Logo

चार वर्षदेखि जुस उद्योग प्रयोगविहीन

जुम्ला– जुम्लाको गुठिचौर गाउँपालिकामा स्थापना गरिएको स्याउ जुस उद्योग प्रयोगविहीन भएको छ । गुठिचौर–३ मा चार वर्ष पहिले स्थापना गरिएको जुस उद्योग हालसम्म प्रयोगविहीन बनेको हो ।

जुम्ला स्याउ उत्पादनका हिसाबले प्रचुर सम्भावना भएको जिल्ला हो । उत्पादन हरेक वर्ष बढ्दै गए पनि प्रशोधन अभावले किसानले उपयुक्त मूल्य पाउन सकेका छैनन् । जुम्लामा यस वर्षमात्रै ६३ करोड बराबरको स्याउ उत्पादन भयो । १९ हजार मेट्रिक टन स्याउ उत्पादन हुँदा करिब १५ हजार मेट्रिक टन स्याउ बाहिरी जिल्लामा निर्यात भएको थियो । बाँकी चार हजार मेट्रिक टन स्याउ जिल्लामै रहेको थियो । थोरै मात्रमा घरमा खान कोसेलीका लागि प्रयोग भए पनि प्रशोधन उद्योग नहुँदा गाईलाई खुवाउनु पर्ने स्थितिसमेत आयो । तर गुठिचौर–३ मा राज्यको २० लाख लगानीमा निर्माण भएको स्याउको जुस बनाउने उद्योग बने चार वर्षदेखि अलपत्र अवस्थामा रहेको छ ।

एकातिर प्रशोधन अभावले स्याउ कुहिने र अर्कोतिर सरकारी पक्षकै लापरबाहीले लाखांै खर्चेर निर्माण गरिएको जुस उद्योग प्रयोगविहीन हुुनुले राज्यको लगानी बालुवामा पानी सरह भएको छ । २०७८ साल असारमा गुठिचौरका निवर्तमान अध्यक्ष हरिबहादुर भण्डारीले जुस उद्योगको शिलान्यास गरेका थिए । कृषि विकास कार्यालय जुम्लाको २० लाख लगानीमा जुस उद्योग निर्माण गरिएको हो । जसमा कृषि विकास कार्यालय जुम्लाको १४ लाख ३१ हजार र गुठिचौर–३ स्थित जनएकता महिला कृषक समूहको ३० प्रतिशत अर्थात् ६ लाख १३ हजार गरी जम्मा २० लाख ५४ हजारमा लगानीमा उद्योग निर्माण भएको हो ।

उद्योग स्थापनाको चार वर्ष बितिसक्दा पनि सञ्चालन गर्न कसैले चासो नदिँदा भवनमा पशुचौपाया बस्ने गोठमा परिणत भएको स्थानीय युवा राजेन्द्र रावल बताउँछन् । उनी भन्छन्, ‘गाउँमा स्याउ प्रशोधन अभावले कुहिएर फाल्नु पर्ने स्थिति छ । स्याउको जुसको माग बजारमा अत्यधिक छ । तर गाउँमै स्थापना भएको उद्योग चार वर्षसम्म प्रयोगविहीन हुँदा सबै निकाय तैचुप मैचुप हुनु दु:खद पक्ष हो । यसलाई सञ्चालनमा ल्याउन पहल गर्नुपर्छ ।’

उक्त उद्योगबाट गुठिचौरका पाँच सय घरधुरीका करिब २५ सय नागरिक लाभान्वित हुने लक्ष्य राखिएको थियो । स्याउ उत्पादनका हिसाबले गुठिचौर जिल्लाकै बढी सम्भावना बोकेको पालिका हो । तर त्यस क्षेत्रमै बनेको स्याउको जुस बनाउने उद्योग प्रयोगविहीन हुनुले उत्पादनको बजारीकरण तथा प्रशोधनमा अझै राज्य चुकिरहेको स्पष्ट देखिन्छ ।

गाउँमै उद्योग स्थापना भएपछि स्याउले बजार मूल्य पाउने आशा गरेका थियौं । जनएकता महिला कृर्षक समूहका अध्यक्ष शोभा रावल भन्छिन्, ‘साढे २० लाख लगानीमा उद्योग बने पनि उपलब्धि केही छैन । हाम्रा स्याउले बजार पाएका छैनन् । स्याउबाट जुस, चाना, साइटर लगाययत महँंगो परिकार बन्छ । तर बनेको उद्योग न सञ्चालनमा छ । नत कुनै उपकरण छन् । काम नगरी चार वर्षदेखि अलपत्र परेको छ । सञ्चालनमा कसैको चासो छैन ।’

गुठिचौर–३ मा बनेको जुस उद्योगमात्र नभई कृषि विकास कार्यालय लगायत अन्य निकायले प्रदेश तथा संघको लाखांै खर्चेर गाउँगाउँमा निर्माण गरेका शीत भण्डार, जुस उद्योग सबैमा ताल्चा लागेको अवस्था छ । जिल्लामा अनुगमन तथा निरीक्षणको जिम्मेवारी पाएको जिल्ला समन्वय समितिले पनि राज्यको लगानीमा बनेका संरचना सञ्चालनमा आए नआएको, त्यसबाट नागरिक लाभान्वित भए नभएको विषयमा हालसम्म छलफल तथा निरीक्षण गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्