हुलाकी राजमार्गको मोरङको रंगेली खण्डमा निर्माण सुरु

विराटनगर-हुलाकी राजमार्गको मोरङ–झापा सडकखण्डअन्तर्गत मोरङको रंगेलीमा सडक निर्माण सुरु भएको छ । सरकारले ६ भागमा विभाजन गरी मोरङ–झापा हुलाकी राजमार्ग ठेक्का लगाएसँगै रंगेलीमा करिब ७.५ किलोमिटर सडक निर्माण सुरु भएको हो । रंगेली नगरपालिका मेयर दिलिप बगडिया, हुलाकी राजमार्ग आयोजना इटहरीका इन्जिनियर माधव पौडेल र निर्माण कम्पनीका तर्फबाट कालिका कन्ट्रक्सन प्रालिका क्षेत्रिय प्रबन्धक उज्वल प्रसाइँले शिलान्यास गरे ।
सरकारले मोरङ खण्डको हुलाकी सडकलाई ४ भाग र झापातर्फ २ भागमा विभाजन गरी ६ भागमा करिब ६२ किलोमिटर सडक ठेक्का लगाएको छ । रंगेली सेक्सनअन्तर्गतको करिब ७.५ किलोमिटर सडक शिलान्यास भएसँगै माटो भर्ने तथा रंगेली नगरपालिका वार्ड नं. २ बेतौना क्षेत्रमा नाला निर्माणको काम थालिएको छ । मेयर बगडियाले हुलाकी सडक विस्तारले रंगेलीको विकासमा ठूलो टेवा पुग्ने बताए । “हुलाकी मार्ग बनिसकेपछि रंगेलीको गुमेको शाख फर्किनेछ,” उनले भने, “यो क्षेत्रको विकासका लागि हुलाकी राजमार्ग कोशेढुंगा हुनेछ ।”
रंगेली सेक्सनको ७.५ किलोमिटर सडकखण्डकोअन्तर्गत रंगेली बजार क्षेत्रको ४.९ किलोमिटर सडक सहरी मापदण्डबमोजिम निर्माण हुनेछ । कालिका कन्ट्रक्सनका क्षेत्रिय प्रबन्ध उज्ज्वल प्रसाइँले ३ वर्ष निर्माण अवधि रहेपनि २ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम थालिएको बताए । पहिलो चरणमा ५ किलोमिटर रिटेनिङ वाल बनाउने, माटो भर्ने तथा नालाको काम सम्पन्न योजनासहित काम तीव्र गतिमा अगाडि बढाइने उनको भनाइ थियो ।
रंगेली सेक्सनको सडक निर्माणको ठेक्का कालिका–मैनाचुली–भेडेन्सी जेभी काठमाडौंले ७९ करोड २५ लाख ८६ हजार रुपैयाँमा ठेक्का पाएको छ भने अन्य ५ सेक्सनको छुट्टछुट्टै कम्पनीहरूले ठेक्का पाएका छन् । रंगेली नगरपालिकाले यसअघि नै संघीय सरकार सडक डिभिजन निर्देशानलयको निर्देशनमा सडक केन्द्रदेखि १५-१५ मिटर सडक खाली गराइसकेको थियोे । सो क्रममा रंगेली बजार क्षेत्रका ८७ वटा घर भत्किएका थिए भने कही घरमा डोजर चलाएर नगरपालिकाले खाली गराएको थियो । हुलाकी सडक आयोजनाका इन्जिनियर पौडेलले हुलाकी सडक मोरङ–झापा खण्ड निर्माण भएसँगै महेन्द्र राजमार्गको वैकल्पिक सडकको रुपमा प्रयोग हुने बताए ।