Logo

तीन महिनापछि चल्यो माथिल्लो तामाकोसी

दोलखा– देशकै सबैभन्दा ठूलो जलविद्युत आयोजना माथिल्लो तामाकोसी जलविद्युत केन्द्र (४५६ मेगावाट) तीन महिनापछि पुनः सञ्चालनमा आएको छ। क्षतिग्रस्त संरचना मर्मत गरेपछि मंगलबार साँझबाट उत्पादन सुचारु भएको हो।

मंगलबार साँझ ७:४० बजेबाट विद्युत उत्पादन सुचारु भएको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रका प्रमुख पूर्णगोपाल रञ्जितले जानकारी दिए। मंगलबार अपरान्ह्देखि पोखरी र सुरुङमा पानी भर्न सुरु गरेर साँझ सात बजेदेखि विद्युत उत्पादन प्रयास गरिएको थियो।

माथिल्लो तामाकोसीको उत्पादन नियमित भएसँगै विद्युत प्राधिकरणको प्रणालीमा १२० मेगावाट विद्युत थप भएको छ। देशकै सबैभन्दा ठूलो जलविद्युत केन्द्र बन्द हुँदा विद्युतको माग धान्न भारतबाट विद्युत आपूर्ति बढाउनु परेको थियो भने औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ भइरहेको थियो।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले माथिल्लो तामाकोसीबाट विद्युत उत्पादन सुरु भए पनि पूर्ण क्षमतामा उत्पादन नभएकाले अहिले नै औद्योगिक क्षेत्रमा भएको लोडसेडिङ कम नहुने बताए। ‘हिउँदका कारण नदीमा पानी सुकेकाले अन्य जलविद्युत आयोजनाहरुको उत्पादन पनि क्रमशः कम हुँदै आएको अवस्था छ,’ प्रवक्ता घोषले कारोबारसँग भने, ‘विद्युत उत्पादनमा कमी आउँदा औद्योगिक क्षेत्रमा थप लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्थ्यो। त्यसलाई तामाकोसीको उत्पादनले रोकेको छ। तामाकोसी पूर्ण क्षमतामा आएपछि भने औद्योगिक क्षेत्रका लागि पनि केही राहत पुग्ला।’

अविरल वर्षापछि तामाकोसी नदीमा आएको बाढीका कारण गत असोज ११ गते साँझदेखि माथिल्लो तामाकोसीको बाँधका सबै ढोका खोलेर उत्पादन बन्द गरिएको थियो। विद्युत गृह र सुरुङ सुरक्षित रहे पनि असोज १२ गते माथिबाट ठूलो पहिरो र लेदो आउँदा लामाबगरमा रहेको बालुवा थिग्राउने पोखरी (डिस्याण्डर) र भूमिगत नहरमा ठूलो क्षति भएको थियो। दुईवटा डिस्याण्डरमध्ये कम क्षति भएको बायाँतर्फको डिस्याण्डर र भूमिगत कल्भर्ट पुनर्निर्माण गरेर विद्युत गृह सञ्चालनमा ल्याइएको अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिए। उनका अनुसार एउटा पोखरी र कल्भर्ट मर्मत भएपछि बाँधका सबै गेट बन्द गरेर सोमबार साँझदेखि पानी भर्न सुरु गरिएको थियो।

कम्पनीले पछिल्लो पटक पुस १० गते विद्युत उत्पादन गर्ने लक्ष्य बनाएको थियो। ‘निर्धारित समयअघि नै मर्मत सकिएपछि विद्युत उत्पादन एक दिनअघि नै सुरु गर्‍यौं,’ निर्माणस्थल लामाबगरबाट प्रमुख कार्यकारी अधिकृत गौतमले भने, ‘एक दिनअघि विद्युत गृह सञ्चालन गर्दा पनि देशभर ठूलो राहत हुने भएकाले पनि उत्पादनमा ढिला गरेनौं।’

विद्युत माग धान्नका लागि माथिल्लो तामाकोसीको मर्मत चाँडो पूरा गर्न र पुनः सञ्चालनमा ल्याउन प्रमुख कार्यकारी गौतमसहितको टोली लामाबगरमा खटिएको थियो। विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि बेला–बेलामा लामाबगर पुगेर पुनर्निमाणको निरीक्षण र आवश्यक प्रबन्ध गर्दै आएका थिए। आपतकालिन अवस्थामा रोल्वालिङ खोला जलविद्युत आयोजना निर्माण कम्पनी हाइ हिमाल कन्स्ट्रक्सनमार्फत सफाइ र मर्मतको काम गरिएको हो। सुरक्षा कक्ष भवनका लागि भने सार्वजनिक खरिद ऐनअन्तर्गत नयाँ ठेक्का लगाउने तयारी छ। नयाँ ठेक्का लगाउँदा पनि आगामी वर्षाअघि काम पूरा गर्ने तयारी कम्पनीको छ।

पहिरोले हेड वक्र्स क्षेत्रको सुरक्षा नियन्त्रण गृह पूर्ण रुपमा क्षति हुँदा सुरक्षार्थ खटिएका नेपाली सेनाका दुई र माथिल्लो तामाकोसीका दुई कर्मचारीको ज्यानसमेत गएको थियो। माथिल्लो तामाकोसीका दुई पोखरीमध्ये दायाँतर्फ ४० प्रतिशत र बायाँतर्फ २० प्रतिशत क्षति भएको थियो। हेड वक्र्स क्षेत्रमा बाढीपहिरोले क्षति भएको एक अर्ब ८० करोड रुपैयाँ बीमा दाबी भएको छ। माथिल्लो तामाकोसीको बीमा राष्ट्रिय बीमा कम्पनीमा छ।

बायाँ पोखरी ममर्तपछि नदी प्रवाही (आरओआर) प्रणालीबाट खोलामा पानी उपलब्ध भएसम्म बिजुली उत्पादन सुरु गरिएको छ। दुईवटै पोखरी सञ्चालनमा आउँदा बाँधमा पानी जम्मा गरेर आवश्यक समय साँझ र बिहान ४५६ मेगावाट नै उत्पादन गर्न सकिन्थ्यो। १५–२० दिनपछि सकेसम्म एउटामात्रै पोखरी चलाउँदा पनि बाँधमा पानी जम्मा गरेर साँझ र बिहान ४ सय मेगावाटसम्म विद्युत उत्पादन गर्न मिल्ने गरी सञ्चालन तयारी भएको छ।

जलविद्युत केन्द्रको अनुमानभन्दा बढी क्षति भएको र काब्रे भीरमा सडकसमेत क्षति भएपछि माथिल्लो तामाकोसी पुनः सञ्चालनमा ढिलाइ भएको माथिल्लो तामाकोसी जलविद्युत केन्द्र प्रमुख रञ्जितले जानकारी दिए। दसैं, तिहारजस्ता ठूला चाडपर्वमा पनि घर नगई दिनरात गरेर मर्मत गर्दा तीन महिनामा विद्युत उत्पादन सम्भव भएको उनको भनाइ छ।

विद्युत उत्पादन बन्द भएको समयमा विद्युत गृहभित्र मर्मत गरिएको छ भने पहिरोले क्षतिग्रस्त सिंगटीको ४६ नं. टावरको समेत मर्मत पूरा भएको छ। बाढीपहिरोले क्षतिग्रस्त संरचनाको प्राविधिक अध्ययन र सुपरीवेक्षणका लागि एनइए इञ्जिनियरिङ कम्पनीलाई जिम्मा दिइएको छ। उसैको सिफारिसका आधारमा कम्पनीले पुनर्निर्माणको काम गर्नेछ।

प्रतिक्रिया दिनुहोस्