फोहोर नपाउँदा ग्यास उत्पादनमा समस्या
दाङ– घोराही उपमहानगरपालिका–१६ करौती डाँडामा फोहोरबाट ग्यास उत्पादन गर्ने भनी उद्घाटन भएको तीन वर्ष हुन थालेको छ । तर नागरिकले ग्यास पाउन सकेका छैनन् । २०७८ चैत १९ गते बायो ग्यास प्लान्टको उद्घाटन गरिएको थियोे । तर उद्घाटन भएको लामो समय बितिसके पनि हालसम्म नागरिकले ग्यास पाउन सकेका छैनन् ।
उद्घाटन भएपछि ग्यास पाइने आशामा रहेका नागरिक अहिले प्लान्ट हेरेर बस्न बाध्य भएका छन् । ‘उद्घाटन भएपछि अब ग्यास पाउने आशा गरेका थियौं तर अहिलेसम्म ग्यास पाइएन,’ एक स्थानीयले भने । यसले नागरिकलाई झुक्याउने काममात्र भएको उनको भनाइ छ । अहिले ग्यास पलान्टनजिकै रहेका केही घरमा मात्र नि:शुल्क रूपमा ग्यास वितरण गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल ऊर्जा विकास कम्पनी प्रालि र घोराही उपमहानगरपालिकाबीच त्रिपक्षीय सहकार्यमा फोहोरबाट ग्यास उत्पादन गर्न थालिएको हो । त्रिपक्षीय सम्झौता २०७५ मंसिर ५ गते सम्झौता भएको थियो ।
फोहोरबाट ग्यास उत्पादनका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ४० प्रतिशत रकम दिनेछ भने ६० प्रतिशत बेहोर्ने सहमति भएको नेपाल ऊर्जा विकास कम्पनी प्रालिका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले बताए । यसमा उपमहानगरपालिकाको लगानी शून्य रहेको छ । नगरपालिकाले जग्गामात्र उपलब्ध गराएको कम्पनीले जनाएको छ । नगरपालिकाले संरचना निर्माणका लागि करिब तीन बिगाहा जग्गा उपलब्ध गराएको छ । ग्यास प्लान्ट दुई हजार घनमिटरको रहेकोे प्लान्ट म्यानेजर श्रेष्ठको भनाइ छ ।
ग्यास प्लान्टबाट अहिले केही मात्रामा ग्यास उत्पादनसमेत सुरु भएको छ । तर प्लान्टका लागि आवश्यक पर्ने फोहोर पाउन नसकेपछि पशुपालनको तयारी गरिएको छ । यसका लागि घोराही उपमहानगरपालिकासँग ग्यास प्लान्ट क्षेत्रमा जग्गा माग गरिएको नेपाल ऊर्जा विकास कम्पनी प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले जानकारी दिए । जग्गा दिनका लागि उपमहानगरपालिकाले बताए पनि हालसम्म पाउन नसकिएको उनको भनाइ छ ।
‘आवश्यक मात्रामा फोहोर नपाएपछि पशुपालनको योजना बनाएका हौं,’ प्लान्ट म्यानेजर श्रेष्ठले भने । जग्गा उपलब्ध भए बजारी क्षेत्रमा छाडा रहेका पशु तथा उन्नत जातका भैंसीपालन गर्ने योजना रहेको उनको भनाइ छ । ‘यसका लागि जग्गाको पर्खाइमा छौं,’ उनले भने । पशुपालन गरेमा गोबर हुने र त्यसबाट ग्यास उत्पादन गर्न सकिने उनको भनाइ छ । फोहोरका लागि जिल्लाका विभिन्न क्षेत्रमा पुगेर कुरा गरे पनि पाउन नसकेको उनी बताउँछन् । ‘स्थानीय पालिकासँग पटकपटक कुरा गर्दा पनि फोहोर पाउन सकिएन,’ प्लान्ट म्यानेजर श्रेष्ठले भने ।
अहिले जग्गाको पर्खाइमा रहेको उनको भनाइ छ । ग्यास प्लान्टलाई दैनिक २५ टन फोहोर आवश्यक पर्ने भए पनि अहिले चारदेखि पाँच सय केजीमात्र फोहोर उपलब्ध छ । जसले गर्दा पर्याप्त मात्रामा ग्यास उत्पादन हुन नसकेको हो । फोहोर नपाउँदा कम उत्पादन भएपछि अहिले गरुवा गाउँका ३४ घरमा मात्र ग्यास वितरण गरिएको छ । उनीहरूलाई नि:शुल्क ग्यास दिएको उनले बताए । ग्यास खेर फाल्नभन्दा स्थानीयलाई प्रयोग गर्न दिएको उनी बताउँछन् । अहिले दैनिक करिब ६० देखि ६५ घन मिटरसम्म ग्यास उत्पादन हुने गरेको उनको भनाइ छ । फोहोर धेरै भएमा उत्पादन वृद्धि हुने श्रेष्ठले बताए ।
सुरुका दिनमा जिल्लाका विभिन्न स्थानमा पुगेर कुखुरा, गाई भैंसीको मल ल्याएर राखेकाले केही ग्यास उत्पादन भएको थियो । अहिले फोहोरमात्र कम भएकाले ग्यास कम उत्पादन भएको उनले बताए । फोहोर पर्याप्त मात्रामा उपलब्ध भएमा ७५० घरमा ग्यास पुग्ने उनको भनाइ छ । ग्यास उत्पादनका लागि पहिले करिब २० करोड लगानी लाग्ने भनिएको थियो तर पाइपमार्फत् घरघरमा ग्यास पुर्याउनु पर्ने भएपछि करिब २२ करोड बढी खर्च हुने बताइएको छ । अहिले सबै स्थानमा पाइप विस्तार भइसकेको छैन । उत्पादन भएको ग्यास पाइपमार्फत् घरघरमा पुर्याउने योजना छ । पहिलो चरणमा ७५० घरधुरीमा पुर्याउने भनेर सर्भे गरिएको छ । थप पछि विस्तार गरिने योजना छ । फोहोरबाट ग्याससँगै कम्पोस्ट मलसमेत उत्पादन गरिने उनले बताए ।
कम्पनी र नगरपालिकाबीच २० वर्षको सम्झौता गरिएको छ । २० वर्षका लागि कम्पनीले नगरपालिकालाई नाफाको पाँच प्रतिशत रकम दिने सहमति भएको थियो । यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सकेमा नगरपालिकाको आम्दानीको स्रोत हुनेछ । ग्याससँगै कम्पोस्ट मलसमेत उत्पादन गरिने भएपछि फोहोर व्यवस्थापनमा सहजता हुने उपमहानगरपालिकाले अपेक्षा गरेको छ ।
जिल्लामा नै फोहोरबाट ग्यास उत्पादन भएपछि ग्यासको मूल्य पनि कमी हुने नागरिकले अपेक्षा लिएका छन् । यसरी फोहोरबाट ग्यास उत्पादन गर्न थालिएको जिल्लामा यो पहिलो कार्य हो । जिल्लामा निर्माण गर्न थालिएको यस प्रकारको कार्य अवलोकन गर्नका लागि जिल्ला तथा बाहिरी जिल्लाबाट आउने गरेका छन् । फोहोरबाट ग्यास तथा कम्पोस्ट मल उत्पादन भएपछि उपमहानगरपालिकालाई फोहोर व्यवस्थापनमा सहज हुने नगरपालिकाले जनाएको छ ।