जापानले केयर गिभरमा माग्यो एक हजार नेपाली «

जापानले केयर गिभरमा माग्यो एक हजार नेपाली

 

जनवरी र मार्चमा परीक्षा हुने

जापानले जनवरी र मार्चमा जापानी भाषा परीक्षा सञ्चालन गरेर नेपालबाट १ हजार युवालाई रोजगारीका लागि लैजाने भएको छ ।वैदेशिक रोजगार विभागले शुक्रबार सूचना सार्वजानिक गर्दै नर्सिङ केयर गिभरका लागि सो संख्यामा नेपाली युवालाई रोजगारका लागि लैजान लागेको जनाएको हो । यसअघि पनि एक चरणमा परीक्षा सञ्चालन गरे पनि थोरै संख्यामा मात्र नेपाली उत्तीर्ण भएका थिए ।
नेपाल र जापान सरकारबीच केही महिनाअघि भएको ‘सहयोग समझदारी’ (एमओसी) बमोजिम नेपालबाट नर्सिङ केयर गिभरको लागि पुनः परीक्षा गर्न लागिएको हो । नेपाल र जापान सरकारबीच ‘स्पेसिफाइड स्किल वर्कर’ अन्तर्गत नेपाली श्रमिकहरू पठाउनेसम्बन्धी एमओसीमा हस्ताक्षर भएबमोजिम चरणबद्ध रूपमा नेपाली श्रमिक लैजाने योजनाअनुसार यो परीक्षा हुन लागेको हो ।
जनवरी र मार्चमा सञ्चालन गरिने यो परीक्षाजापान फाउन्डेसनले गर्ने भएको छ । परीक्षा जनवरी ७ देखि २९ गतेसम्म पटकपटक गरेर १० दिनसम्म सञ्चालन हुने छ । यसैगरी मार्चमा पनि ३ तारिकदेखि पटकपटक गरेर १२ दिनसम्म सञ्चालन हुने वैदेशिक रोजगार विभागले जनाएको छ । परीक्षा युनिभर्सल ल्यांग्वेज एन्ड कम्प्युटर इन्स्च्यिुट काठमाडांैमा हुने रहेको छ । परीक्षा शुल्क २ हजार ५ सय तोकिएको छ । विभागका महानिर्देशक भीष्मकुमार भुसालले जापानले नेपालबाट केयर गिभरका लागि श्रमिक लैजान पुनः परीक्षा गर्न लागेको जनाए । परीक्षा कम्प्युटर बेस (सीबीटी) का आधारमा हुने जनाईएको छ । परीक्षाको मूल्यांकन मार्क टाइप, लेख्ने, सीपमूलक कम्प्युटर टेस्टका आधारमा हुने जनाइएको छ । यो परीक्षाका लागि ए २ लेभलको सीईएफआरस्तरको हुनु पर्ने छ । अबको परीक्षा दैनिक जीवनमा आइपर्ने कामका लागि जापानीभाषा सहजै बुझ्न, बोल्न र लेख्नसक्ने हुनुपर्ने जनाइएको छ । यसअघि भएको भाषा परीक्षामा नेपालको नतिजा ५ राष्ट्रमध्ये सबैभन्दा कमजोर देखिएको थियो ।
कात्तिकमा लिइएकोसो आधारभूत जापानी भाषा परीक्षामा एकै समूहमा भाषा परीक्षा दिएका मंगोलिया, इन्डोनेसिया, कम्बोडिया र फिलिपिन्सपछि सबैभन्दा कमजोर नतिजा नेपालको देखिएको थियो । जापानले नेपाललगायत ९ राष्ट्रबाट विभिन्न १४ क्षेत्रमा विदेशी कामदार हुने जनाउँदै नेपालबाट पहिलो चरणमा केयरगिभर क्षेत्रमा १ हजार भन्दा बढी युवा लैजाने जनाएको थियो । जापानले ९ राष्ट्रलाई फरक फरक क्षेत्रमा कोटा निर्धारण गरे अनुसार नेपालले केयरगिभरेको माग पाएको हो । सरकारले केयरगिभर बाहेक अन्य क्षेत्रमा समेत नेपाली कामदारलाई रोजगारी दिन छलफल गरिहेको छ । नेपाल सरकारले केयरगिभर जस्तै अन्य क्षेत्रका लागि पनि छिटो परीक्षा गर्ने बारे जापानी पक्षसँग छलफल गरेको छ ।
जापानले ९ राष्ट्रबाट क्रमशः नर्सिङ क्षेत्रमा ६० हजारभन्दा बढी विदेशी कामदार लैजाने जनाउँदै आएको छ । जापानमा वृद्धवृद्धाको संख्या बढ्दै गइरहेका कारण विदेशबाट केयरगिभर र नर्सको माग क्रमशः उच्च हुने सरकारी अनुमान छ । जापानले ५ वर्षमा ४ लाखको हाराहारीमा विदेशी कामदार लिने जनाए पनि नेपाली युवाको दक्षता र सीपमा नै माग गर्ने संख्या निर्धारण हुने देखिएको छ । सरकारले बढीभन्दा बढी नेपाली युवाका लागि जापानमा रोजगारी बढाउन उच्च स्तरको सीप तालिम कार्यक्रम सञ्चालन गर्ने तयारी समेत गरेको छ । श्रमिक छनोट तथा भर्ना प्रक्रियाका लागि जापान फाउन्डेसन अन्तर्गतको प्रोम्याट्रिक कम्पनीेलाई जिम्मा दिइएको छ ।
नेपाली माग बढ्दै गएपछि वैदेशिक रोजगार विभागअन्तर्गत जापान युनिट स्थापना गरिएको छ । जापानले चरणबद्ध रूपमा छनोटमा परेका ९ देशलाई कृषि,उद्योग, पर्यटन, होटल, रेस्टुरेन्ट, सेवा, मत्स्यपालन लगायतका १४ क्षेत्रमा विदेशी श्रमिक लिने जनाएको छ । विभागमा जापान युनिट स्थापना भएपछि भाषा परीक्षाको सम्पूर्ण नतिजा विभागले नै सार्वजनिक गर्ने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्