दक्षिण एसियाकै पहिलो सुरुङ पर्यटकका लागि खुला गरिँदै
हेटौंडा– एक सय सात वर्षअघि निर्माण भएको दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङ जीर्णोद्धारपछि पर्यटकीय अवलोकनका लागि खुला गरिने भएको छ । हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरसँगै रहेको सुरुङमार्ग सोमबार (आज) बाट सर्वसाधारणका लागि खुला गर्न लागिएको हो ।
बागमती प्रदेश सरकारले सोमबार हेटौंडा उपमहानगरपालिकालाई सुरुङको स्वामित्व हस्तान्तरण गर्दैछ । तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सन् १९१७ मा उक्त सुरुङ निर्माण गरिएको थियो । नेपालका प्रथम ग्राजुएट इन्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा निर्माण भएको ‘चुरियामाई सुरुङ’ बीच भागमा भासिएर जोखिम अवस्थामा थियो ।
बागमती प्रदेश सरकारले ३ करोड ६५ लाख रुपैयाँ खर्चिएर सुरुङमार्गको जिर्णोद्धार गरेको हो । २ सय २५ मिटर लामो सुरुङको चौडाइ २.५ मिटर छ भने उचाइ ३ मिटर रहेको छ । २०७८ वैशाखमा सुरुङ मर्मतको काम सुरु भएकोमा २०८० असोजमा निर्माण सम्पन्न भएको थियो । निर्माण सम्पन्न भए पनि सञ्चालनको अन्योलताका कारण एक वर्षभन्दा बढी समय सुरुङको दुवैतर्फको गेट बन्द गरेर राखिएको थियो ।
सुरुङ सञ्चालनका लागि उपमहानगरपालिकाले कार्यविधि बनाएको छ । यसअनुसार सुरुङ अवलोकन गर्न प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क तोकिएको छ । विदेशीलाई १२० रुपैयाँ र विद्यार्थीलाई २० रुपैयाँ प्रवेश शुल्क लिइनेछ । ५ वर्षमुनिका बालबालिका, अपांग र जेष्ठ नागरिकलाई निःशुल्क गरिएको उपमहानगरकी मेयर मीनाकुमारी लामाले जानकारी दिइन् । आफूहरुको मातहतमा आएपछि सुरुङलाई पर्यटकीय केन्द्र बनाउन विभिन्न काम गर्ने योजना रहेको मेयर लामाले बताइन् ।
सुरुङमार्ग अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने अपेक्षा गरिएको छ । एक सय सात वर्षअघि निर्माण गरिएको सुरुङमा एक दशकभन्दा बढी समय साना हलुका सवारीसाधन आवतजावत गरेका थिए । तत्कालीन समयमा ७०० मिटर लम्बाइ, ९ फिट चौडाइ र १० फिट उचाइ रहेको उक्त सुरुङमार्ग चुरे पहाड शृंखलामा कटान (बक्स कट) गरी कालोपत्रे सडक निर्माण गरेपछि प्रयोगविहीन थियो । बाराको अमलेखगन्जलाई मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीसँग जोड्ने सडक निर्माण गर्न गर्ने बेला यो सुरुङ निर्माण भएको थियो ।
काठमाडौंलाई हेटौंडा हुँदै तराईसँग जोड्ने गरी चुरे पहाडमा निर्माण गरिएको सुरुङमार्ग दक्षिण एसियाकै पहिलो भएको स्वीस नागरिक टोनी हेगनले सन् २००४ मा लेखेको ‘दि हिमालयन किङ्डम अफ नेपाल’ नामक पुस्तकमा उल्लेख छ । तत्कालीन श्री ३ प्रधानमन्त्री चन्द्र शमशेरको आदेशमा सुरुङमार्ग निर्माणमा नेपाली सेना खटिएका थिए । भारतको रक्सौलबाट बाराको अमलेखगन्जसम्म रेलमार्ग भएर आउजाउ गर्न र मालसामान ओसारपसार गर्न सकिने भए पनि अमलेखगन्जबाट मकवानपुरको हेटौंडा र भीमफेदीसम्म आइपुग्ने सडक मार्गलाई जोड्न सुरुङमार्ग उपयोगी बनेको थियो । मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको चुरे पहाड छिचोल्ने गरी उक्त सुरुङमार्ग तत्कालीन समयमा उपलब्ध प्रविधिसँगै माटो, इँटा, चुना र सुर्ती प्रयोग गरी निर्माण गरिएको थियो ।