Logo

सडक अवरोध नखोले पुल बन्द गर्ने चेतावनी

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनी कुमार सीएफईसी ज्वाइन्ट भेन्चरले गड्डाचौकीको बाधा अड्चन नखुले पुल बन्द गर्ने चेतावनी दिएको छ ।

पुस ४ गते निर्माण कम्पनी कुमार सीएफईसी ज्वाइन्ट भेन्चरले महाकाली पुल योजना कार्यालय महेन्द्रनगरलाई पत्र काट्दै गड्डाचौकीको बाधा अडचन नखुले पुल बन्द गर्न चेतावनी दिएको हो । निर्माण कम्पनीले भेरिएसन ३ अनुसार गड्डाचौकीदेखि चारपुलसम्मको पहुँचमार्ग कालोपत्रे अन्तर्गत गड्डाचौकीमा दुई सय मिटर सडक स्थानीयका कारण कालोपत्रे गर्न नसकिएको भन्दै अवरोध खुलाउन दुई साताको अल्टिमेटम दिएको छ ।

महाकाली पुलको सम्पूर्ण डिजाइनको कार्ययोजना कार्यालयलाई नै पर्ने जनाउँदै कार्यालयको निष्कृयता र लामो समयसम्म भेरिएसनका सम्बन्धमा पनि अनिर्णयका कारण निर्माण गरेका संरचना त्रृटि सच्याउने समयभन्दा अघिदेखि निर्वाध रूपमा दुई वर्षदेखि प्रयोग भइरहेको जनाउँदै दुई सातामा कम्पनीले काम सम्पन्न गर्न सम्पूर्ण बाधा अड्चन खुल्ने बताएका छन् । उक्त समयसम्म निर्माण कम्पनीले धैर्य धारण गर्ने जानकारी गराउँदै समयमा पनि कार्यालयबाट काम सुचारु गर्नका लागि हाल विद्यमान बाधा अड्चन फुकाउन पहल नभए विगत दुई वर्षदेखि चालु अवस्थामा रहेको महाकाली पुल र पाँच वर्षदेखि चालु अवस्थामा रहेको गड्डाचौकी नहर पुल बन्द गर्नुपर्ने कठोर विकल्प चालिने जनाएको छ ।

त्यसैगरी गड्डाचौकी क्षेत्रमा महाकाली सिँचाइको नहरदेखि पूर्वपश्चिम महेन्द्रराजमार्ग अन्तर्गत दुई सय मिटर सडकखण्ड बेस निर्माण भए पनि केही स्थानीयको अवरोधका कारण कालोपत्रे गर्न नसकेको भन्दै निर्माण कम्पनीले आयोजना कार्यालयलाई यसअघि पनि जानकारी गराउँदै आएको थियो । अवरोध भएको भन्दै पहुँचमार्ग सडक कालोपत्रे हुन नसकेपछि नदीको बहाब महाकाली क्षेत्रको मध्य भागबाट केन्द्रित नभएर बायातर्फ किनारमा रहँदा भुजेला खोलाको बहाब रोकिएकाले ठूलो समस्या देखापरेको जनाउँदै विगत तीन वर्षदेखि भुजेला खोलाको बहाब रोकिई भीमदत्त नगरपालिका–१२ तर्फ केन्द्रित हुँदा ठूलो धनजनको क्षति भएको उल्लेख गरिएको छ ।

नदी नियन्त्रण तथा जल उत्पन्न प्रकोपलाई न्यूनीकरण गर्ने विषयलाई लिएर सुरु ठेक्का सम्झौतामा दिएको डिजाइनमा फेरबदल भएको हुँदा २० महिनादेखि भेरिएसन सम्बन्धीको प्रकृया नै चलिरहेको छ । कार्यालयको तर्फबाट २०८० फागुनमा पुरक भेरिएसन ३ का नाममा आंशिक भेरिएसन ३ र २०८० साल चैत ९ गतेमा डिजाइन स्वीकृत भए पनि यसले सम्पूर्ण डिजाजन संशोधनलाई समेटेको छैन । हुनुपर्ने भेरिएसन समयमा हुन नसक्दा पुल निर्माण ठेक्का अन्तर्गतको कार्य दुई वर्षदेखि सुस्त ढंगबाट अघि बढेको छ ।

गत २६ देखि २९ भाद्रसम्म वर्षातका कारण महाकाली नदीमा चार लाख ६१ हजार क्युसेकभन्दा बढी जलस्तर प्रवाह भएसँंगै गाइडबण्डमा ब्यापक क्षति भएको र झण्डै तीन सय मिटर तटबन्ध भत्किएको जनाउँदै क्षति भएको स्थानबाट सम्पूर्ण महाकाली नदी आयोजनाको पोखरीभित्र छिरेको अवस्थामा चार महिना बितिसक्दा र निर्माण कम्पनीले बेहोरेको करोडौँ नोक्सानीको हकमा समेत कार्यालयबाट कुनै वस्तुगत ठोस निर्देशन आउन नसकेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

विगत एक वर्षदेखि स्वीकृत प्रकृयामा रहेको भेरिएसन ४ स्वीकृत गर्ने लगायतको ठेक्का कार्यलाई अवरोध गरिएको बाधा अड्चन विषयलाई नगरेको खण्डमा यसै वर्षको अतिवृष्टिका कारण गाइडबण्डमा भएको क्षतिलाई समयमै नै मर्मत गरी प्रबलीकरण गर्न मनसुनपूर्व बाँकी कार्य गर्न नसकिने जनाएको छ । कुमार सीएफइसी ज्वाइन्ट भेन्टरका योजना व्यवस्थापक इन्जिनियर किशोरराज पाण्डेयले हस्ताक्षर गरेको पत्रमा हालसम्म ठेक्का सम्झौता र स्वीकृत भेरिएसन ३ का आधारमा ९५ भौतिक र ९२ वित्तिय प्रगति भएको जनाएको छ । चार लेन पुल निर्माण कार्य सम्पन्न भएर दुई वर्षदेखि भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका बीच निर्वाध रूपमा यातायात सञ्चालन भइरहेको जनाएको छ ।

अवरुद्ध काम सुचारु नभए चालु आर्थिक वर्षमा १३ करोड बजेटसमेत फ्रिज हुने जानकारी दिइएको छ । केही समयअघि सिडियो कार्यालयमा स्थानीय जनप्रतिनिधि सहितको उपस्थितिमा भएको सहमतिसमेत कार्यान्वयन नभएको भन्दै आपत्ति जनाएको छ । महाकाली पुल योजना कार्यालय महेन्द्रनगरले पुल निर्माणलाई पूरा गर्न कार्यालयबाट मन्त्रालयमा पेस गरेको भेरिएसन अर्थात् अतिरिक्त काम मन्त्रिपरिषदद्वारा स्वीकृत नभएको जनाएको छ् ।

चारअन्तर्गत स्पटर, पलङ कंक्रिट, तारजाली, माटो भरान, भुजेला खोलाको तटबन्धसहितका काम छन् । तर, उक्त भेरिएसनको काम भौतिक पूर्वाधार सचिवस्तरबाट स्वीकृत भएर मन्त्री हुँदै मन्त्रिपरिषदद्वारा पेस हुन् बाँकी रहेको जनाएको छ । महाकाली पुल योजना कार्यालयका सहायक सूचना अधिकारी सबइन्जिनियर दुर्गादत्त अवस्थीले निर्माण कम्पनीले गड्डाचौकी क्षेत्रमा अवरोधबारे कार्यालयलाई जानकारी गराएसँंगै अवरोध खुलाउन कार्यालयले सम्बन्धित व्यक्ति, निकायसँंग पहल गर्ने बताए । यो हाम्रो प्रदेशकै गौरवको योजना हो,’ उनले भने, ‘यसमा सबैले आ–आफ्नो स्थानबाट साथ समर्थन सहयोग गर्नुपर्छ । अवरोध होइन सघाउनुपर्छ, योजनाको पूरै निर्माण कार्य सम्पन्न गर्न हामी सबै जिम्मेवार बन्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्