अपर तामाकोसी २ दिनभित्रै पुन: सञ्चालनमा आउने
दोलखा– देशकै सबैभन्दा ठूलो जलविद्युत आयोजना माथिल्लो तामाकोसी जलविद्युत केन्द्र (४५६ मेगावाट) दुई दिनभित्रै पुन: सञ्चालनमा आउने भएको छ । असोज १२ गतेको पहिरोले क्षतिग्रस्त संरक्षण मर्मतको काम अन्तिम चरणमा पुगेकाले अबको दुई दिनभित्रै सञ्चालनमा आउने भएको हो ।
अहिले तत्कालका लागि कम क्षति भएकोलाई ममर्त गरी विद्युत उत्पादन सुचारु हुन्छ । कम क्षति भएको बाँयातर्फको डिस्याण्डर र भूमिगत कल्भर्ट पुन: निर्माण गरेर विद्युतगृह सञ्चालनमा ल्याउन लागिएको छ । बायाँतिरको डिस्याण्डर र भूमिगत कल्भर्ट पुन: निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
विद्युतको माग धान्नका लागि माथिल्लो तामाकोसीको मर्मत चाँडो पूरा गर्न र पुन: सञ्चालनमा ल्याउनका लागि अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमसहितको सिंगो टिम लामाबगरमै खटिँदै आएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि बेलाबेलामा लामाबगर पुगेर पुन: निर्माणको निरीक्षण र आवश्यक प्रबन्ध गर्दै आएका छन् ।
कम्पनीले पछिल्लो पटक पुस १० गते विद्युत उत्पादन गर्ने लक्ष्य बनाएको छ । ‘विद्युत उत्पादनका लागि करिब अन्तिम अवस्थामा पुगेका छौं,’ निर्माणस्थल लामाबगरबाट प्रमुख कार्यकारी अधिकृत गौतमले भने, ‘सम्भवत: सोमबार साँझबाट बाँधमा पानी जम्मा गर्न सुरु हुन्छ ।’ मर्मत भइसकेको एउटा डिस्याण्डरमा पानी भरेर सकेसम्म लक्षित मितिभन्दा अघि नै विद्युत उत्पादन सुरु गर्ने योजना बनाएको उनले बताए । एक दिनअघि विद्युत उत्पादन गर्दा पनि देशमा ठूलो राहत हुने भएकाले प्रयासरत रहेको उनले बताए ।
आपत्कालीन अवस्थामा रोल्वालिङ खोला जलविद्युत आयोजनाकै निर्माण कम्पनी हाई हिमाल कन्स्ट्रक्सनमार्फत् सफा गर्ने र मर्मतको काम जारी छ । बढी क्षति भएको र सुरक्षा कक्ष भवनका लागि भने सार्वजनिक खरिद ऐनअन्तर्गत नयाँ ठेक्का लगाउने तयारी छ । नयाँ ठेक्का लगाउँदा पनि वर्षात् अघि काम पूरा गर्ने गरी तयारी भएको उनले बताए ।
बायाँ पोखरी ममर्तपछि नदी प्रवाह (आरओआर) प्रणालीबाट खोलामा पानी उपलब्ध भएसम्म बिजुली उत्पादन गर्ने तयारी छ । माथिल्लो तामाकोसीको दुईवटा पोखरीमध्ये दायाँतर्फको ४० प्रतिशत क्षति भएको छ भने बायाँतर्फको २० प्रतिशत क्षति छ ।
दुईवटै पोखरी सञ्चालनमा आउँदा बाँधमा पानी जम्मा गरेर आवश्यक समय साँझ र बिहान ४५६ मेगावाट नै उत्पादन गर्न सकिन्थ्यो । तर एउटामात्रै पोखरी चल्ने हुँदा अधिकतम दुई सय मेगावाटसम्म विद्युत उत्पादन गर्न सकिने अनुमान छ । नदीमा आएको पानी सिधै पोखरीमा हाल्दा अहिले १७० मेगावाट र अति सुक्खा समयमा ९० मेगावाटसम्म मात्रै उत्पादन हुने अुनमान छ । सकेसम्म एउटा मात्रै पोखरी चलाउँदा पनि बाँधमा पानी जम्मा गरेर साँझ र विहान बढी विद्युत उत्पादन गर्न मिल्ने गरी सञ्चालन तयारी भएको छ ।
जलविद्युत केन्द्रको अनुमानभन्दा बढी क्षति भएको र काब्रेभीरमा सडकसमेत क्षति भएपछि माथिल्लो तामाकोसी पुन: सञ्चालनमा ढिलाइ भएको हो । अब कम क्षति भएको बायाँतर्फको पोखरी र कल्भर्टमा कंक्रेटिङको काम करिब पूरा भएको छ । अत्यधिक चिसोका कारण कंक्रिटमा पछिल्लो समय केही ढिला भएको हो ।
बालुवा थिग्रयाउने पाखरीको पानी भरिने सतह १९ सय ८७ मिटर उचाइसम्म हो । तर माथिबाट ठूलो ढुंगा आएर पोखरीमा खस्दा १९ सय ८३ मिटरसम्म क्षति भयो कि भन्ने प्रारम्भिक अनुमान थियो । तर सफा गरेर भित्र हेर्दा १९ सय ७६ मिटरसम्म क्षति भएको पाइएकाले सफा गर्न नै समय लागेको हो ।
पहिरोले माथिबाट १० मिटर अग्लो ढुंगो झरेर बसेको थियो । ढुंगा र लेदो सबै सफा भइसकेको छ । पहिरो र बाढीले पुर्याएको क्षतिको प्रारम्भिक विवरणअनुसार एक अर्ब ८० करोड रुपैयाँको बीमा दाबी गरिएको अपर तामाकोसी हाइड्रोपावर कम्पनीका सीईओ मोहन गौतमले बताए । माथिल्लो तामाकोसीको बीमा राष्ट्रिय बीमा कम्पनीमा गरिएको छ ।
विद्युत उत्पादन बन्द भएको समयमा विद्युत गृहभित्रका मर्मत गरेको छ भने पहिरोले क्षतिग्रस्त सिंगटीको ४६ नं. टावरको समेत मर्मत पूरा गरेको छ । बाढी पहिरोले क्षतिग्रस्त संरचनाको प्राविधिक अध्ययन र सुपरीवेक्षणका लागि एनईए इन्जिनियरिङ कम्पनीलाई जिम्मा दिएको छ । उसैको सिफारिसका आधारमा कम्पनीले पुन: निर्माणको काम गर्नेछ ।
देशकै सबैभन्दा ठूला जलविद्युत केन्द्र बन्द हुँदा सुक्खा सिजनमा विद्युतको माग धान्न भारतबाट विद्युत आपूर्ति बढाउनु परेको छ भने औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ गर्नुपर्ने बाध्यता छ ।