भूकम्प प्रभावितलाई नबिल बैंकको सहयोग
काठमाडौं– नबिल बैंकले जाजरकोट र रुकुम पश्चिममा भूकम्पपछि निर्माण गरेका ९६ वटा अस्थायी आवास हस्तान्तरण गरेको छ ।
आइतबार एक कार्यक्रमका बीच बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीलाई आवास हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, बैंकका सञ्चालक निर्वाण चौधरी लगायत उच्च पदाधिकारीहरुको उपस्थिति थियो ।
हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले बैंक समाजमा सकारात्मक प्रभाव पार्न सधैं प्रतिबद्ध रहेको बताए । उनले प्राकृतिक प्रकोपबाट प्रभावितलाई सहयोग गर्ने उद्देश्यले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यो परियोजना अघि बढाएको बताए ।
नबिलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्थायी आवास निर्माण गरेको हो । बैंकले स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिकाको वडा–१ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ मा ४९ अस्थायी आवास निर्माण गरेको थियो । बैंकले अस्थायी आवास बनाउन आवश्यक जस्तापाता, बाँस, सिमेन्ट, रंगरोगन, किल्लाकाँटीजस्ता निर्माण सामग्री उपलब्ध गराएको थियो ।
नलगाड नगरपालिकाका मेयर रावत र चौरजहारी नगरपालिकाका मेयर वादीले भूकम्प प्रभावितलाई सुरक्षित ओत लाग्ने ठाउँ उपलब्ध गराएकोमा बैंकलाई धन्यवाद दिएका छन् । उनीहरूले निजी क्षेत्रले राज्यको दायित्वमा साथ दिएर सामाजिक उत्तरदायित्व पूरा गरेको कार्य प्रशंसनीय रहेको बताए ।
२०८० कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पुर्याएको थियो ।