Logo

दुनै–लासिक्याप कच्ची कटानको काम हुँदै

वीरेन्द्रनगर– डोल्पाको सदरमुकामबाट माथिल्लो डोल्पाको मरिमसम्मको एक सय किलोमिटर सडकमध्ये २५ किलोमिटरको कच्ची कटानको काम सुरु भएको छ ।

भेरी करिडोर सडक आयोजना अन्तर्गत पर्ने यो आयोजनाको डोल्पाको सदरमुकाम दुनैसम्म यातायातका साधन सञ्चालन भए पनि सोभन्दा माथिल्लो भागमा सडक नहुँदा यातायातका साधन नचल्ने अवस्था छ । दुनै–लासिक्याप सडक खण्डको काम सुरु भएसँगै सोभन्दा माथिल्लो भागमा नेपाली सेनाले काम गर्नेछ । अहिले २५ किलोमिटर सडक खण्डभित्र कच्ची कटानको काम तीव्र बनाएको आयोजना प्रमुख सुनिल रन्जितकारले जानकारी दिए ।

माथिल्लो डोल्पाको भागमा पर्ने लासिक्याप–मरिम ७५ किलोमिटर रहेको छ । उक्त ठाउँमा नेपाली सेनाले नै ४० किलोमिटर कच्ची कटानको काम पहिले नै गरिसकेको आयोजना प्रमुख रन्जितकारले जानकारी दिए । लासिक्यापबाट मरिमसम्मको सडक नेपाली सेनाले निर्माण गर्ने भन्दै प्राविधिक काम भइरहेका छन् । दुनैबाट लासिक्याप २५ किलोमिटर रहेको छ भने लासिक्यापबाट मरिम ७५ किलोमिटर रहेको छ । दुनै–लासिक्याप सडक खण्ड सिरिया निर्माण सेवाले गरिरहेको छ ।

सडक निर्माणको जिम्मेवारी सूर्य–श्रेया–शान्ति देवी जेभी काठमाडौंले पाए पनि बल्ल काममा ढिला गरेर तीव्रता दिएको छ । जेभीले २०७८ चैत १७ गते सम्झौता गरेर २०८२ पुस १६ गते निर्माण कार्य पूरा गर्ने सहमति गरेर काम हुँदै आएको हो । १३ करोड ४२ लाखमा उक्त ठेक्का जेभीले लिएको छ । यो सडकमा चट्टान फोर्नका लागि विस्फोट गराउनुपर्ने अवस्था छ ।

भेरी करिडोर नामाकरण गरेर राष्ट्रिय प्राथमिकतामा राख्नका साथै त्रिदेशीय पारवहन सेवामा समेत सजिलो हुने भएकाले पनि छिन्चु–जाजरकोट–डोल्पा सडक त्रिदेशीय मार्गलाई महत्त्वका साथ हेरिएको छ । यो करिडोर सम्पन्न भए सबैभन्दा छोटो त्रिदेशीय मार्ग बन्नेछ । कर्णेल विश्वबन्धु पहाडीको नेतृत्वमा रहेको नेपाली सेनाले भेरी करिडोरअन्तर्गतका जाजरकोट–डोल्पा सडक निर्माण विसं २०६५ मा सुरु गरेको थियो । ट्रयाक खुलेसँगै सेनाले उक्त ११८ किलोमिटर सडक विसं २०७६ मै भौतिक पूर्वाधार मन्त्रालयलाई हस्तान्तरण गरिसकेको थियो । दुनैबाट चीनको सिमानासम्म रहेको मरिम नाकासम्मको कुल एक सय किलोमिटरमध्ये नेपालतर्फ ४० किलोमिटर सडक निर्माण भइसकेको छ । दुनैबाट धोसम्म सडक बन्न बाँकी छ ।

जाजरकोटबाट दुनैसम्म बेलिब्रिज निर्माण भएपछि यातायात सेवा सञ्चालनमा रहेको छ । देशको उत्तरी सीमाको सुरक्षा गरिरहेको माथिल्लो डोल्पाका तीन गाउँपालिकाभित्रका जनताले नेपालतर्फ सडकको सुविधा नहुँदा वर्षौंदेखि नागरिकता र सरकारी कामकाजका लागि जिल्ला सदरमुकाम दुनैसम्म हप्ता दिन पैदालयात्रा गर्नुपर्ने बाध्यता रहनाका साथै सम्पूर्ण खाद्य र अन्य सामान महँगो मूल्यमा उपभोग गरिरहेका छन् ।

दुनैदेखि धोसम्मको ५० किलोमिटर सडक निर्माण त्यति सहज छैन । चट्टानैचट्टानले बनेका ठूला पहाडका कारण निर्माणमा ढिलाइ हुने देखिन्छ । स्थानीयवासीका अनुसार अहिले यो बाटोमा जीवन नै हत्केलामा राखेर यात्रा गर्नुपर्ने हुन्छ । डोल्पा जडिबुटीको भण्डार भएकाले भेरी करिडोर अर्थात् त्रिदेशीय मार्ग निर्माण भएपछि कर्णाली प्रदेशलगायत देशकै समृद्धिमा टेवा पुग्नेमा दुईमत छैन । उपल्लो डोल्पाका तीनवटा पालिकालाई जोडने मुख्य सडक यही हो । काइके, डोल्पोबुद्ध र छार्काताङसुङ गाउँपालिकामा जाने मुख्य बाटो नै यही भएकाले पनि समस्या भएको हो ।

सडक समयमा निर्माण नहुँदा आफूहरूलाई भारी समस्या भएको काइके गाउँपालिकाका अध्यक्ष अंकद रानाले बताए । निर्माण सामग्रीदेखि दैनिक उपभोग्य सामग्री लिन र ल्याउन बाटो नहुँदा समस्या भएको गाउँपालिकाले जनाएको छ । निर्माण व्यवसायी ध्रुव शाहीले काम गर्ने छाटकाट नदेखिएको उनको भनाइ छ । ‘अब एक वर्षमात्र बाँकी छ समय ? कसरी होला र खै काम,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्