पोखरामा होटल अकुपेन्सी ३५ प्रतिशत
पोखरा– पोखरामा होटलहरूको अकुपेन्सी करिब ३५ प्रतिशत रहेको छ । पुस १० मा क्रिसमस डे परेकोले मंगलबारदेखि होटल अकुपेन्सी बढ्ने पोखराका होटल व्यवसायीहरूले बताएका छन् ।
विदेशी पर्यटकहरूको हाल अफ सिजन भएकोले अधिकांश तेस्रो र भारतीय पर्यटकहरू स्वदेश फर्किएकाले मंगलबारदेखि आन्तरिक पर्यटकहरूको चहलपहल हुने आफूहरूले अपेक्षा गरेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । संघमा आबद्ध पर्यटकीय स्तरका ४ सय ५० होटलहरूमा एकै रातमा कम्तीमा ४० हजार बेडमा पर्यटकहरूलाई व्यवस्थापन गर्न सकिने उनले दाबी गरे ।
बीवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव, क्रिसमस डे, पुस १३ देखि १७ सम्म २६ औं पोखरा सडक महोत्सव, दोस्रो संस्करणको ड्रागन बोट रेस फेस्टिभल, साइकल र्यालीलगायतका महोत्सव तथा प्रतियोगिताले पोखरामा आउने आन्तरिक पर्यटकहरूको संख्या यस वर्ष केही बढ्न सक्ने व्यवसायीहरूले अपेक्षा गरेका छन् । यसपटक आफूहरूले ८५ प्रतिशतसम्म होटल अकुपेन्सी हुने अपेक्षा गरेको सुवेदीले बताए ।
तेस्रो मुलुकका पर्यटक भने केही कम भएको तथा केही ट्रेकिङतर्फ गएका पाहुनासमेत आफ्नो देश फर्किएको संघले जनाएको छ । होटल संघ पोखरा नेपालले आफ्ना सदस्यअन्तर्गतका होटल प्रतिष्ठानहरूमा अंग्रेजी नयाँ वर्षको अवसरमा रेवा पोखराले आयोजना गर्ने पोखरा सडक महोत्सवको अवसरमा होटल आवासमा २० प्रतिशत छुट दिने बताएका छन् ।
पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्डको स्तरोन्नतिको कार्य पनि धेरै हदसम्म अगाडि बढेको, राजमार्ग खुल्ला अवस्थामा नै रहेको तथा पोखरा जोड्ने अन्य राजमार्गहरूको अवस्था सामान्य रहेकोले अंग्रेजी नयाँ वर्ष पोखरामा मनाउन धेरै पर्यटक आउने व्यवसायीहरूले अपेक्षा गरेका छन् । पोखरा क्षेत्रको हाल एक मात्र पाँच तारे होटल पोखरा ग्राण्डको ६० प्रतिशत अकुपेन्सी रहेको छ भने अबको केही दिनमा अकुपेन्सी फुल हुने सेल्स निर्देशक कमल शेरचनले बताए । एक सय ४० कोठा रहेको उक्त होटलमा ७ हजारदेखि सुइट कोठाको ३० हजार रुपैयाँ पर्ने होटलले जनाएको छ ।
त्यसैगरी पोखरा खपौदीमा रहेको समियोग टुरिष्ट रिसोर्टमा पर्यटकहरूको अग्रिम बुकिङ सुरु भएको छ । सोमबारदेखि केही दिनको लागि अग्रिम बुकिङ भएको रिसोर्टका सञ्चालक शिवप्रसाद देवकोटाले बताए । १८ कोठा रहेको उक्त रिसोर्टमा न्यूनतम ४ हजारदेखि सुइट कोठाको १० हजारसम्म पर्ने होटलले जनाएको छ ।
त्यसैगरी कुटि रिसोर्टमा अंग्रेजी नयाँ वर्षमा शतप्रतिशत अग्रिम बुकिङ हुने रिसोर्टका सञ्चालक देवेन्द्र केसीले बताए । हाल ५० प्रतिशत अकुपेन्सी रहेको होटलमा केही दिन पश्चात शतप्रतिशत बुकिङ हुने उनले दाबी गरे । ९१ वटा कोठा रहेको उक्त रिसोर्टमा एक रात बसेको ४ हजारदेखि सुइट कोठाको १५ हजार रुपैयाँसम्म पर्ने केसीले जनाए ।