Logo

कांग्रेसले छान्यो राष्ट्रियसभा सदस्यका उम्मेदवार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियससभाको आशन्न निर्वाचनका लागि आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । निर्वाचन आगामी माघ ९ गते हुँदैछ ।
पार्टीले प्रदेश नं १ बाट नीरबहादुर विश्वकर्मा (पाँचथर) दलित, मिना पुलामी मगर (सुनसरी) महिला, राजेन्द्र घिमिरे (झापा) अन्य, प्रदेश नं २ बाट नगिना यादव (महोत्तरी) महिला, भोला पञ्जियार (धनुषा) अल्पसङ्ख्यक-अपाङ्गता, प्रदेश नं ३ बाट हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य, छलीकुमारी शर्मा उपाध्याय (चितवन) लाई उम्मेदवार चयन गरेको हो ।
यसैगरी प्रदेश नं ४ बाट सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य, विमला गौचन (म्याग्दी) महिला, प्रदेश नं ५ बाट बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य, गिरिजा न्यौपाने (दाङ) महिला, मेराज हलवाई (बाँके) अल्पसंख्यक-अपाङ्गता, प्रदेश नं ६ बाट डिल्लीराम पाठक (सुर्खेत) अन्य, सावित्री पौडेल (सुर्खेत) महिला र प्रदेश नं ७ बाट प्रताप ठगुन्ना (बैतडी) अन्य, तुलसी देवकोटा (कैलाली) चयन भएका छन् ।
कांग्रेसले निर्वाचनमा प्रदेश नं २ मा समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने सहमति गरेको छ । उक्त सहमतिअनुसार प्रदेश नं २ मा हुने चार सदस्य पदको निर्वाचनमा कांग्रेस र समाजवादी पार्टीले दुई-दुई पदमा उम्मेदवारी दिनेछन् ।
नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यको पदावधि छ वर्षको हुन्छ । संविधानको धारा ८६ (३) बमोजिम प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाई सदस्यका लागि निर्वाचन हुँदैछ । राष्ट्रियसभामा ५९ सदस्य हुन्छन् ।

 
उम्मेदवार मनोनयन दर्ता आज
राष्ट्रियसभा सदस्यको आगामी माघ ९ गते हुने निर्वाचनका लागि आज (आइतबार) उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ ।
निर्वाचन आयोगका अनुसार आइतबार बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता कार्यक्रम सञ्चालन हुनेछ । उनान्साठी सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ । त्यसमध्ये १८ जनाको निर्वाचनको माध्यमबाट र एक जना सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुनेछ ।
उक्त निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेका जिल्लामा स्थापना भइसकेको छ । उम्मेदवारले मनोनयनपत्र दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेश गर्नुपर्ने आयोगले जनाएको छ ।
महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । प्रस्तावक र समर्थकको नाम, सम्बन्धित प्रदेशसभाका सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचन मण्डलको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण पनि पेश गर्नुुपर्ने आयोगले जनाएको छ ।
राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै निर्वाचन गरिसक्नुपर्र्ने कानूनी व्यवस्था छ । उम्मेदवार मनोनयनपत्र दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको आयोगले जानकारी दिएको छ ।
राष्ट्रियसभाका सदस्यको पहिलोपटक एकतिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्काे एकतिहाइको चार वर्ष र बाँकी एकतिहाइको छ वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ । दुईवर्षे कार्यकाल पूरा गर्ने सदस्यको खाली पदका लागि यो निर्वाचन हुन लागेको हो ।
 

क–कसको पूरा हुँदैछ दुईवर्षे कार्यकाल
राष्ट्रियसभामा पहिलो दुई वर्षको कार्यकाल पूरा हुने सदस्यहरूमा सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली छन् । उनीहरुको आगामी फागुन २० गते कार्यकाल सकिनेछ ।
फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नौ, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक जना सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्