Logo

एनसेल फाउन्डेसनले एनपीएलका चौकाबापत २६ सय बढी शैक्षिक सामग्री बाँड्ने

काठमाडौं– एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूमा हानिने प्रत्येक चौकाबापत चारवटा शैक्षिक सामग्री वितरण गर्ने घोषणाअनुरुप २ हजार ६०० भन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।

यी सामग्रीहरु ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रदान गरिनेछन् । शनिबार समापन भएको ऐतिहासिक एनपीएलमा कुल ६५३ चौका हानिका थिए । यसबापत एनसेल फाउन्डेसनले अब घोषणा गरेबमोजिम कुल २ हजार ६१२ वटा शैक्षिक सामग्री विद्यार्थीलाई वितरण गर्ने पक्का भएको छ ।

क्रिकेटदेखि कक्षाकोठासम्मको पहलले विद्यार्थीहरुको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्‍याउने विश्वास लिएको छ । विद्यार्थीले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा आवश्यक शैक्षिक सामग्रीहरुजस्तै स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश हुनेछन् । यसले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीको पठनपाठनमा योगदान गर्नेछ ।

एनपीएलमा सबैभन्दा बढी चौका जनकपुर बोल्टस्का खेलाडी लाहिरु मिलान्थाले हानेका छन् । उनले कुल ३५ चौका हानेर १४० वटा शैक्षिक सामग्री वितरण सुनिश्चित गरेका छन् । त्यस्तै दोस्रोमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले ३० चौका हानेका थिए जसबाट १२० शैक्षिक सामग्री र तेस्रोमा लुम्बिनी लायन्सका रोहितकुमार पौडेलको २६ चौकाबापत १०४ शैक्षिक सामग्रीको वितरण पक्का भएको छ ।

त्यसैगरी चितवन राइनोज्का रविन्द्र बोपारा र सुदूरपश्चिम रोयल्सका सैंफ जैब प्रत्येकले २४ चौका हानेर १९२ शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका थिए । नेपाली समुदायहरूसँग गहिरो सम्बन्ध राख्नेमध्येको एक खेल क्रिकेट भएकाले यो पहलले खेलमा अझै रोमाञ्चकता थपेको थियो । यसले सहयोग र स्रोत बढी आवश्यकता भएकाहरुसम्म आवश्यक सहयोग पुर्‍याउन मद्दत गर्दछ । सामुदायिक विद्यालयका लक्षित विद्यार्थीसम्म यी सामग्रीहरु पुर्‍याउन एनसेलले कर्मयोग फाउन्डेसनसँग सहकार्य गरेको छ ।

कोशेढुंगा साबित भएको यो एनपीएल, नेपालको आफ्नै घरेलु क्रिकेट प्रतिभा निर्माणमा गर्न सहयोगी सिद्ध भएको छ । एनपीएलका लागि एनसेलको साझेदारी र प्रत्येक चौकाबापत ४ वटा शैक्षिक सामग्रीको वितरण कम्पनीको ‘हामी तपाईंकै लागि’ भन्ने थिम र नेपालमा क्रिकेट र खेलकुदको विकासमा समर्थन गर्ने प्रतिबद्धताअनुरुप रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्