Logo

आधा बन्यो मुग्लिन-पोखरा सडक

काठमाडौं– पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार तथा स्तरोन्नतिको काम ५१ प्रतिशत पूरा भएको छ । आयोजना सन् २०२१ अप्रिल १५ बाट सुरु भएको थियो । एसियाली विकास बैंक (एडीबी)को सहयोगमा सरकारले सडक विभाग मातहतको आयोजना निर्देशनालय (एडीबी)बाट निर्माण भइरहेको छ । आयोजना ३ वर्ष ७ महिनामा ५१ प्रतिशत पूरा भएको हो ।

एडीबीको सहयोगमा मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजनामार्फत ८०.३३ किलोमिटर सडक स्तरोन्नतिका लागि २०२१ जनवरीमा सम्झौता भएको थियो । मुग्लिङ–पोखरा राजमार्गअन्तर्गत हाल निर्माणाधीन आँबुखैरेनीदेखि पोखरासम्म दुई खण्डमा काम गरिएको छ । पूर्वी खण्डमा आँबुखैरेनीदेखि तनहुँकै जामुनेसम्म ४१.४५ किलोमिटर सडक छ भने पश्चिम खण्डमा जामुनेदेखि कास्कीको पोखरासम्म ३८.८८ किलोमिटर सडक रहेको छ । पूर्वी खण्डको ६८.६३ प्रतिशत र पश्चिम खण्डको ३३.४४ प्रशित भौतिक प्रगति भएको छ । आयोजनाको थपिएको म्याद पूर्वी खण्डको फेब्रुअरी २०२५ र पश्चिम खण्डको डिसेम्बर २०२५ सम्म रहेको छ । पश्चिम खण्डको काम भने २८ अगष्ट २०२१ बाट सुरु भएको थियो ।

चाइना कन्स्ट्रक्सन कम्पनी कर्पोरेसनसँग ६ अर्ब २१ करोड रुपैयाँमा पूर्वी खण्डको ठेक्का सम्झौता गरेको थियो । पश्चिम खण्डको निर्माणका लागि ७ अर्ब ४० करोड लागतमा यनहुई काइयून हाइवे एन्ड ब्रिज चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । मुग्लिन (आँबुखैरेनी)–पोखरा सडक खण्डको ८०.३३ किलोमिटरमध्ये नोभेम्बर ३० सम्म ३६.१३ किलोमिटर (४ लेन) र १७ किलोमिटर (२ लेन) कालोपत्रेसहित ५१ प्रतिशत काम सम्पन्न भएको छ । सो सडकको ६०.२४ किलोमिटर (२ लेन) र २०.०९ किलोमिटर (४ लेन) र दुईतर्फ ६–६ मिटरको सर्भिस लेन, २९ वटा पुल, २८१ कल्भर्ट, नालालगायत संरचना निर्माण गर्नुपर्ने छ ।

पूर्वी खण्डमा नोभेम्बर ३० सम्म ३१.८३ किलोमिटर (४ लेन) कालोपत्रे सडक, १७ वटा पुल, २४२ वटा कल्भर्ट, करिब ३३.१० किलोमिटर ड्रेन गरी ६८.६३ प्रतिशत काम सम्पन्न भएको छ । सेती र मादी नदीमा निर्माण हुने पुल तथा दुवै सडक खण्ड ३ वर्ष (सेप्टेम्बर २०२२–सेप्टेम्बर २०२५) निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । दुवै खण्डको सडक तथा पुल गरेर करिब १५ अर्ब २७ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको हो । सेती नदीमाथि १९० मिटरका २–२ लेनका २ वटा विशेष पुल र मादी नदीमा ४ लेनको बीचमा आर्कसहितको सुन्दर पुल निर्माणाधीन छन्, जसको प्रगति २७ प्रतिशत र ४४ प्रतिशत रहेको छ ।

निर्माण व्यवसायीको मुख्य कार्यालयका प्रतिनिधि आई प्रत्येक ३ महिनामा ५ किमी एकातर्फ (२ लेन) कालोपत्रे गर्ने र २०२५ डिसेम्बरसम्ममा सबै काम सम्पन्न गर्ने तालिकासहित प्रतिबद्धता पेश गरेको आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकालले बताए । उनले भने, ‘कामले गति लिएको छ । तोकिएको समयमा निर्माण पूरा गर्ने निर्माण कम्पनीको प्रतिबद्धता आएको छ ।’ नोभेम्बर ३० सम्ममा ४.३ किमी (४ लेन) र १७ किमी (२ लेन) कालोपत्रे भएको छ । एउटाबाहेक अरु पुल यही आवमा सम्पन्न हुने गरी काम भइरहेको निर्देशक ढकालको भनाइ छ । विद्युत पोल सार्ने, खानेपानी तथा ढल स्थानान्तरण, स्थानीय निर्माण सामग्रीमा शुक्लागण्डकी र व्यास नगरपालिकाको दोहोरो करको समस्या समाधान गर्न प्रयास भइरहेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्