयबाट प्राप्त बजेटमध्ये एक करोड रकम किसानलाई अनुदान वितरणमा खर्च हुने र २० लाख रकम किसानलाई तालिम, अभिमुखीकरण, निरिक्षण, पुस्तक प्रकाशन, प्राविधिक सहयोगको क्षेत्रमा परिचालन हुने कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गंगा लामिछानेले जानकारी दिए ।
जिल्लामा खेती गरिने प्रमुख बालीमध्येमा पर्ने आलुखेतीबाट जिल्लालाई आत्मनिर्भर बनाउँदै स्थानीयको आयआर्जनमा सुधार ल्याउन आलुखेतीले सहयोग पुग्ने किसानहरूको भनाइ छ । जिल्लामा हाल स्थानीय सेतो, रातो जातको आलु, निलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको ज्ञान केन्द्रले जनाएको छ ।