अन्धकार भयो प्रमुख औद्योगिक करिडोर
बारा– पथलैया–वीरगन्ज औद्योगिक करिडोर अन्धकारमय बनेको छ । केही दिनयता बिनासूचना विद्युत प्राधिकरणले दैनिक चारदेखि पाँच घण्टा लोडसेडिङ गरेपछि मुलुककै प्रमुख औद्योगिक क्षेत्र अन्धकार भएको हो ।
साँझ पाँच बजेपछि कुनै पनि बेला १०–११ बजेसम्म विद्युत कटौती हुन थालेको उद्योगीहरुले बताएका छन् । अघोषित लोडसेडिङबाट दिक्क बनेका करिडोरका उद्योगीहरुले लाइन काट्नैपरे समय तोकेर काट्न आग्रह गरेका छन् । यसो गर्दा सिफ्ट मिलाएर उत्पादन गर्न र श्रमिकको व्यवस्थापन गर्न सहज हुने उनीहरुको भनाइ छ । लोडसेडिङले उत्पादन, बिक्री, रोजगार र राजस्वमा प्रत्यक्ष प्रभाव पर्ने भएको छ ।
भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्दै आएका निर्यातजन्य उद्योग यसको प्रत्यक्ष मारमा पर्ने पथलैया–वीरगन्ज औद्योगिक करिडोका सभापति सञ्जय साहले बताए । पछिल्लो समय करिडोरमा उत्पादित वस्तुहरुको माग बढ्न थालेपछि उद्योगीहरु लय समात्ने आशले उत्साहित थिए । तर, केही सातायताको अघोशित लोडसेडिङले फेरि निराशा थपेको छ । वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले भने, ‘विद्युत आपूर्तिको समस्या भए प्राधिकरणले समय तोकेर सूचना जारी लोडसेडिङ गरोस् । जुनसुकै बेला मनलाग्दी विद्युत कटौती गर्दा चल्दै गरेको उद्योगको कच्चा पदार्थ र मेसिनको दैनिक हुने करोडांैको क्षति सरकारलाई मजाक बनेको छ ।’
करिडोरका उद्योगी चाहन्छन्– प्राधिकरणले जति बिजुली दिए पनि गुणस्तरीय दिओस् । लोडसेडिङ नै गर्नुपरे समय तोकेर गरोस् । उपाध्यक्ष राजपालले भने, ‘सरकारले हाम्रो उत्पादनमा जसरी क्वालिटी खोज्छ, उसले दिने विद्युत त्यस्तै क्वालिटीको होस् । दैनिक १८–२० पल्ट ट्रिपिङ बन्द होस् ।’ यो करिडोरमा बहुर्राष्ट्रिय उद्योगहरु डाबर नेपाल, सूर्य नेपाल, नेपालकै ठूलो जगदम्बा स्टिल, हुलास स्टिल, हिमाल स्टिल, अशोक स्टिललगायत करिब एक हजार उद्योग सञ्चालनमा छन् ।
उद्योग सम्बद्ध संघसंगठनहरुले विज्ञप्ति जारी गर्दै औद्योगिक प्रतिष्ठानहरुको अक्सिजनका रुपमा रहेको विद्युत आपूर्ति नियमित नहँुदा करिडोर अन्धकार भई उत्पादन र रोजगारीमा असर परेको जनाएका छन् । सरकारको ‘औद्योगिक क्षेत्र लोडसेडिङ मुक्त’ अभियान नारामा सीमित बनेको भन्दै उनीहरुले असहमति जाहेर गरेका छन् ।
उद्योगी मुरली जालनले जेनेरेटरबाट उद्योग सञ्चालन गर्न असम्भव रहेको बताए । ‘जेनेरेटर चलाउँदा उत्पादन लागत बढ्ने हुँदा उद्योगहरुले आफ्नो प्रतिस्पर्धात्मक क्षमता गुमाउँछन् । बरु उद्योग बन्द गर्नु नै उपयुक्त हुन्छ । विदेशमा विद्युत निर्यात गरेर यति नाफा भयो भन्ने सरकारले देशभित्रै सञ्चालित उद्योगलाई विद्युत नियमित नगर्दा औद्योगिक वातावरण बिग्रँदै गएको छ । यसमा सरकारको सोच स्पष्ट हुनुपर्छ,’ उनले भने । नेपाल सेरामिकका सञ्चालक मनोज रौनीयारले आफ्नो टायल्स कारखानाले विद्युतकै कारण उत्पादनको मात्रा बढाउन नसकेको बताउँदै भारतीय टायल नेपाली बजारमा रोक्न उद्योगले प्रशस्त बिजुली पाउनुपर्ने बताए ।
करिडोरका उद्योगहरुमा रक्सौल–परवानीपुर, ढल्केबर–मुजफ्फरपुर र केन्द्रीय प्रसारण गरी तीन प्रसारण लाइनबाट विद्युत आपूर्ति हुँदै आएको छ । करिडोरमा २ सय मेगावाट विद्युत आवश्यक रहेको पनि करिब १ सय मेगावाट पनि नियमित आपूर्ति हुन नसकेको बताइन्छ । विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रुमेश रुपाखेतीले करिडोरमा आपूर्ति हुने विद्युतको बारेमा ग्रिड महाशाखा हेटौंडामा जानकारी रहने र साँझको केही समय नियमित बिजुली काटिने गरेको बताए ।