Logo

स्थानीय स्रोत साधनको प्रयोगबाट उद्यमी बन्दै महिला

हेटौंडा–घरको चुलोचौकोमा सीमित महिलाहरू स्थानीय स्रोत र साधनको प्रयोगमार्फत धमाधम उद्यमशीलतामा केन्द्रित हुन थालेका छन् । विभिन्न गैरसरकारी संस्थाको सहयोगमा भएको तालिम तथा प्रशिक्षणबाट महिलाहरू उद्यमी बनेर आत्मनिर्भरताको बाटोमा लागेका हुन् ।

मकवानपुरको हेटौँडा, मनहरी र मकवानपुरगढीका महिलाहरू तालिममार्फत सिकेका सीपको उपयोग गर्दै आयआर्जनमा जोडिएका हुन् । वन जंगलमा खेर गइरहेको तीतेपाती, घ्यू कुमारीको प्रयोग गरी साबुन उत्पादन, सामुदायिक वनको खाली जग्गामा बेसार खेती, वनमा आधारित काष्ठकला र स्थानीय स्तरमा उत्पादन हुने सागबाट गुन्द्रुक बिक्रीमार्फत महिलाहरू उद्यमशीलतामा केन्द्रित भएका छन् ।

मकवानपुरको मनहरी–४ मुसेधापमा बसोबास गर्ने लोपोन्मुख वनकरिया तथा चेपाङ समुदायका महिलाहरूले खेर गइरहेको जडीबुटीबाट अर्गानिक साबुन उत्पादन गरिरहेका छन् । तीन दशक अघिसम्म जंगलमा फिरन्ते जीवन बिताइरहेका लोपोन्मुख वनकरिया समुदायका महिलाहरूले घ्यूकुमारी, तीतेपाती र नीमको पातबाट भाँडा माझ्ने, लुगा धुने र नुहाउने साबुन उत्पादन गरिरहेका छन् ।

मासिक ५० रुपैयाँ बचत गरेर २० हजार रुपैयाँको लगानीमा १४ जना वनकरिया तथा चेपाङ महिला मिलेर वनकरिया तथा चेपाङ महिला साबुन उद्योग दर्ता गरेर सञ्चालन गरिरहेको बनकरिया समुदायकी अगुवा महिला सन्तोषी बनकरीयाले जानकारी दिइन् । सानो, मध्यम र ठूलो साबुन उत्पादन गरेका वनकरिया महिलाले प्रतिगोटा २० देखि ६० रुपैयाँसम्ममा साबुन बेच्ने गरेका छन् ।

त्यस्तै मकवानपुरको मकवानपुरगढी–५ का महिलाहरू मिलेर एक हेक्टर क्षेत्रफलमा सामूहिक बेसार खेती गरेर आयआर्जन गरिरहेका छन् । बुंदल सामुदायिक वनको खाली जग्गामा २०७७ सालदेखि बुँदल महिला कृषि आयआर्जन समूहमार्फत बेसार खेती गरेर यहाँका महिलाहरूले आयआर्जन गरिरहेका छन् । ४० जनाको समूहमा वनको खाली र खेर गइरहेको जग्गामा बेसार खेती गरेर महिलाहरूले आयआर्जन गरिरहेका छन् । समूहकी अध्यक्ष विनीता लामिछानेले ९–१० महिनामा खेती गरिएको बेसार खन्ने, जरा छुट्याउने, माटो फाल्ने र सफा पश्चात् पिसानी गरेर बिक्री गर्दै आएको बताइन् ।

यहाँ उत्पादन भएको बेसार र बेसारको चाना स्थानीय स्तरमै खपत हुने गरेको छ । वार्षिक रूपमा यहाँ ५० क्विन्टल बेसार उत्पादन हुँदै आएको छ । वार्षिक रूपमा बेसार खेती गरेर महिलाहरूले दुईदेखि साढे दुई लाखसम्म वार्षिक आम्दानी गर्ने गरेका छन् । त्यस्तै हेटौँडा उपमहानगरपालिका–१२ घले गाउँमा महिलाहरू मिलेर अग्र्यानिक गुन्द्रुक उत्पादन गरिरहेका छन् । कञ्चनजंघा कृषि सहकारी संस्था लघु उद्यमी उद्योग दर्ता गरेर यहाँका महिलाहरूले गुन्द्रुक र गुन्द्रुकको अचार उत्पादन गर्दै आएका छन् ।

कृषि सहकारीमार्फत ऋण लिएर एक लाखको लगानीमा स्थानीय ११ जना महिलाहरू मिलेर १५ कठ्ठा जग्गा भाडामा लिएर व्यवसायिक सागको खेतीबाट सुरुवात गरिएको कञ्चनजंघा कृषि सहकारी संस्था अध्यक्ष चिनीमाया गुरुङले जानकारी दिइन् । हेटौँडा उपमहानगरपालिका र ग्रिन फाण्डेशन नेपालको सहयोग र तालिम पाएपछि घरको काम भ्याएर फुर्सदको समयमा सागबाट गुन्द्रुक उत्पादन गरेर आयआर्जनसँग जोडिएको गुरुङको भनाइ छ ।

पछिल्लो समय गुन्द्रुकको माग बढेपछि ३० कठ्ठा जग्गा भाडामा लिएर सागको खेती गरिरहेको अध्यक्ष गुरुङले बताइन् । २०८१ असोजबाट सुरु गरिएको उद्योगले वार्षिक ६ क्विन्टल बढी गुन्द्रुक र मकै बिक्रीबाट वार्षिक तीन लाख बढी आम्दानी गरिरहेको उनको भनाइ छ । लघु उद्यमी उद्योगले हेटौँडास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमार्फत गुन्द्रुक उत्पादन, बिक्री वितरण, सञ्चय वा प्रशोधन अनुमति पाएपछि यहाँ उत्पादन भएको गुन्द्रुक हेटौँडा, काठमाडौँ, जापान र अस्ट्रेलियामा समेत बिक्री भइरहेको बताइएको छ ।

त्यस्तै हेटौँडा–५ स्थित २०७२ सालदेखि ५० जना महिलाले ९ महिने काष्ठकला तालिम लिएर २०७४ सालमा श्रमजीवी महिला काष्ठकला उद्योग दर्ता गरेर सञ्चालन गरिरहेका छन् । अस्मिता नेपालसँगको सहकार्यमा हाल १५ जना महिलाहरूले स्थानीय वनमा पाइने काठको प्रयोग गरेर दारको ठेकी, फोटो फ्रेम, घण्टी फ्रेम, मायाको चिनो बनाएर आयआर्जन गरिरहेका छन् । महिनामा घण्टी फ्रेम एकसय बढी उत्पादन हुने र यसको माग काठमाडौँमा धेरै भएको श्रमजीवी महिला काष्ठकला उद्योग अध्यक्ष विष्णुकुमारी राईले बताइन् । महिलाहरूले अहिले खर्च कटाएर मासिक १५ हजारसम्म कमाउने गरेको उनले बताइन् । मन्त्रालय, संघ संस्था, सहकारीले वार्षिक भेलामा स्थानीय स्तरमा उत्पादन भएको काष्ठ

प्रयोग गरिदिए यहाँ उत्पादन हुने सामग्रीले सहज रूपमा बजार पाउने विश्वास व्यक्त गर्दै स्थानीय सरकारले नीति बनाएर स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्