Logo

भटमास र सनफ्लावर तेलको निकासीले उचालियो निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको पाँचौं महिना मंसिरमा निर्यात व्यापार दोहोरो अंकले बढेको छ । भन्सार विभागका अनुसार मंसिरसम्म वैदेशिक व्यापारका अन्य सूचकांक सामान्य र स्थिर रहे पनि निर्यात भने झन्डै १७ प्रतिशतले बढेको छ ।

तीन वर्षदेखि वृद्धिदर नकारात्मक रहेको निर्यात व्यापारमा गत महिनादेखि सुधार देखिएको थियो । विभागका अनुसार मंसिरसम्म नेपालले ७३ अर्ब ६५ करोड ९७ लाख रुपैयाँबराबरको वस्तु निर्यात गरेको छ । अघिल्लो आवको सोही अवधिमा निर्यात भएको ६३ अर्ब २० करोडको तुलनामा यो १६.५४ प्रतिशतले बढी हो । कात्तिकसम्म नेपालले भारतलगायत मुलुकमा ५२ अर्ब ६७ करोड रुपैयाँबराबरको निर्यात गरेको थियो । मंसिरमा मात्र झन्डै २१ अर्बको निर्यात भएको छ ।

विभागको तथ्यांकअनुसार चालु आवको यस अवधिमा निर्यात ह्वात्तै बढ्नुको मुख्य कारण भटमास र सनफ्लावर तेलको निकासीमा आएको बढोत्तरी हो । मंसिरसम्म ८ अर्ब ३६ करोड ८५ लाख रुपैयाँबराबरको भटमासको तेल र २ अर्ब ९७ करोड ६१ लाख रुपैयाँको सनफ्लावार तेल निर्यात भएको छ । कात्तिकसम्म भने नेपालले ३ अर्ब ४१ करोडको भटमासको तेल तथा १ अर्ब ५० करोड रुपैयाँको सनफ्लावर तेल निकासी गरेको थियो । पछिल्लो एकै महिना दुवै वस्तुको निकासी दोब्बरभन्दा बढीले वृद्धि भएको छ । नेपाली उत्पादन नभए पनि तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी नेपालमा प्रशोधनपछि भारतमा यी वस्तुको निकासी हुने गरेको छ । भारतले नेपालमा उत्पादित खाने तेलप्रति खुकुलो नीति अख्तियार गरेसँगै निकासी ह्वात्तै बढ्न थालेको हो ।

विभागका अनुसार पाँच महिनामा नेपालले ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँबराबरका वस्तु आयात गरेको छ, जुन अघिल्लो आवको तुलनामा तीन प्रतिशतले बढी हो । आयात र निर्यात दुवै बढेसँगै नेपालको व्यापार घाटा पनि बढेको छ । पाँच महिनामा देशको व्यापार घाटा १.५२ प्रतिशतले बढेर ५ खर्ब ८७ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । वैदेशिक व्यापारको यो तथ्यांकमा विद्युत व्यापारको आम्दानी भने समावेश छैन ।

कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि सुधारिएको छ । अघिल्लो आवमा निर्यातको हिस्सा ८.९६ प्रतिशतमात्र रहेकोमा चालु आवमा १०.०२ प्रतिशत पुगेको विभागको तथ्यांक छ । वैदेशिक व्यापारको सबैभन्दा ठूलो साझेदार भारतसँग यो अवधिमा ३ खर्ब ८५ अर्ब रुपैयाँ व्यापार घाटा छ । भारतबाट ४ खर्ब १० अर्बको सामान आयात गरी नेपालले भारततर्फ ५२ अर्ब १ करोडको निर्यात गरेको छ । यस्तै, दोस्रो ठूलो साझेदार चीनसँग १ खर्ब २९ अर्ब ६३ करोड रुपैयाँ व्यापार घाटा छ । चीनबाट यस अवधिमा १ खर्ब ३१ अर्ब ३७ करोडको आयात भएकोमा १ अर्ब ७४ करोडको निर्यात भएको छ । निर्याततर्फ दोस्रो स्थानमा रहेको अमेरिकामा नेपालले पाँचौं महिनामा फेरि व्यापार घाटा व्यहोरेको छ । यो अवधिमा ८ अर्ब ३९ करोडको आयात तथा ७ अर्ब ३४ करोडको निर्यात गरेको नेपालले १ अर्ब ४ करोड रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्