Logo

सिद्धबाबाका तीनवटै बाइपास सुरुङ ब्रेकथ्रु

बुटवल– सिद्धबाबा सुरुङमार्गको तीनवटै बाइपास सुरुङमार्ग ब्रेकथ्रु भएको छ। सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा अहिले सुरुङमार्ग निर्माण भइरहेको छ।

एक हजार १२६ मिटरको मुख्य सुरुङका साथै बाँकी ३ वटा बाइपास सुरुङ निर्माणको काम भएको हो। २ वटा सुरुङमार्ग यसअघि नै छिचोलिएको थियो। ‘बाइपास २’ को हालै ब्रेकथ्रु सम्पन्न भएसँगै यो आयोजनाअन्तर्गत रहेका तीनवटै बाइपास सुरुङ छिचोलिएका छन्। बाइपास दोस्रो १ सय ६१ मिटर लम्बाइको छ। यसअघि १ सय ३० मिटर लम्बाइको बाइपास तेस्रोको भदौ २६ गते र १ सय ५१ मिटर लम्बाइको बाइपास पहिलो असोज ४ गते ब्रेकथ्रु भएको थियो।

मुख्य सुरुङमार्ग १ हजार मिटरभन्दा बढी खनिसकिएको छ। ब्रेकथ्रु हुन अब ६६ मिटरमात्र बाँकी रहेको सिद्धबाबा सुरुङमार्ग आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले जानकारी दिइन्। सुरुङमार्ग ब्रेकथ्रु अर्थात् छिचोल्ने काम अन्तिम भए पनि समग्रमा भौतिक प्रगति ३५.२५ प्रतिशतमात्र काम भएको ज्ञवालीले बताइन्। ब्रेकथ्रुपछि अरु थुप्रै काम हुने उनको भनाइ छ। सुरुङ खनेर सकिएपछि त्यहाँ लाइनिङ गर्नुपर्छ। भित्र पूरै ढलान गर्नुपर्छ। लाइट र फायर फाइटिङ जडान गर्नुपर्छ। ती सबै काम सम्पन्न हुन अझै केही समय लाग्छ।

सुरुङको काम सम्पन्न भएपछि बाहिरको दुई लेन सडक स्तरोन्नतिको पनि काम हुनेछ। सुरुङमार्गमा गाडी चल्न थालेपछि बाहिरको करिब ३ किलोमिटर सडकमा ब्यारियर रकसेड निर्माणको काम हुनेछ। रकसेडले माथिबाट आएको ढुंगा सडकमा आउन रोकिन्छ। सडकको जोखिमयुक्त ठाउँमा रकसेड निर्माण हुनेछ।

सिद्धबाबा सुरुङका लागि सरकारले २०७८ फागुनमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी) सँग ठेक्का सम्झौता गरेको हो। यसको लागत ७ अर्ब ३४ करोड रुपैयाँ छ। २०८० माघ ४ गते सुरुङ खन्ने काम औपचारिक रुपमा सुरू भएको थियो। ठेक्का सम्झौताअनुसार सन् २०२७ मार्चसम्म सुरुङमार्ग निर्माण सक्नुपर्ने म्याद छ।

निर्माण पूरा गरेपछि ५ वर्षसम्म मर्मत तथा सञ्चालन गर्नु पर्नेछ। यसरी आयोजना १० वर्षसम्म कम्पनीको प्रत्यक्ष निगरानीमा रहनेछ। निर्माण हुने सुरुङमार्गबाट इन्धन ढुवानी गर्ने ट्रक तथा दुईपांग्रे सवारीसाधनलाई निषेध गरिनेछ। आयोजना प्रमुख कृष्णराज अधिकारीका अनुसार हाल तीन सिफ्टमा काम भइरहेको छ। आन्तरिक तयारी, डिजाइन, प्राविधिक पक्ष र डिजाइन रिभ्यूमा समय लाग्दा सुरुङ खन्ने काम करिब दुई वर्ष पछिमात्र सुरु भएको थियो। यसले गर्दा काममा केही ढिलाइ भएको हो।

प्रतिक्रिया दिनुहोस्