किवीले बजार नपाउँदा म्याग्दीका कृषक चिन्तित
पर्वत– व्यावसायिक रूपमा किबी उत्पादन गर्दै आएका म्याग्दीका कृषक बिक्री नभएपछि चिन्तित बनेका छन् । जिल्लाका विभिन्न पालिकामा पछिल्ला केही वर्षयता व्यावसायिक रूपमा किवी उत्पादन हुँदै आएको छ ।
धौलागिरि गाउँपालिका–७ शिवाङको धौलागिरि कृषि तथा पशुपन्छी फार्मका सञ्चालक ओमराज मगरले आफ्ना फार्ममा उत्पादन भएका करिब तीन हजार किलोग्राम किवी बिक्री नभएको गुनासो गरे । बजार अभाव र मूल्य नपाउने भएपछि किवीलाई मुख्य पेशा बनाएका कृषक समस्यामा परेका छन् । धौलागिरिको शिवाङ, मराङ, मालिकाको दिच्याम, देवीस्थान, रुम, मंगलाको कुहँ, बरङ्जा, किमचौर, हिदी, बेनी नगरपालिकाको भकिम्ली, घतान, रघुगंगाको दरमिजा, पाखापानी, चिमखोला, बेगखोला, अन्नपूर्णको नागी, राम्चे, हिस्तानमा ५० भन्दा बढी किवी बगैंचा रहेका कृषि ज्ञान केन्द्रले जनाएको छ ।
सानो बजार र उत्पादन धेरै भएपछि किवी बिक्री गर्न समस्या भएको बेनी नगरपालिका–३ भकिम्लीका कृषक लालबहादुर पुनले बताए । ‘यहाँका उपभोक्ताको किवीमा अझै बानी परिसकेको छैन,’ उनले भने, ‘पोखरा, काठमाडौं लैजाँदा अन्य ठाउँको किवीसँग प्रतिस्पर्धा गरेर मूल्य पाइँदैन ।’
करिब दुई हजार किलोग्राम किवी फलाएका पुनले बागलुङका फलफूल व्यापारीलाई प्रतिकिलोग्राम १८० का दरले एक हजार पाँच सय किलोग्राम बिक्री गरिसकेको बताए । भकिम्लीका अन्य कृषकले भने बजार नपाउँदा किवी टिपेका छैनन् । मंसिर र पुस महिना किवी टिप्ने याम हो । पुससम्म नटिपे किवी बोटमै पाकेर झर्ने, चराचुरुङ्गीको आहरामा सीमित हुने कृषकको चिन्ता छ ।
बजार अभाव र मूल्य नपाउने मगरको मात्र नभएर किवीखेती गरेका म्याग्दीका कृषकको साझा समस्या हो । धौलागिरिको शिवाङ, मराङ, मालिकाको दिच्याम, देवीस्थान, रुम, मंगलाको कुहँ, बरङ्जा, किमचौर, हिदी, बेनी नगरपालिकाको भकिम्ली, घतान, रघुगंगाको दरमिजा, पाखापानी, चिमखोला, बेगखोला, अन्नपूर्णको नागी, राम्चे, हिस्तानमा ५० भन्दा बढी किवी बगैंचा रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कोदो, मकै र गहुँ बाली दुम्सीले नष्ट गर्न थालेपछि बाझिएको खेतबारीमा कृषकले किवीखेती गरेका थिए । कृषि ज्ञान केन्द्रको अभिलेखअनुसार म्याग्दीको ११ हेक्टर क्षेत्रफलमा भएको किवीखेतीबाट गत आर्थिक वर्षमा ४४ मेट्रिक टन उत्पादन भएको थियो ।
केन्द्रका प्रमुख सञ्जिव बास्तोलाले यस वर्ष मौसम अनुकूल भएको, रोगकीराको समस्या नदेखिएको र फूल खेल्ने समयमा असिना नपरेकाले किवी उत्पादन बढेको बताए । धेरै दाना लागेका कारण आकार सानो हुँदा बजार नपाउने समस्या देखिएको बास्तोलाले बताए ।
किवीको दानाको आकार ठूलो बनाउन बटिलामै पतलाउने, बगैँचा व्यवस्थापन, मल र पानी पर्याप्त दिन कृषि ज्ञान केन्द्रका प्रमुख बास्तोलाले सुझाव दिए । उद्योग वाणिज्य संघ र फलफूल व्यापारीसँग समन्वय गरेर किवीको बजारीकरणमा पहल गरेको उनले बताए ।
३२ वर्षअघि जापानबाट आएका स्वयम्सेवकले धौलागिरि क्षेत्रमै पहिलोपटक म्याग्दीको राम्चेमा किवी भित्र्याएका थिए । व्यावसायिक खेती भएको पछिल्लो एक दशकयता हो । म्याग्दीको मध्यपहाडी क्षेत्रको भूूगोल र हावापानी किवी खेतीका लागि अनुकूल मानिन्छ ।
स्वादिलो र धेरै पौष्टिकतत्व पाइनु किवीको विशेषता हो । लगाएको तेस्रो वर्षबाट एउटा बोटमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्ने गर्छ । समुद्री सतहदेखि एक हजार पाँच सयदेखि दुई हजार मिटरको उचाइमा किवीखेती गर्न सकिन्छ । भिटामिन सीलगायत पौष्टिकतत्व पाइने किवी चिनी रोगका बिरामीका लागि लाभदायक मानिन्छ । पाचन प्रक्रियालाई सहयोग गर्ने किवीबाट जाम र वाइन बनाउन सकिन्छ । अमिलो र गुलियो स्वाद पाइने किवीलाई नेपालीमा ठेकी फलको रूपमा चिन्ने गरिएको छ ।
कृषि ज्ञान केन्द्र र स्थानीय तहले म्याग्दीका कृषकलाई किबी खेतीसम्बन्धी तालिम र बिरुवा वितरण गर्दै आएका छन् । अन्य फलफूलभन्दा छिटो र खाद्यबालीको तुलनामा खेती गर्न सजिलो किवीबाट एकै रोपनीमा चार लाखसम्म आम्दानी गर्न सकिने कृषकको अनुभव छ ।