Logo

जलजला नि:शुल्क कृत्रिम गर्भाधान सेवा

पर्वत– पछिला केही वर्षयता पर्वत जिल्लामा गाईभैंसीमा कृत्रिम गर्भाधान गराउने प्रचलन बढ्दै गएको छ । कृत्रिम गर्भाधान गराउने प्रचलन बढे पनि सेवा शुल्क महँगो र झण्झटिलो भएको गुनासो चुलिँदै गएको बेला जिल्लाको जलजला गाउँपालिकाले भने नि:शुल्क रूपमा सेवा दिन थालेको छ ।

गाउँपालिकाभित्रका सबै वडामा व्यावसायिक र निर्वाहमुखी रूपमा गाईभैसी पाल्दै आएका कृषकलाई चालु आर्थिक वर्षको साउनदेखि पालिकाले नि:शुल्क कृत्रिम गर्भाधान सेवा दिन थालेको हो । गाई वा भैसीले बहर वा राँगो खोजेको पहिचान भएपछि कृषकले सोझै पालिकाको पशु सेवा शाखामा सम्पर्क गर्छन् र तत्काल प्राविधिक पुगेर कृत्रिम गर्भाधान सेवा उपलब्ध गराउन थालिएको पशु सेवा शाखाका प्रमुख नारायणप्रसाद आचार्यले जानकारी दिए ।

यसले गर्दा कृषकलाई पनि फाइदा हुने र प्राविधिकलाई पनि आर्थिक वा अन्य कुराको बोझ नपर्ने भएकाले यसतर्फ आकर्षण बढ्दै गएको छ । पशुपालक कृषकलाई व्यवसायमै टिकाइ राख्नका लागि यो सेवा प्रभावकारी बनेको छ ।

आचार्यका अनुसार यस वर्ष २७८ भैसी र १३९ गाई गरी ४१७ गाईभैसीलाई नि:शुल्क कृत्रिम गर्भाधान सेवा उपलव्ध गराइएको छ । पालिकामा कृत्रिम गर्भाधान सेवा प्रदान गर्न योग्य चारजना प्राविधिक रहेका छन् । उनीहरू चारै जनाले जुनसुकै बेला पनि सेवा प्रदान गर्दै आएको आचार्यले बताए ।

नि:शुल्क रूपमा चौविसै घण्टा सेवा प्रवाह गर्न थालेपछि कृषकलाई राँगो वा बहर पाल्ने वा गाउँमा कसले पालेको छ भनेर खोज्नुपर्ने झण्झट हट्नुका साथै शुल्कसमेत तिर्नु नपर्दा ठूलो राहत मिलेको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । यो सेवालाई अझै प्रभावकारी बनाउनका लागि प्राविधिकको संख्या थप गर्ने योजनामा पालिका छ ।

जलजलामा तीन सयभन्दा बढी पशुपालन फार्म दर्ता भएका छन् । जसमध्ये अहिले ७० वटा फार्ममा व्यावसायिक रूपमा सञ्चालनमा रहेका छन् । व्यावसायिक वा निर्वाहमुखी सवै कृषकलाई पालिकाले सेवा उपलब्ध गराउँदै आएको अध्यक्ष आचार्यले बताए । गाउँपालिका अन्तर्गत धाइरिङ, नागलीवाङ, लेखफाँट, वारीबेनी, बगरफाँटजस्ता सडकको राम्रो पहुँच पुगेका ठाउँमा पशुपालन व्यवसाय फस्टाउँदै गएको छ ।

जलजला गाउँपालिकाले कृत्रिम गर्भाधानसम्बन्धी कार्यविधि नै तयार गरेर कृषकको गोठगोठमै पुगेर सेवा दिन थालेपछि कृषकलाई राहत मिलेको जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताए । यसअघि पशु प्राविधिक कृषकको घरगोठमै पुगेर सेवा दिँदा एक हजार रुपैयाँदेखि २५ सय रुपैयाँसम्म लिँदै आएका थिए । अबदेखि कृषकलाई जतिपटक प्राविधिक बोलाए पनि कुनै सेवाशुल्क नलाग्ने गरी व्यवस्था गरिएको उपाध्यक्ष आचार्यको भनाइ छ ।

यो सेवासँगै पालिकाले कृत्रिम गर्भाधानमार्फत् जन्मिएका पाडापाडी हुर्काएवापत गाईभैसीलाई सुत्केरी खर्चसमेत उपलब्ध गराउँदै आएको छ । वार्षिक रूपमा दुई हजार पाँच सयका दरले सुत्केरी खर्चसमेत दिँदै आएको छ । यस्तै स्थानीय जातका गाईगोरु पाल्ने, हलगोरु पाल्ने कृषकलाई समेत पालिकाले प्रोत्साहन स्वरुप अनुदान दिँदै आएको उपाध्यक्ष आचार्यले जानकारी दिए । यस्ता कार्यक्रमले व्यावसायिक पशुपालनतर्फ स्थानीयवासीको आकर्षणसमेत बढ्दै गएको उनको भनाइ छ ।

जिल्लाका सातवटै पालिकामा कृत्रिम गर्भाधान सेवा विस्तार भए पनि प्रभावकारी बने हुन सकेको छैन । गत आर्थिक वर्षमा जिल्लाभर जम्मा एक हजार ६ सय गाईभैसीलाई मात्र कृत्रिम गर्भाधान गराइएको थियो भने अन्यले परम्परागत रूपमै बहर र राँगो लगाएको भेटेरीनरि अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्