बाढीले खण्डहर बनेको विद्यालयमा ठडिए पूर्वाधार
जुम्ला– बेमौसमी वर्षापछि आएको बाढीले बगर बनेको तातोपानी गाउँपालिका–४ स्थित नेत्रज्योति मावि विद्यालय पुनर्निर्माण भएको छ । चार वर्षअघि २०७९ सालको असोज १९ गतेदेखि २५ गतेसम्म भएको वर्षापछि आएको बाढीले बगरमा परिणत भएको उक्त विद्यालयमा पक्की पूर्वाधार ठडिएका हुन् ।
खोलानजिकै रहेको विद्यालयमा एकाएक ठूलो बाढी पसेपछि विद्यालयका सबै भवन, घेराबार, कक्षा कोठाका फर्निचर, खानेपानी, खेलमैदान लगायतका सबै संरचना बगरमा परिणत भएका थिए । कक्षा कोठा सबै भत्किएका, चर्किएका मात्र थिएनन् । नियमित खेलकुद आयोजना हुने मैदान ढुंगा र बालुवाले भरिएको थियो । विद्यालयको हृदयविदारक अवस्थापछि विद्यार्थी लामो समय विद्यालय आउनसमेत सकेका थिएनन् ।
तर बाढीले खण्डहर बनेको नेत्रज्योति विद्यालय साढे चार वर्षपछि पुरानै अवस्थामा फर्किएको छ । विद्यालयमा नयाँ पक्की भवन निर्माणदेखि घेराबार लगायतका संरचना पुनर्निर्माणपछि नियमित पठनपाठनमा समेत सहज भएको छ । हाल विद्यालयमा १४ कोठे पक्की भवन निर्माण भएको छ भने मैत्रीपूर्ण शौचालयसँगै अधिकांश संरचना अपांगमैत्री बनेका छन् । बाढीले खण्डहर बनेको विद्यालयमा पक्की संरचना ठडिएर विद्यार्थीले निर्धक्क पढेको देख्दा खुसी अनुभूति हुने गरेको नेत्रज्योति माविका प्रधानाध्यापक जाज्वाल्यराज न्यौपाने बताउँछन् ।
२०७९ को बाढीले साँझ सकुशल रहेको विद्यालय भोलिपल्ट बगर बनेको देखेपछि मन भक्कानिएको थियो । उनले भने, ‘आफ्नो पहल, पालिका तथा सबैको सहयोगले चार वर्षमै विद्यालयमा १४ कोठे पक्की संरचना बनेका छन् । विद्यालयको स्वरुप पुरानै अवस्थामा फर्किएको छ । त्यतिबेला बाढीले विद्यालय बग्दा धेरैले विद्यालयसमेत छोडे । अब हिउँद बिदा हुनै लागेको छ । नयाँ शैक्षिक सत्रपछि विद्यार्थी थपिने र ढुक्कले पठनपाठन हुने वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ ।’
बाढी जानुपूर्व त्यो विद्यालयमा सात सय विद्यार्थी थिए । अहिले ५४० जनामात्र विद्यार्थी छन् । संरचना पुरानै अवस्थामा फर्किए विद्यार्थी संख्या र पठनपाठन पनि पुरानै लयमा फर्काउने प्रयास गरिने प्रअ न्यौपानेको भनाइ छ । बाढीले विद्यालयको एक करोड ६६ लाख ३५ हजार रुपैयाँ बराबरको क्षति गरेको थियो । चार करोड भन्दा बढी लागत स्टिमेटमा बनिरहेको भवन निर्माणमा तीन करोड १७ लाख रुपैयाँ खर्च भइसकेको छ । उक्त भवनमा क्षति भएको थियो ।
हाल संघीय सरकारको नमुना विद्यालय गुरुयोजना अनुसार विद्यालयको भवन बनिरहको छ भने सिँचाइ डिभिजन कार्यालयको सहयोगमा अत्याधुनिक शौचालय र गिडिखोलामा तटबन्ध निर्माण भइएरहेको छ । साथै एक करोड १५ लाखमा खेलमैदान लगायतका पूर्वाधार बन्ने क्रम जारी छ ।
२०७९ सालको बेमौसमी वर्षापछि आएको बाढीले जुम्लाका विद्यालय, विद्युतगृह, घर, सिँचाइ कुलालगायतका सयौ संचरना क्षतविक्षत बनाएको थियो भने मार्सीधान उत्पादन हुने १८ हेक्टर जमिनमा क्षति पुर्याएको थियो । भित्र्याउनै लागेको सात करोड बराबरको धानसमेत नष्ट भएको थियो । तर राज्यले राहत तथा पुन:स्थापना र पुनर्निर्माणमा गरेको ढिलाइकै कारण जुम्लामा चार वर्ष पहिलेका बाढीका आला घाउ अझै उस्तै छन् ।