तालि बजाउन होइन, काम गरेर परिणाम निकाल्न आएको हुँ: प्रधानमन्त्री
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव कायम गर्न आवश्यक रहेको बताएका छन् । शनिबार विश्व ध्यान दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मानिस भएपछि एकले अर्कोलाई प्रेम गर्नुपर्ने र नेपालीहरु एकजुट हुनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले परस्परमा घृणा नभइ विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव कायम गर्न आवश्यक रहेको बताए । उनले ध्यान र योगले भवना, व्यवहार, अभ्यासलाई राष्ट्रिय एकताको भावनाका रुपमा अघि बढाउन मद्दत गर्ने बताए । प्रधानमन्त्री ओलीले ध्यान दिवसलाई औपचारिक दिवसको रुपमा मात्रै नभइ वास्तविक जीवन पद्धतिको रुपमा अपनाउने मार्गदर्शनको रुपमा अघि बढाउनुपर्ने बताए ।
आफू तालि बजाउन नभइ काम गरेर परिणाम निकाल्नका लागि सरकारमा रहेको बताए । आफू काममा विश्वास गर्ने र कामबाट परिणाम निकाल्नमा विश्वास गर्ने व्यक्ति भएको ओलीले बताए । प्रधानमन्त्री ओलीले ज्ञानको मुहान ध्यान भएको उल्लेख गरे । उनले ध्यान र योगलाई आफ्नो दिनचर्या बनाउन आह्वान गरे ।