नयाँ वर्ष मनाउन आउने भारतीय पर्यटकको चाप «

नयाँ वर्ष मनाउन आउने भारतीय पर्यटकको चाप

विराटनगर नाकामा भव्य स्वागत

विराटनगर- पूर्वका प्रमुख पर्यटकीय स्थलहरूमा अंग्रेजी नयाँ वर्ष २०२० मनाउन आउने भारतीय पर्यटकको चाप बढेको छ ।
जनवरी १ लाई भारतीयहरूले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । पूर्वका अधिकांश होटलहरू भरिभराउ भएको होटल संघ नेपाल (हान)का केन्द्रीय सदस्य राजन श्रेष्ठले बताए । विराटनगरका होटलहरू डिसेम्बर ३० देखि नै भरिभराउ भएको उनको भनाइ छ । विराटनगरसहित भेंडेटार, हिले, धनकुटा, इलाम, ताप्लेजुङलगायतका होटल भारतीय पर्यटकले भरिएको उनले बताए । “नेपाल भ्रमण वर्षको पहिलो दिन नै यतिधेरै पर्यटक भित्रिएकाले उत्साह थपेको छ,” श्रेष्ठले भने, “भारतीय पर्यटक नै भित्र्याउन सकियो भने पनि नेपालको पर्यटन विकासले फड्को मार्नेछ ।” विराटनगरसँग सिमा जोडिएको बिहारमा मात्रै झण्डै २० करोड जनसंख्या छ ।
यसैबीच, नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन नेपाल भित्रिएका पर्यटकहरूलाई विराटनगर सिमा नाका स्वागत गरिएको छ । जोगबनी नाका हुँदै आएका पर्यटकहरूलाई फूलमालासहित स्वागत गरिएको हो । नेपाल–भारतमैत्री युवासंघले विराटनगर नाकामा एक कार्यक्रमको आयोजना गरी पर्यटकहरूको स्वागत गरेको हो । सपरिवार र समूह बनाएर भारतका विभिन्न क्षेत्रबाट आएका पर्यटकहरूलाई गुलाफको फूल र सयपत्रीको मालासहित स्वागत गरिएको थियो । नेपाल–भारतमैत्री परिषद्का अध्यक्ष मोहम्मद नसरुल, सचिव संजय यादव, मधेसी युवा फोरमका अध्यक्ष मोहम्मद फैयाज र युवा अभियन्ता चाँदबाबु इराकीलगायतले आगन्तुक पाहुनाहरूलाई फूलामालासहित स्वागत गरे । नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सफल बनाउन पर्यटकलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष मोहम्मद नसरुले बताए । आगन्तुक पर्यटकरुलाई थप उत्साहित गर्न तथा प्रदेशभित्रका पर्यटकीयस्थलहरूको विषयमा जानकारी दिन सीमाक्षेत्रमा पर्यटक लक्षित हेल्प डेस्क स्थापना गर्नुपर्नेमा उनले जोड दिए ।
प्रदेश–१ मा रहेका विभिन्न ४ वटा नाकामध्ये प्रमुख जोगबनी नाकाबाट मात्र बुधबार ३ सय बढी निजी तथा सार्वजनिक सवारी साधनबाट नयाँ वर्ष मनाउन भारतीय पर्यटकहरू नेपाल भित्रिएका छन् । यसअघि नयाँ वर्षको पूर्वसन्ध्यामा मंगलबार अपरान्हसम्म १ सय ५० वटा भारतीय नम्बर प्लेटका सवारीसाधनहरू विराटनगर हुँदै प्रदेश–१ का विभिन्न पर्यटकीय गणतव्यस्थलतर्फ लागेको मोरङ ट्राफिकका प्रमुख राजेश पौदारले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्