Logo

आगामी वर्षबाट लाभांश बढ्छ: सिद्धार्थ बैंक

काठमाडौं– मुलुकमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूमध्ये करिव आधा दर्जनले लाभांश घोषणा गरेका छन् । बैंकहरुले प्रस्ताव गरेको लाभांशलाई हेर्दा सुस्त अर्थतन्त्रको प्रभाव बैंकिङ क्षेत्रमा पनि परेको देखाएको छ ।

गत आव २०८०/०८१ को लाभांश घोषणा गरेका वा राष्ट्र बैंकमा प्रस्ताव गरेका अधिकांश बैंकहरुको लाभांश घटेको छ । एकाध बैंकले पुरानो कर्जा असुली भएको लगायतका कारणले लाभांश बढाए पनि अधिकांशको घटेको हो । अर्थतन्त्रको संकुचन, निष्क्रिय कर्जाको वृद्धि, यस्तो कर्जाका लागि बढ्दो प्रोभिजनिङ लगायतका कारण लाभांश प्रभावित भएको देखिन्छ । अहिलेको अवस्थामा जुन स्वभाविक हो ।

वाणिज्य बैंकहरुमध्येको एक सिद्धार्थ बैंकले विगतमा २५ प्रतिशत भन्दा धेरै लाभांश वितरण गरेको थियो । गत आवको नाफाबाट बैंकले ४ प्रतिशत लाभांश दिने प्रस्ताव पेस गरेको छ । बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरे पछि सेयरधनीले यो लाभांश पाउने छन् ।

गत आवमा यो बैंकले ४.२१ प्रतिशत लाभांश प्रदान गरेको थियो । बैंकले सञ्चालनमा आएको २२ वर्षको अवधिमा सरदर १३.५ प्रतिशतको लाभांश वितरण गरेको बताएको छ । यो राम्रो प्रतिफल हो ।

२०७३ मा विकास बैंकसँगको मर्जर पछि बैंकले आफ्नो वासलातको आकारलाई सन्तुलित रुपमा अगाडि बढाउँदै आएको छ । व्यवसाय वृद्धिको क्रमसंगै आवश्यक पर्ने थप पुँजीको व्यवस्थापन बैंकले विभिन्न समयमा डिवेन्चर जारी गरी पूरा गर्दै आएको हो ।

पुँजीकोष निर्माण प्रयोजनार्थ जारी डिवेन्चरको हकमा प्रत्येक वर्ष बैंकको आर्जित खुद मुनाफाबाट निश्चित रकम डिवेन्चर रिडिम्पसन रिजर्वमा विनियोजन गर्नुपर्ने व्यवस्था छ । जसअनुसार आव २०७९/०८० मा १ अर्ब ४६ करोड र आव २०८०/०८१ मा अर्को १ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको बैंकले जनाएको छ । सोही कारण दुई वर्षदेखि बैंकको लाभांश क्षमतामा संकुचन आएको हो ।

बैंकले विभिन्न मितिमा जारि गरेका डिवेन्चर आव २०८२/०८३ बाट परिपक्व हुन सुरु हुने भएकाले ती आवबाट लाभांश क्षमता बढ्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार डिवेन्चर रिडिम्पसन रिजर्वमा विनियोजित रकमबाट र अहिलेकै खुद मुनाफालाई निरन्तरता दिई रहँदा मात्र पनि बैंकले आव २०८२/०८३ देखि आव २०८४/०८५ सम्म २० देखि ३० प्रतिशतसम्म प्रतिफल दिन सक्नेछ ।

वितरण योग्यखूद मुनाफाबाट विगतका केही वर्षहरुमा डिबेन्चर रिडेम्पसन फन्डमा ठूलो रकम विनियोजन भएको र विनियोजित रकम आगामी दिनमा सोयरधनीले बोनस सेयरका रुपमा प्राप्त गर्न सक्ने हुँदा अहिले मात्र बैंकको लाभांश क्षमतामा केही कमी आएको हो । सोयरधनीहरुले अहिले खुम्चिएको प्रतिफल आव २०८२/०८३ बाट पाउने बैंकको भनाइ छ । गत आव २०८०/०८१ मा यो बैंकले ३ अर्ब ८ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

सिद्धार्थ बैंकले पाँच वर्षमा प्रदान गरेको लाभांश:

आ.व. कुललाभांश (प्रतिशतमा)

२०७५/०७६ २५.२६

२०७६/०७७ १५

२०७७/०७८ १५

२०७८/०७९ १३.१६

२०७९/०८० ४.२१

२०८०/०८१ ४.०० (प्रस्तावित)

प्रतिक्रिया दिनुहोस्