Logo

४४ करोडमा पर्यटकीय गाउँ चित्रे पुग्ने सडक स्तरोन्नति सुरु

पर्वत– पर्वत, कास्की र स्याङ्जाको सिमानामा अवस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पञ्चासेसँग जोडिएको गण्डकी प्रदेशकै नमुना पर्यटकीय गाउँ चित्रे जोड्ने सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

पर्वतको मोदी गाउँपालिका–६ रतीखोलादेखि वडा नं. ८ चित्रेसम्मको १२ किलोमिटर सडक स्तरोन्नति गर्न थालिएको हो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत यो रतीखोला–दराक–चित्रे–गँगटे सडक स्तरोन्नतिका लागि ४२ करोड रुपैयाँमा सम्झौता भएको थियो ।

सडक स्तरोन्नति तथा कालोपत्रेसहित ३० महिनामा सम्पन्न गर्ने गरी गत असारमा सम्झौता भएको हो । सडक निर्माणको जिम्मा ओएशिस इन्जिनियरिङ बिल्डर्स, पूर्णलक्ष्मी प्रालि जेभीले पाएको छ । उक्त सडकअन्तर्गत दुई खण्डमा विभाजन गरेर धमाधम निर्माण कार्य थालिएको निर्माण कम्पनीका साइट इन्चार्ज लाक्पा तामाङले जानकारी दिए । उनका अनुसार अहिले ९० जना मजदुर र पर्याप्त यन्त्र उपकरण परिचालन गरेर द्रुतगतिमा काम भइरहेको छ । सडक मापदण्डअनुसार चक्ल्याउने, ग्याबियन जालि भर्ने, नाली तथा टेवा पर्खाल निर्माणजस्ता काम भइरहेको तामाङको भनाइ छ ।

सडक निर्माणको लागि ढुंगाको भने समस्या छ । स्थानीय रतीखोलावाट पर्याप्त मात्रामा ढुंगा निकाल्न नपाउँदा कामको गति बढाउन समस्या भएको उनको भनाइ छ । गाउँपालिका र स्थानीयबासीसँग सहमति गरेर खोलाको ढुंगा प्रयोगमा ल्याउने तयारी भइरहेको छ । निर्माण सामग्रीको पर्याप्तता र अन्य कुनै अवरोध नभएमा अबको २५ महिनामै सडक कालोपत्रे गरिसक्ने दाबी निर्माण कम्पनीको छ ।

सडक खण्डअन्तर्गत आठ किलोमिटरमा ग्याबियन जाली भर्ने र अन्य पूर्वाधारको काम भइरहेको छ भने तीन किलोमिटर कटिङ गरिसकिएको छ । गत असारमा पूर्वाधार विकास कार्यालय पर्वतसँग निर्माणको सम्झौता भए पनि वर्षायाम रोकिएपछि मात्र काम सुरु भएको थियो ।

सडक स्तरोन्नसत नहुँदा गण्डकी प्रदेशमै प्रख्यात चित्रे होमस्टेमा आउने आन्तरिक तथा बाह्य पर्यटकका साथै स्थानीयले आवतजावतमा सास्ती बेहोर्दै आएका थिए । यहाँका बासिन्दा छिमेकी वडा राम्जादेउराली, आर्थरडाँडाखर्क हुँदै सदरमुकाम र डिमुवा बजारमा आउन बाध्य भएका थिए । अब भने मोदी गाउँपालिकाको केन्द्र रहेको मध्यपहाडी लोकमार्गमा जोडिने पातीचौरसम्म सिधा सडक सम्पर्कले जोडिने स्थानीय होमस्टे व्यवसायी सुशीलादेवी गुरुङले बताइन् । स्थानीयबासीका साथै होमस्टेमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने भएको छ ।

विगत दुई दशकदेखि यहाँ व्यावसायिक रूपमा होमस्टे सञ्चालनमा छ । यहाँका एक दर्जनभन्दा बढी घरमा होमस्टे सञ्चालन छ । दैनिक एक सय जनाभन्दा बढी पर्यटक राख्न सकिने क्षमता रहेको चित्रेमा नेपालका विभिन्न जिल्लाबाट पर्यटकहरू आउने गरेका छन् । सिजनको बेला दैनिकजसो पर्यटकले भरिभराउ हुने गरेको मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले बताए । यो गुरुङ समुदायको बाहुल्य रहेको गाउँसमेत हो ।

यसैबीच निर्माणाधीन उक्त सडक पर्वतवाट निर्वाचित संघीय सांसद तथा पूर्वमन्त्री पदम गिरिले अनुगमन गरेका छन् । सो क्रममा सांसद गिरिले गुणस्तरीय काम गर्न आग्रह गरे । तोकिएकै समयमा निर्धारित गुणस्तर अनुसारको काम गरेर सडक हस्तान्तरण गर्न निर्माण व्यवसायी र सम्बन्धित कार्यालयलाई आग्रह गर्दै कुनै समस्या आइलागेमा आवश्यक समन्वय गर्नसमेत सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्