सार्वजनिक ऋणको आकार घट्यो
काठमाडौं– उकालो लाग्दै गरेको सार्वजनिक ऋणको आकार पछिल्लो समय घटेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गत कात्तिकको तुलनामा मंसिरमा २५ अर्ब ६४ करोड ऋणको आकार घटेको हो । मंसिरमा सरकारले साँवा–ब्याज ६२ अर्ब ४५ करोड भुक्तानी गरेपछि ऋणको आकार घटेको हो ।
चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो पाँच महिना (साउन–मंसिर) सम्म सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब ४१ करोडमा झरेको छ । कात्तिकसम्म २५ खर्ब १८ अर्ब ५ करोड ऋण थियो । ऋण प्राप्तिभन्दा यसको साँवा ब्याज भुक्तानी बढी हुँदा मंसिरमा सार्वजनिक ऋणको आकार घटेको कार्यालयले जनाएको छ ।
यसैगरी मंसिर मसान्तसम्मको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुपातमा ४३.६९ प्रतिशत पुगेको छ । कात्तिकसम्म जीडीपी अनुपातमा सार्वजनिक ऋण ४४.१४ प्रतिशत थियो । ऋणको साँवा–ब्याज ६२ अर्ब ४५ करोड भुक्तानी हुँदा जीडीपी अनुपात ०.७५ प्रतिशत घटेको छ । मंसिरसम्म आन्तरिक ऋण जीडीपीको २१.३४ प्रतिशत र बाह्य ऋण २२.३५ प्रतिशत छ । मंसिर मसान्तसम्म १ खर्ब ७० अर्ब ५९ करोडबराबर सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानी भएको छ । कात्तिक मसान्तसम्म सार्वजनिक ऋणको साँवा–ब्याज १ खर्ब ८ अर्ब १४ करोड रुपैयाँ भुक्तानी भएको थियो । मंसिर मसान्तसम्म साँवा भुक्तानीमा १ खर्ब ४४ अर्ब ५५ करोड र ब्याज भुक्तानीमा २६ अर्ब ३ करोड रुपैयाँ खर्च भएको तथ्यांक छ ।
चालु आवको पहिलो पाँच महिनामा सार्वजनिक ऋण ५८ अर्ब ३१ करोड रुपैयाँ थप भएको छ । २०८०–८१ को अन्त्यसम्म सार्वजनिक ऋण दायित्व २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो । जसमा सरकारले १ खर्ब ९२ अर्ब २९ करोड नयाँ ऋण लिएको छ । यो अवधिमा १ खर्ब ४४ अर्बबराबर साँवा भुक्तानी भएको छ । कार्यालयका अनुसार विनिमय दरमा आएको परिवर्तनबाट १० अर्ब ५७ करोड रुपैयाँ दायित्व थपिएको छ । यस प्रकार चालु आवको पहिलो पाँच महिनामा ५८ अर्ब ३१ करोड सार्वजनिक ऋण थप भएको हो ।
मंसिर मसान्तसम्म सरकारले १ खर्ब ६४ अर्ब रुपैयाँबराबर आन्तरिक ऋण उठाएको छ । आन्तरिक ऋण भुक्तानी भने १ खर्ब २७ अर्ब २४ करोड रुपैयाँ भएको छ । यो अवधिमा बाह्य ऋण २८ अर्ब २९ करोड रुपैयाँ प्राप्त भएको छ । बाह्य ऋण भुक्तानी भने १७ अर्ब ३१ करोड रुपैयाँ भएको देखिएको छ । विनिमय दरमा आएको परिवर्तनका कारण बाह्य ऋणमा १० अर्ब ५७ करोड दायित्व थप भएको कार्यालयले जनाएको छ ।
चालु आवमा सरकारले ५ खर्ब ४७ अर्बबराबर ऋण लिने लक्ष्य राखेको छ । यसमा आन्तरिक ऋण लक्ष्य ३ खर्ब ३० अर्ब र बाह्य ऋण २ खर्ब १७ अर्ब छ । मंसिर मसान्तसम्म १ खर्ब ९२ अर्ब २९ करोड अर्थात् लक्ष्यको ३५.१५ प्रतिशत उठाइसकेको छ । मंसिरसम्म आन्तरिक ऋण लक्ष्यको ४९.७० प्रतिशत र बाह्य ऋण १३.०४ प्रतिशत उठेको कार्यालयको तथ्यांक छ । चालु आवको लक्ष्यअनुसार सरकारले अबको बाँकी सात महिनामा ३ खर्ब ५४ अर्ब रुपैयाँ उठाउनुपर्छ ।
यस वर्ष ऋण सेवा खर्चमा ४ खर्ब २ अर्ब बजेट खर्च गर्ने सरकारको लक्ष्य छ, जुन पुँजीगत खर्चको लक्ष्यभन्दा पनि बढी हो । पाँच महिनामा आन्तरिक ऋणको साँवा भुक्तानीमा १ खर्ब २७ अर्ब २४ करोड र ब्याज भुक्तानीमा २२ अर्ब ४२ करोड खर्च भएको छ । यस अवधिमा बाह्य ऋणको साँवा भुक्तानी १७ अर्ब ३१ करोड र ब्याज भुक्तानी ३ अर्ब ६१ करोड रुपैयाँ भएको छ ।
बढ्यो वैदेशिक सहायता प्रतिबद्धता
सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायताको प्रतिबद्धता बढेको छ ।
चालु आर्थिक वर्षको पुस पहिलो सातासम्म २ खर्ब २ अर्ब ४० करोड रुपैयाँबराबर वैदेशिक सहायताको प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । गत आवको यो बेला ५९ अर्ब ९८ करोड रुपैयाँमात्र प्रतिबद्धता प्राप्त भएको थियो । यस अवधिमा प्रतिबद्धता २३७.५ प्रतिशतले बढेको हो । यसमध्ये वैदेशिक अनुदान प्रतिबद्धता १५३.१ र वैदेशिक ऋण प्रतिबद्धता २८०.६ प्रतिशत बढेको छ ।
चालु आवको हालसम्म प्राप्त वैदेशिक सहायता प्राप्ति गत आवको तुलनामा ३०.३ प्रतिशत बढी हो । यस अवधिमा वैदेशिक अनुदान ६ अर्ब ७५ करोड रुपैयाँ र वैदेशिक ऋण ३७ अर्ब ३३ करोड रुपैयाँसमेत कुल ४४ अर्ब ८ करोड वैदेशिक सहायता प्राप्त भएको छ । चालु आवमा सरकारले ५२ अर्ब ३२ करोड रुपैयाँबराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको छ ।
यस वर्ष सरकारले २ खर्ब १७ अर्ब रुपैयाँ बाह्य ऋण लिने लक्ष्य राखेको छ । आन्तरिक ऋण उठाउने लक्ष्य भने ३ खर्ब ३० अर्ब रुपैयाँ छ । त्यसमध्ये मंसिर मसान्तसम्म १ खर्ब ९२ अर्ब २९ करोड रुपैयाँ उठाएको अर्थ मन्त्रालयले जनाएको छ ।
नेपालले द्विपक्षीय र बहुपक्षीय निकायबाट बाह्य सार्वजनिक ऋण लिने गरेको छ । त्यसमध्ये बहुपक्षीय दाताको ऋण बाहुल्य धेरै छ । एसियाली विकास बैंक र विश्व बैंक नेपालमा बढी ऋण लगानी गर्ने बहुर्राष्ट्रिय निकाय हुन् ।