Logo

सहरीकरणको भ्रमले बचाउन नसकिएको गाउँ

नाम आधुनिक र उत्तर आधुनिकताको लिएर सहरीकरणको भ्रमले हामीले गाउँ मास्दै गयौँ, जसका कारण न गतिला सहर भए, न गाउँको मौलिकता कायम राख्न सकियो । रैथाने संस्कृति मासेर ठिमाहा संस्कारलाई आत्मसात् गर्दा हामीले विकास भएको मान्नुपर्‍यो । यसकै कारण अहिले न यताको न उताको भएको छ गाउँ–सहर ।

विकासका चिन्तकहरूले उठाएको ग्रामीण विकासलाई योजनाकारले लत्याइरहे । फलस्वरूप कुरूपी सहरीकरणको सिकारमा पुस्ताले दुःख भोगिरहेको छ । उनीहरूले ग्रामीण विकासलाई कुनै एक गाउँ वा क्षेत्रको विकासँग मात्र प्रयोगमा ल्याए, थाहा पाएनन्—नजरअन्दाज गरियो, ग्रामीण विकास भनेको समग्र देश विकास हो भनेर । जसको सिकार भइएको छ, समयानुसारका पुस्ता । देखावटी खोक्रो आडम्बरमा गाउँ छाड्ने र सहरमुखी हुने गलत प्रवृत्ति बढ्न थाल्यो । त्यो बाध्यता पनि थियो, सो समयमा । गाउँमा बस्ने वातावरण योजनाकारले बनाउन सकेनन्, कम महत्वमा राखे । धनी हुन, धन लुकाउन, समृद्ध भएजस्तो गर्न सहर पस्ने र गाउँ बिर्सने परिपाटी बन्दा न गाउँ समृद्ध भए, न सहर नै वैज्ञानिक भए; जुन वर्तमानमा हामीले प्रत्यक्ष रूपमा भोगिरहेका छौँ ।

सरकार विभिन्न बहानामा गाउँको जनसंख्याका आधारमा गाउँ र सहरको परिभाषामा व्यस्त रह्यो । गाउँपालिकालाई गाउँ (३३.९८ प्रतिशत) र सहर जहाँ नगर, उप र महानगर (६६.०२ प्रतिशत) लाई समेटिएको छ, जुन अवैज्ञानिक रहेको मत बढी छ । किनकि सहरी प्रणालीले सहरी क्षेत्रको परिभाषा र सहरी क्षेत्र घोषणामा तादात्म्यता देखाउँदैन । विभिन्न नीति तथा रणनीतिसँग पनि यो मेल खाँदैन । यही कारण गाउँ सुनसान बने, विपरीत सहर कुरूप र बिनामापदण्डका बन्दै गए, जुन अहिलेको सत्यचित्र हो । यसले न गाउँको परिभाषा र व्यवहार प्रस्तुत गर्न सक्यो, न सहर व्यवस्थित हुन सक्यो ।

अहिले गाउँको जनसंख्या क्रमशः ऋणात्मक भइरहेको छ । केही समयका लागि गाउँबाट बाहिर जानेहरू पनि नफर्कने गलत परम्परा हाबी हुँदै गएको पनि छ । हुन त समग्र देशको जनसंख्या निरन्तर पलायन भइरहेको यो विषम परिवेशमा कुनै ठाउँको मात्र घट्यो भन्न नसकिएला, तर यी दृश्यहरूले नै बताइरहेको छ कि पहिले–पहिले मान्छेले जंगली जनावर खेदेर थलो बनाए, अहिले त्यही थलोमा बस्ने मान्छे नभएर सोही जनावरले बासस्थान बनाउन थालेका छन् । यसको दोष त सबैलाई जाला नै, त्यसमा पनि नेतृत्वलाई अझ बढी जान्छ । किनकि यदि उनीहरूको पहलमा जनसंख्यालाई गाउँमै बस्न सक्ने योजना तथा कार्यक्रमहरू ल्याइएको भए यो अवस्था सायदै आउँथ्यो ।

आवश्यकतालाई थोरै मात्र पनि पूरा गरेको भए गाउँ स्वर्गभन्दा कम हुने थिएन भने सहर जकडिएको नहुने थियो । जुन जनसंख्या र अर्थतन्त्रले देश धानेको थियो र छ, त्यसलाई बिर्सिएर हामी मलेसियन, कतारियन, जापानी, युरोपियन र अन्यको अर्थतन्त्र अपरिहार्य बनाइरहेका छौँ । यसै गरेर देश दिगो रूपमा चल्छ र चलाउनुपर्छ भन्ने गलत बाटोको यात्रा गर्न बाध्य बन्यौँ र बनिरहेका छौँ । सरकार यसकै व्यापारमा लिप्त हुनु र गर्नेलाई पाखा लगाउनुले संकेत राम्रो पक्कै गरेको छैन भन्ने कुराको बेजानकार हामी सायदै छैनौँ ।

नाममात्रको कित्ताकाट बढेर सहरको परिभाषाभित्र गाउँलाई कोच्दै जाँदा गाउँको स्थानीयता लोप हुँदै गएको छ । गाउँको जनसंख्या घट्दा सो क्षेत्रमा गरिएका विकासका क्रियाकलापहरू निरर्थक बन्दै गएका छन् । गाउँमा अहिले भ्रष्टाचार बढेको विभिन्न प्रतिवेदनले पनि उल्लेख गरेका छन् । गाउँ अहिले नसक्ने, पाकाको मात्र ठाउँ बनेको छ । जीउमा शक्ति हुने गाउँमा बस्न छाडेका छन् । पूर्वाधार विकासका नाममा जस्तोसुकै योजना र कार्यक्रमहरू व्यक्ति मोटाउन गाउँ छिराउने र अदिगो काम गर्ने तथा कसैले पनि अपजस नउठाउने स्थिति भएको छ अहिले । विपरीत सहरको बसाइ र कमाइले धौधौ जिन्दगी झनै कठिन र असहज बन्न पुगेको छ । महँगीले डाँडो काटेको छ भने कमाइमा कुनै सकारात्मक वृद्धि देख्न सकिएको छैन । हुँदाहुँदा गरिराखेको र खाइराखेको रोजीरोटी पनि क्रमशः गुम्दै जान थालेको छ ।

सहर हुँदाको गर्व नाचगान, अबिरमाला र हर्षोल्लासका साथ तस्बिरहरू साटासाट गरिए पनि अर्कातिर रातारात नयाँ नगरमा परिणत हुँदा हाँसो र ऐँठन दुवै देखिन पुगेको छ । खुसी लामो समय टिकेन । वैज्ञानिक विधिभन्दा मनपरी विधि देखियो, सहर बनाउँदा । गाउँबाट सहर बन्दै समग्र राष्ट्र विकासमा गाउँ परिवर्तन अपरिहार्य थियो-हो र छ । सबैको आशा र भविष्य पनि समृद्धि र त्यसले दिने प्रगतिमा केन्द्रित हुन्छ । कहाँ पुगेर गाउँको अन्त्य हुन्छ अनि कहाँबाट सहरको सुरुवात हुन्छ भन्ने प्रश्न पहिले र अहिले पनि त्यत्तिकै महत्वपूर्ण छ । कुनै पनि राष्ट्रले आफ्नो सिमाना र विभिन्न पक्षसँगै जनसंख्याको वर्गीकरण गर्दै नगरको घोषणा गर्छन् । हाम्रो देशमा पनि जनसंख्या, आय र पूर्वाधारलाई आधार बनाई नगर बनाइयो । जुन अहिले अप्ठ्यारो स्थानमा पिलोबराबर भएको छ ।

सहरीकरणले जीवन समृद्ध हुन्छ भनेर जुन रटान बजारमा फालियो, त्यो नै गलत देखियो । गाउँ र सहर कस्तो बनाउने भन्ने योजनामा नै त्रुटि रहे । देशैभरका सडकको दुर्दशा छ, अझ भनौँ गोरेटो बाटोलार्ई विकास गर्न सकिएको छैन, गरिए पनि धुले र जोखिम सडक छन् । बढेको सडक दुर्घटनाले यसलाई थप उजागर गर्छ । घाम लागे धूलो र पानी परे हिलो सडकको अवस्था छ । पानी त धेरथोर देखिन्छ तर खानयोग्य पानीको अभाव प्रशस्तै छ, जसमा अपनत्व, व्यवस्थापन र संरक्षण छैन ।

ढल मिसिएको पानी खानेपानी संस्थानले नै धेरै पटक वितरण गरेको घटना पनि ताजै छन् हामीसँग । बिजुलीको अनुहार र सञ्चारमा थोरै भए पनि प्रगति मान्नुपर्छ, तर त्यो दिगो छैन । शिक्षा, स्वास्थ्य अन्य अत्यावश्यकीय क्षेत्र प्रालिअन्तर्गत चलेका छन् । कलेज प्रालि, अस्पताल प्रालि, जसले गर्दा गोजी हुनेलाई चैन छ । असमानता प्रस्टै छ, सकारात्मक जनता, त्यसमा पनि गाउँकेन्द्रित विकास छैन । अहिलेसम्म न्यूनतम पूर्वाधारमा सुधार हुन सकेको अवस्था छैन । यसको मतलब भएका अभ्यासरत सहरहरू पनि उचित मापदण्डमा नरहँदा हाम्रो योजनामै ठूलाठूला प्वाल रहेको प्रस्ट हुन्छ ।

वातावरणीय अध्ययन तथा भौगोलिक अवस्थितिको मूल्यांकन नगरी जथाभावी खनिएका मोटरबाटो र निर्माण गरिएका भौतिक संरचनाका कारण ग्रामीण बस्तीमा प्राकृतिक संकट चुलिँदै गएको छ, जसको प्रत्यक्ष उदाहरण भर्खरैको विपत्ति महसुस गर्न सकिन्छ । विकासका नाममा प्राविधिक परीक्षणबिना नै जथाभावी खनिएका मोटरबाटोकै कारण बर्सेनि भूस्खलन हुने, पहिरो जाने र मानवीय तथा धन–सम्पत्तिको क्षति हुने क्रम त बढेको छ नै, प्राकृतिक तथा जैविक समस्या पनि देखिन थालेका छन् ।

सिंहदरबार गाउँगाउँमा पुर्‍याएँ भन्ने जनप्रतिनिधिले वातावरणीय अध्ययन तथा भौगोलिक अवस्थितिको मूल्यांकन नगरीकन जथाभावी डोजर लगाउँदा गाउँमा रहेका पानीका स्रोत पुरिएका छन् भने ताल र पोखरी पनि सुक्दै जान थालेका छन् । डोजरे विकासका कारण जैविक विविधताका स्रोतसमेत नष्ट हुँदै गएको छ । नदीमा पाइने विभिन्न माछाका प्रजाति, कालो र पहेँलो रङका भ्यागुता, गँगटोलगायतका जलचर प्राणीसमेत देखिन छाडेका छन् । यसको मुख्य कारण एकै छ, त्यो हो— गाउँलाई देखावटी सहर बनाएको परिणाम ।

गाउँको मौलिकता बेचेर अन्य देशको नक्कल गर्दै स्थानीय ज्ञान, उत्पादन, सेवा, रहनसहन, परम्परालाई हामीले अँगाल्नाले वर्तमानलगायत भावी पिँढीले अवशेष अध्ययन गर्न नपाउने चिन्ता बढिसकेको छ । मुखमा दिगो विकास लक्ष्यका पम्लेटहरू हरेक भित्तामा टाँसेका छौँ अनि कामचाहिँ छोटो समय पनि नटिक्ने गरिरहेका छौँ । यी सबै हिसाबकिताब खोज्ने बेला भएन र ? ठिमाहा संस्कारको प्रभावमा परेर मौलिकता बेच्नेलाई खै कारबाही ? किन रोक्न सकिएन यो कार्यलाई ?

गाउँ त अहिले खाली भइसक्यो, बजारमा बस्नेले उत्पादन गर्दैनन्, उत्पादन गर्ने त गाउँले नै हो । गाउँले जति बजारिया बन्न थाले; धान, गहुँ, मकै र सागसब्जी फल्ने बारी बाँझिए; अब कसरी समृद्ध हुन्छ हाम्रो देश ? गाउँमा अहिले हेर्नुहुन्छ भने युवा कोही छैन, घर सबै खाली छन्, गाउँ अहिले रमाइलो छैन, उराठिलो बनेको छ । यो सबैको कारण अब हामीले कहिले खोज्ने ? जसको हिसाब निकाल्नै बाँकी हुनु अनि सहरको परिकल्पनामा हामी रमाउने बन्नुले हाम्रा संस्कार र संस्कृति हामीले बेचेको भन्नुपर्ने भएको छ । गाउँको स्थानीयता बेचेर हामी रहरको सहरिया बन्दा सम्पूर्ण गाउँ मासिन पुगेका छन् ।

यस्तो अवस्थामा बनेका अधिकांश सहर जनसुविधाको अभावमा र कतिपय सन्दर्भमा नरकीय अवस्थामा छन् । नेपालका लागि यो राम्रो संयोग हो, किनकि अहिले पनि अधिकांश सहरी ढाँचाको निर्माण बाँकी छ र सहरीकरणको मोडल बदल्नलाई पर्याप्त समय छ । सहरले आर्थिक गतिविधि फैलाउँछ । अहिलेसम्म सहरीकरणले गाउँलाई निल्यो । गाउँको अर्थतन्त्र, स्थानीय ज्ञान, पारम्परिक तर आधुनिक हुन सक्ने सीप र सामुदायिकतालाई सहरीकरणको प्रभावतन्त्रले आहार बनायो ।

अब पनि हामी यस्तै सहरको आशामा गाउँ बेच्ने ? भ्रमित सहरीकरणको नाममा देशै नांगो बनाउन छाडौँ । स्वदेशी कार्य र गतिविधिलाई अपरिहार्य बनाऊँ, जसले गर्दा आन्तरिक स्रोतको खपत तथा आयमा वृद्धि भई हामी आफैँ आत्मनिर्भर बन्न सक्छौँ । सक्छौँ जोडौँ, नसके नतोडौँ भन्ने मन्त्रलाई आत्मसात् गर्दै गाउँको मौलिकता जोगाउँदै विश्वकै ‘आहा ! गाउँ’ बनाउन लाग्ने हो कि इतिहासमा यस्तो थियो है… भन्नेतिर लाग्ने ? त्यो तपाईंमा ।

प्रतिक्रिया दिनुहोस्