Logo

लोडसेडिङ हुँदा खुशी हुने जमातले हल्ला फिँजाए: कुलमान घिसिङ

काठमाडाैं- नेपाल विद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ हुँदा रमाउने जमातले नै लोडसेडिङ घोषणा भएको हल्ला फैल्याएको दाबी गरेका छन् । शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा अयोजित कार्यक्रममा बोल्दै लोडसेडिङ हुँदा रमाउने जमातले प्राविधिक रुपमा थोरै समस्या हुँदा बजारमा लोडसेडिङ घोषणा भएको हल्ला फैल्याएको दाबी गरेका हुन् ।

कार्याकारी निर्देशक घिसिङले अहिले लोडसेडिङ नभएर आयोजनाहरुमा आएको प्राविधिक कारणले केही घण्टा जलविद्युत वितरणमा समस्या भएको बताए । उनले माथिल्लो तामाकोशी र कालिगण्डकी बन्ने बित्तिकै लोडसेडिङ समस्या समाधान हुने दाबी गरे । घिसिङले व्यस्त समयमा केही मात्रै उद्ययोगको लाईन काटेको भन्दै त्यो समयमा नागरिकलाई सहज बनाएको बताए ।

उनले उद्ययोगीहरु विद्युत काट्यो भनेर प्राधिकरणले लोडसेडिङ घोषणा गर्‍यो भन्दै हल्ला फैल्याउन व्यस्त भएको बताए । कार्याकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशी र कालिगण्डकी जलविद्युत आयोजना आगामी १० दिनमा जोडिएपछि लोडसेडिङको समस्या पनि हट्ने जानकारी दिए । उनले प्राधिकरणको घाटामा फाइदा लिनेहरु धेरै रहेको बताए ।

उनले जनतालाई लोडसेडिङमा राखेर उद्योगले प्रयोग गरेको विद्युतको रकम व्यवसायीहरुले दिनको विकल्प नभएको उल्लेख गरे । जनतालाई लोडसेडिङमा राखेर उद्योगले प्रयोग गरेको विद्युतको रकम तिर्नुपर्नेमा जोड घिसिङले दिए । उनले ऊर्जा मन्त्रीप्रति संकेत गर्दै बाढीको कारण क्षति भएका आयोजनाहरु बनाउन असहयोग भएको बताए ।

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (ईप्पान) अध्यक्ष गणेश कार्कीले वर्तमान सरकारले पूर्वाधार क्षेत्रको विकार गर्न नसके कसैले पनि गर्न नसक्ने बताए । उनले देशको विकासमा पूर्वाधारको विकास महत्त्वपूर्ण रहेको बताए । उनले पूर्वाधारको विकासका लागि सिमेन्ट अत्यन्तै आवश्यक रहेको बताए ।

अध्यक्ष कार्कीले सरकारले सिमेन्टको मूल्य बढाउनेलाई कारबाही गर्नुपर्ने माग राख्नुभयो । उनले सिमेन्टको मूल्य बढ्दै जाँदा जलविद्युत आयोजनाहरुको लागि उच्च रुपमा वृद्धि हुने बताए । उनले जलविद्युत आयोजनाको कारण सरकारले कल्पना गर्न नसक्ने ठउँमा बाटो पुगेको बताए । कार्कीले उर्जाको विकासमा सामाजिक उत्तरदायित्वमा जोडेर जानुपर्ने बताए । उनले भारतबाट विद्युत आएन भने अझै लोडसेडिङ हुने अवस्था रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्