अलैंची १२ वर्षयताकै उच्च मूल्यमा बिक्री
इलाम– देशकै अर्थतन्त्र माथि उठाउन विदेश निर्यात हुने नगदेबालीको मूल्य हाल १२ वर्षयताकै उच्च छ । हाल अलैंची एक लाख १० हजारमाथि कारोबार भइरहेको छ । बजारमा किसानले बिक्रीका लागि ल्याएको अलैँची प्रतिमन एक लाख १० हजारसम्मले खरिद भइरहेको इलाम उद्योग वाणिज्य संघ इलामका अध्यक्ष कृष्ण पौडेलले बताए । उनका अनुसार यो मूल्य १२ वर्षयताकै उच्च हो । यो मूल्य करिब १५ दिनयता अस्थिर छ ।
१२ वर्षअघि प्रतिमन एक लाख ४० हजार पुगेको अलैँची त्यसबीचमा न्यून मूल्यमा खरिद बिक्री भएको थियो । बीचमा प्रतिमन २० हजारदेखि ३० हजारसम्ममा बिक्री गर्दै आएका थिए । तीन वर्षअघि मात्र ३५ हजार रहेको अलैँचीको मूल्य गएको वर्ष ५० हजारको हाराहारीमा बिक्री भएको थियो । यस वर्ष एक लाखमाथिको मूल्यमा बिक्री सुरु भएको छ ।
हाल अलैँचीको मूल्य आकाशिएको छ । इलाममा अलैँची प्रतिमन एक लाख १० हजारदेखि एक लाख १८ हजारसम्ममा कारोबार भइरहेको छ । उच्च गुणस्तरको अलैँची एक लाख १८ हजारसम्म कारोबार भइरहेको हो । बजार ल्याउँदा एक लाख १० हजारसम्ममा मात्र कारोबार भए पनि गाउँगाउँमा पुग्ने व्यापारीहरूले एक लाख १८ हजारसम्म मूल्य दिने गरेका छन् । अलैंचीको मूल्य प्रतिमन घटीमा एक लाख १० हजार रुपैयाँसम्ममा कारोबार भइरहेको छ । जिल्लाका सबै पालिकामा यसको खेती हुने गरेको छ ।
गएका कही वर्षमा अलैँचीको मूल्यमा घटबढको उतारचढाव देखापर्ने गरिरहेको थियो । तर गएको वर्षदेखि नै मूल्य निरन्तर उकालो लागिरहेको छ । यसवर्ष अलैँची उत्पादन सुरु भएसँगै ८० हजार रुपैयाँ प्रतिमनमाथि यसको कारोबार भइरहेको छ ।
२०६७ सालमा अलैंची करिब एक लाख ४० हजारसम्मले खरिद बिक्री भएको थिया । यो मूल्य धेरै किसानले पाएनन् । सिजन अफ भएपछि सो मूल्य आए पनि धेरै किसानसँग अलैँची थिएन । गुणस्तरीय र ठूलो दानाको अलैँचीको मूल्य एक लाख १८ हजार रुपैयाँ प्रतिमनसम्म पुगेको थियो ।
नेपालबाट निर्यात हुने अलैँचीको ठूलो हिस्सा भारत निर्यात हुने गरेको छ । नेपालमा उत्पादन भएको अलैँची भारतीय व्यवसायीले आफूखुसी मूल्यमा खरिद गर्ने गरेको पाइएको छ । नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण हिस्सा ओगटेको नेपाली अलैँची बंगालादेश तथा अन्य खाडी मुलुकमा जाने गरेको छ । अलैँचीमा नेपालको आफ्नै समर्थन मूल्य नहुँदा भारतकै भरमा मूल्य पाइने गरेको छ । मुलुकभर १२ हजार ५०८ हेक्टरमा अलैँचीखेती हुँदै आएको पाइएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकमा उल्लेख छ । नेपालमा अलैँची खेती हुने जमिनसमेत कहिले घट्ने त कहिले बढ्ने गरेको छ । किसानको बारीमा अलैँची मासिएपछि प्राय: उच्च मूल्य पाइने गरेको छ ।
अलैँचीको कुल खेतीमध्ये कोशी प्रदेशका हिमाली तथा पहाडी जिल्लामा मात्र ११ हजार ६०७ हेक्टर क्षेत्रमा रहेको छ । अलैँचीको कुल उत्पादन वार्षिक रूपमा ६ हजार ५२० मेट्रिक टन रहेको जनाइएको छ । सबैभन्दा बढी कोशी प्रदेशमा नै यसको उत्पादन हुने गरेको पाइएको छ । कोशी प्रदेशमा मात्र ६ हजार ९५.९ मेट्रिक टन उत्पादन हुँदैछ । कुल उत्पादनको ९३ दशमलव ४९ प्रतिशत अलैँची उत्पादन कोशी प्रदेशमा हुने गरेको छ ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार बर्सेनि सवा चार अर्ब रुपैयाँ बराबरको अलैँची निकासी भइरहेको छ । चालु वर्ष २०८१/०८२ को पहिलो तीन महिनामा सात सय ८३.७५ मेट्रिक टन अलैँची मेची भन्सारबाट निर्यात भएको छ । यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशत कमी हो । आव २०८०/०८१ यो अवधिमा एक हजार पाँच सय २५.९६ मेट्रिक टन अलैँची निर्यात भएको तथ्यांकमा उल्लेख छ ।
सरकारले अलैँची खेतीलाई प्रवर्द्धनका लागि कुनै दिगो कार्यक्रम सञ्चालन गर्न नसक्दा पनि किसानले नियमित यसको खेती गर्न नसकिरहेको बताउने गरेका छन् ।