पर्याप्त समय दिन नसक्ने लगानीकर्तालाई गरिमा समृद्धि योजना उत्कृष्ट योजना
बजारमा आज (पुस ७) देखि ‘गरिमा समृद्धि योजना’ आएको छ । गरिमा विकास बैंकको प्रवर्द्धन र गरिमा क्यापिटलको व्यवस्थापनमा रहेको गरिमा म्युचुअल फन्डअन्तर्गतको पहिलो बन्दमुखी सामूहिक लगानी कोष योजना हो यो । प्रतिएकाइ अंकित मूल्य १० रुपैयाँका दरको १० करोड एकाइ बजारमा ल्याइएको छ । यसको न्यूनतम एक हजार रुपैयाँबराबर एक सय एकाइदेखि अधिकतम १० करोड रुपैयाँबराबरको एक करोड एकाइसम्म खरिद गर्न आवेदन दिन सकिनेछ । गरिमा समृद्धि योजना, गरिमा विकास बैंकका अन्य योजना र लगानीका अवसर र योजनाबारेमा कारोबारले गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायसँग गरेको कुराकानीको सम्पादित अंश:
गरिमा क्यापिटलले ल्याउन लागेको गरिमा समृद्धि योजना के हो ?
२०८१ साल पुस ७ गतेदेखि ११ गतेसम्म बिक्री खुला रहने ‘गरिमा समृद्धि योजना’ गरिमा विकास बैंकको प्रवर्द्धन र गरिमा क्यापिटलको व्यवस्थापनमा रहेको गरिमा म्युचुअल फन्डअन्तर्गतको पहिलो बन्दमुखी सामूहिक लगानी कोष योजना हो । प्रतिएकाइ अंकित मूल्य १० रुपैयाँका दरको १० करोड एकाइले हुन आउने एक अर्ब रुपैयाँबराबरको यो योजनाको अवधि १० वर्ष छ । कुनै पनि योग्य व्यक्तिगत तथा संस्थागत आवेदकले न्यूनतम एक हजार रुपैयाँबराबरको एक सय एकाइदेखि अधिकतम १० करोड रुपैयाँबराबरको एक करोड एकाइसम्म ‘मेरोसेयर’ मार्फत आवेदन दिन सक्नुहुनेछ ।
यस योजनाका एकाइ नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भइ दोस्रो बजारमा खरिद–बिक्रीको कारोबार गर्न सकिन्छ । यो योजना नेपाल धितोपत्र बोर्ड (सेबोन) को सामूहिक लगानी कोषसँग सम्बन्धित नियमावली तथा निर्देशिकाको कानुनी प्रावधानमा रही सञ्चालित हुन्छ । यस योजनाको सुपरीवेक्षण र सहभागीको हित संरक्षण गर्ने कार्यका लागि फरक–फरक क्षेत्रमा विशेष अनुभव र दक्षता हासिल गर्नुभएका पाँच जना प्रभुत्व व्यक्तिहरू कोष सुपरीवेक्षकका रूपमा आबद्ध हुनुहुन्छ । यस योजनासँग सम्बन्धित अन्य विस्तृत जानकारी समावेश गरिएको विवरण पुस्तिका कोष प्रवद्र्धक कम्पनी गरिमा विकास बैंक, योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल, निष्कासन तथा बिक्री प्रबन्धक कम्पनी एनआइएमबि एस क्यापिटल र नेपाल धितोपत्र बोर्डको वेवसाइटमा प्राप्त गर्न सकिन्छ ।
अब ‘हरेक नेपाली सेयरधनी’ भन्ने मूल नारा राख्नुभएको रहेछ । कसरी सबै नागरिकलाई यसले समेट्छ ?
नेपाल धितोपत्र बोर्डको नियमावली एवं निर्देशिकाको अधीनमा रही हरेक नेपाली नागरिक, गैरआवासीय नेपाली, प्रचलित कानुनबमोजिम दर्ता भएका नेपाली फर्म, संघ–संस्था, बैंक–वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेका कोषहरू जस्तै सञ्चयकोष, कल्याणकारी कोष, गुठी, अक्षयकोष आदिले यस योजनाको एकाइ खरिद गर्न आवेदन दिन सक्नेछन् ।
यसरी यसले सबै योग्य नेपाली नागरिक तथा संस्थालाई लगानी गर्न पे्ररित गरिरहेको छ र हामी हरसम्भव सम्पूर्ण उपलब्ध सञ्चार माध्यमहरूबाट उहाँहरूसमक्ष पुग्ने कोसिस गरिरहेका छौं, ताकि जुनसुकै ठाउँमा रहनुभएका कोही पनि नेपाली नागरिक यस लगानीको सुवर्ण अवसरबाट छुट्ने अवस्था नबनोस् ।
बजारमा थुप्रै खाले लगानीका योजना आइरहेका छन् । गरिमाको समृद्धि योजना नै किन रोज्ने ?
हाल देशको समग्र आर्थिक अवस्थालाई चित्रण गर्दा, तरलता या सरल भाषामा भन्नुपर्दा लगानीयोग्य रकम अधिक देखिएको छ । ब्याजदर ऐतिहासिक रूपमा नै न्यून स्तरमा छ । तर पनि अधिकांश व्यक्ति नयाँ लगानी गर्न त्यति इच्छुक देखिएका छैनन्, किनकि एकातिर लगानी गरिसकेकाले अपेक्षित प्रतिफल प्राप्त गर्न सकिरहेको अवस्था छैन भने अर्कातिर नयाँ लगानीबाट लागतभन्दा बढी मात्रामा प्रतिफल आउन सक्छ भन्ने आत्मविश्वास सिर्जना गर्ने उच्च मनोबल पनि विकास हुन सकेको छैन । तर, लगानीकर्ताको दृष्टिकोणबाट हेर्दा यदि हामीले आर्थिक सूचकहरू अहिलेको जस्तै न्यून रहेको बेला लगानीको रकम बढाउँदै जान सक्यौं भने तिनै आर्थिक सूचकहरू सुदृढ हुँदै जाँदा क्रमिक रूपमा आकर्षक प्रतिफल हासिल गर्ने सम्भावना पनि उत्तिकै बलियो हुन्छ ।
देशको समग्र आर्थिक अवस्था पक्कै पनि धेरै समयसम्म अहिलेकै जस्तो यथास्थितिमा रहन सक्दैन । क्रमिक रूपमा सुधार हुँदै जानेछ र जानुपर्छ पनि । कुनै पनि देशको आर्थिक स्थिति सुदृढ हुँदै जाँदा त्यसको सकारात्मक प्रभाव उक्त देशको सेयर बजारको सूचकांकमा प्रतिविम्बित हुने गर्छ, जुन कुरा हामीले अन्तर्राष्ट्रिय सेयर बजार हेर्र्यौं भने पनि प्रस्ट नै हुन्छ । आजको मितिमा हाम्रो देशको सेयर बजारको सूचकांक पनि साधारण अपेक्षाभन्दा न्यून बिन्दुमा नै छ र यो बढ्दै जानेबारेमा आम लगानीकर्ताको समेत विश्वास महसुस गर्न सकिन्छ ।
यो १० वर्षे योजना हो र लगानीयोग्य रकमबाट अधिकांश रकम सेयर बजारमा लगानी गर्ने भएकाले आउँदो १० वर्षभित्र हुन सक्ने सकारात्मक आर्थिक विकासलाई सेयर बजारमार्फत आकर्षक प्रतिफलका रूपमा रूपान्तरण गर्ने ठूलो सम्भावना यस योजनाले बोकेको छ । पछिल्लो १० वर्षको तथ्यांक केलाउने हो भने पनि वार्षिक रूपमा मुद्दति निक्षेपको औसत ८ देखि ९ प्रतिशतको प्रतिफलभन्दा सेयर बजारको वार्षिक १६ देखि १७ प्रतिशत प्रतिफल निकै आकर्षक देखिन्छ । हामीले सेयर बजारलाई घरजग्गाजस्तै दीर्घकालीन र लामो अवधिको लगानीको क्षेत्रका रूपमा आत्मसात् गर्न सक्यौं भने यसले प्रदान गर्न सक्ने उच्च प्रतिफलको हिस्सेदार हामी पनि हुन सक्छौं ।
यस योजनाले १० वर्षको समयलाई मध्यनजर गरेर लगानी गर्ने हुनाले पक्कै पनि राम्रै प्रतिफलको अपेक्षा गर्न सकिन्छ । सामूहिक लगानी कोष विशेष गरी सेयर बजारका बारेमा कम ज्ञान भएका या यथेष्ट समय दिन नसक्ने तर सेयर बजारको प्रतिफलको सम्भावनालाई समेत ग्रहण गर्न पाए हुन्थ्यो भन्ने सोच भएका व्यक्तिगत लगानीकर्ता र वित्तीय व्यवस्थापनका क्रममा न्यून प्रतिफल प्राप्त हुने वित्तीय उपकरणमा लगानी गर्नुपरेका संस्थागत लगानीकर्तालाई उचित लगानीको क्षेत्र भएकाले बजारमा थुप्रै लगानीका योजना भए पनि गरिमा समृद्धि योजना एक उत्कृष्ट लगानीको योजना हुन सक्छ ।
यसका लगानीकर्ताले कसरी र कति मुनाफा आर्जन गर्न सक्छन् ?
यस योजनाका एकाइ धनीले दुई प्रकारबाट मुनाफा आर्जन गर्न सक्नुहुनेछ । पहिलो, नगद लाभांशको माध्यमबाट र दोस्रो, पुँजीगत लाभको माध्यमबाट । नगद लाभांश वार्षिक रूपमा प्राप्त गर्न सकिने हुन्छ भने पुँजीगत लाभ योजनाको अवधि परिपक्व भएपश्चात् वा नेप्सेको दोस्रो बजारमा योजनाको अवधिभित्र कुनै पनि उपयुक्त समयमा बिक्री गरी प्राप्त गर्न सकिने हुन्छ । यस योजनाले समग्र १० वर्षको अवधिमा नगद लाभांश ११० प्रतिशत र पुँजीगत लाभ १११.८० प्रतिशत गरी कुल २२१.८० प्रतिशत प्रतिफल अनुमान गरेको छ, जुन सामान्य वार्षिक औसतको हिसाबमा २२.१८ प्रतिशत हुन आउँछ ।
गरिमाले कति समय लगाएर यो योजना सार्वजनिक गर्न लागेको हो ? के–के अभ्यास गर्नुपर्ने रहेछ यसका लागि ?
हामीले ‘गरिमा म्युचुअल फन्ड’ नामक सामूहिक लगानी कोष दर्ता गर्न २०७९ असार ९ गते नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएका थियौं । तत्पश्चात् हामीले कोष सुपरीवेक्षक नियुक्तिको अनुमति तथा योजना व्यवस्थापक तथा डिपोजिटरीको अनुमति प्राप्त गर्यौं र २०८१ मंसिर ५ गते पहिलो बन्दमुखी योजनाको रूपमा ‘गरिमा समृद्धि योजना’ सञ्चालन गर्ने अनुमति प्राप्त भयो ।
यसबीचमा हाम्रो धैर्यताको निकै परीक्षण भयो । नेपाल धितोपत्र बोर्डमा लामो समयसम्म नेतृत्व नहुनुदेखि लिएर विभिन्न प्रक्रियागत चरण पार गरेर आज हामी यस सुखद क्षणमा आइपुगेका छौं । नेपाल धितोपत्र बोर्डको सामूहिक लगानी कोष नियमावली, २०६७ र सामूहिक लगानी कोष निर्देशिका, २०६९ मा तोकिएका व्यवस्था पालना गरेपश्चात् हामीले गरिमा समृद्धि योजना सञ्चालनको अनुमति पाएका छौं ।
समृद्धि योजनामै चाहिँ लगानी किन गर्ने ?
हाल नेपाल धितोपत्र बोर्डमा करिब ५० अर्ब रुपैयाँबराबरका आईपीओ पाइपलाइनमा छन् । जुन रकममध्ये ५ प्रतिशत रकम म्युचुअल फन्डका लागि आरक्षित हुन्छ । अहिले गरिमा म्युचुअल फन्डसहित बजारमा १६ वटा म्युचुअल फन्ड छन् । उक्त आरक्षित रकम यिनै १६ वटा म्युचुअल फन्डमा विनियोजन हुन्छ र कुनै एक म्युचुअल फन्डलाई प्राप्त यो आरक्षण उक्त म्युचुअल फन्डअन्तर्गत रहने हरेक योजनामा वितरण हुने गर्छ । गरिमा समृद्धि योजनाको हकमा यो गरिमा म्युचुअल फन्डअन्तर्गत एकमात्र योजना हो र गरिमा म्युचुअल फन्डलाई विनियोजन हुने सम्पूर्ण रकम गरिमा समृद्धि योजनालाई नै वितरण हुँदै छ ।
यो दृष्टिकोणबाट समेत योजनाको अवधिभर राम्रै प्रतिफलको अपेक्षा गर्न सकिन्छ । अर्कातर्फ हाल बैंकको मुद्दति निक्षेपमा औसत ४–५ प्रतिशतको हाराहारीमा निकै कम ब्याजदर तोकिएको छ, जुन लामो समयावधिका लागि आफ्नो लगानीलाई फ्रिज गरेर राख्दा प्रतिफल कम आउने देखिन्छ र गरिमा समृद्धि योजनाले वार्षिक रूपमा माथि उल्लेख गरिएजस्तै औसत २२.१८ प्रतिशत प्रतिफल अनुमान गरेको हुनाले लगानीकर्ताले गरिमा समृद्धि योजनामा लगानी गर्दा उपयुक्त हुने देखिन्छ ।
गरिमा क्यापिटलमा अन्य केके योजना छन्, लगानीका लागि ?
गरिमा क्यापिटलले सामूहिक लगानी कोषको व्यवस्थापनसँगै अन्य सेवाहरू जस्तै लगानी व्यवस्थापन सेवा, निक्षेप सदस्य सेवा (डिम्याट र मेरोसेयरसम्बन्धी), धितोपत्र प्रत्याभूति सेवा प्रदान गर्दै आएको छ ।
ती योजना र नयाँ योजनामा कस्तो भिन्नता छ ?
गरिमा क्यापिटलले व्यवस्थापन गर्न लागेको गरिमा समृद्धि योजना गरिमा म्युचुअल फन्डअन्तर्गतको पहिलो योजना हो । भविष्यमा थप योजना ल्याउँदै जाने रणनीति रहेको छ ।
यो योजना किन ल्याउनुभयो ?
हामीले आफ्नो व्यवसाय विस्तार गर्ने विविध रणनीतिमध्ये सामूहिक लगानी कोष विधाअन्तर्गत व्यवसाय अगाडि बढाउने उद्देश्यका साथ नेपाल धितोपत्र बोर्डको नियम–कानुनको परिधिभित्र रही गरिमा समृद्धि योजना आम लगानीकर्तामाझ ल्याएका छौं ।
अहिले बजारमा धेरै किसिमका लगानीका योजना पाइन्छन् । जति धेरै योजना त्यति धेरै अन्यौल पनि देखिन्छ । अन्यौल नभइकन लगानी गर्न उपयुक्त विकल्प के आधारमा छान्न सकिन्छ ?
लगानीकर्ताले सर्वप्रथम आफूसँग कति लगानीयोग्य रकम छ, लगानीको अवधि कति हो र जोखिम कतिको लिन सकिन्छ भन्नेबारेमा अरुको लहैलहैमा नलागी स्व–मूल्यांकन गर्नुपर्ने हुन्छ । यी कुरा सम्बन्धित व्यक्तिको उमेर, आयस्तर तथा जिम्मेवारी (जस्तै: आफ्नो तथा छोराछोरीको पढाइ खर्च, स्वास्थ्योपचार खर्च, भ्रमण तथा मनोरञ्जन खर्च, घरजग्गा खरिद, आकस्मिक कोष आदिका लागि रकमको जोहो गर्नुपर्ने जिम्मेवारी) जस्ता विषयले निर्धारण गर्ने गर्छ ।
तत्पश्चात् बजारमा उपलब्ध लगानीका विकल्पमध्ये हरेक विकल्पले आफूलाई कति प्रतिफलको आवश्यकता हो, त्यही अनुसारको प्रतिफल दर प्रदान गर्न सक्छ कि सक्दैन र सोसँग संलग्न हुने जाखिमसमेत वहन गर्न सकिन्छ कि सकिँदैन भनेर उचित मूल्यांकन गरी उपयुक्त लगानीको क्षेत्र पहिचान गर्न सकिन्छ । हामीले लगानीको विविधीकरण गर्नुपर्ने हुन्छ, हामीले सम्पूर्ण लगानीयोग्य रकम एउटै लगानीको क्षेत्रमा केन्द्रित गर्नु हुँदैन ।
तपाईंको कार्यकालमा लगानीको नयाँ योजना आउन लाग्यो । यसबाहेक अन्य योजना पनि ल्याउँदै हुुनुहुन्छ कि ?
हामी क्रमिक रूपमा गरिमा म्युचुअल फन्डअन्तर्गत अन्य बन्दमुखी र खुलामुखी योजनाहरू ल्याउँदै जानेछौं ।