Logo

लक्ष्मी सनराइज बैंक र आइएफसीबीच साझेदारी

Untitled design – 1

काठमाडौं– लक्ष्मी सनराइज बैंकले नेपालमा वित्तीय दुरुपयोग समाधान गर्न अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) सँगको साझेदारीमा ‘एम्पावर फाइनान्स एलायन्स’ अन्तर्गत सम्झौतामा हस्ताक्षर गरेको छ ।

नेपालमा यस प्रकारको पहिलो पहलको रूपमा गरिएको यो सम्झौताले वित्तीय दुरुपयोगलाई सम्बोधन गर्दै यसलाई समाधान गर्न कदमहरू चाल्नेछ । अष्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागको समर्थन प्राप्त यस साझेदारीले वित्तीय सुरक्षा सुधार र समावेशी आर्थिक वृद्धिलाई टेवा पुर्‍याउनेछ ।

पति–पत्नि, वृद्व आफन्त वा घरपरिवारका अन्य सदस्यहरूमाथि नियन्त्रण जमाउँदै हुने वित्तीय स्रोतको दुरुपयोग वित्तीय दुरुपयोग हो । यसमा परिवारका सदस्यहरुको बैंक खाता र कर्जा जस्ता वित्तीय साधनहरूको दुरूपयोग जस्तै, आफ्नो बैंक खाता आफ्नो नभई अरुको नियन्त्रणमा हुनु, वित्तीय संस्थाबाट आफ्नो लागि नभई अरुका लागि ऋृण लिन बाध्य बनाइनु जस्ता क्रियाकलाप पर्दछन् ।

यसले वित्तीय समावेशीकरणका प्रयासलाई कमजोर बनाउनुका साथै वित्तीय नोक्सान, क्रेडिट रेटिङ तथा प्रतिष्ठानमा नकारात्मक असर र वित्तीय संस्थाप्रतिको विश्वासको संकट निम्त्याउने जस्ता गम्भीर प्रभाव पार्न पनि सक्छ ।

‘एम्पावर फाइनान्स एलायन्स’ मार्फत आइएफसीले लक्ष्मी सनराइज बैंकलाई सुरक्षित बैंकिङ सेवा विकास गर्न आवश्यक मार्ग निर्देशन दिनेछ । यसले बैंकलाई वित्तीय दुरुपयोग रोकथाम र समाधानमा आफ्नो भूमिका परिभाषित गर्न र कार्यान्वयनको अवस्था जानकारीका लागि आन्तरिक परीक्षण गर्न सहयोग पुर्‍याउनेछ ।

गत अगस्ट महिनामा आइएफसीद्वारा अष्ट्रेलिया सरकारको समर्थनमा सुरू गरिएको एम्पावर फाइनान्स एलायन्स मा नेपाल, पपुआ न्यू गिनी, श्रीलंका, भानुआतु, र भियतनामका नौ वित्तीय संस्था समावेश छन्, जसले सामूहिक रूपमा ३ करोडभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दछन् । हरेक बैंकसँग सहकार्य गर्दै यस एलायन्सले वित्तीय दुरुपयोगको जोखिम घटाउन सुरक्षित बैंकिङ सेवाको मूल्यांकन, डिजाइन, र विकास गर्न मार्गनिर्देशन प्रदान गर्दछ ।

यो सहकार्यले लक्ष्मी सनराइज बैंक र आइएफसीको समावेशीतालाई प्राथमिकता दिँदै सुरक्षित र न्यायसंगत वित्तीय प्रणाली सिर्जना गर्ने साझा दृष्टिकोणलाई पुष्टि गर्दछ । एम्पावर फाइनान्स एलायन्स कार्यक्रम वित्तीय दुरुपयोग समाधान गर्न र उपेक्षित समुदायको समर्थन गर्न बैंकिङ क्षेत्रका लागि नयाँ र उदाहरणीय पहल हो ।

प्रतिक्रिया दिनुहोस्