बाम गठबन्धनमा दुई नयाँ कार्यदल «

बाम गठबन्धनमा दुई नयाँ कार्यदल

पार्टी एकता घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरणसम्बन्धी संगठनात्मक कार्यदलको बैठकले २ वटा नयाँ कार्यदल गठन गरेको छ । मंगलबार एमाले र माओवादी केन्द्रबीच एकता गर्नका लागि बनेको संगठन तथा विधान मस्यौदा कार्यदलको बैठकले २ नयाँ कार्यदल गठन गरेको हो ।
बैठकले जनवर्गीय संगठन र एकीकृत पार्टीका लागि विधानको प्रारम्भिक खाका तय गर्न छुट्टाछुट्टै कार्यदल गठन गर्ने निर्णय गरेको हो । जनवर्गीय संगठनहरुलाई एकीकृत गर्न माओवादी केन्द्रबाट गिरीराजमणि पोखरेल र एमालेबाट गोकर्ण विष्ट सदस्य रहेको कार्यदल बनाइएको छ भने एकीकृत पार्टीको विधान तयार गर्न माओवादी केन्द्रबाट वर्षमान पुन र एमालेबाट बेदुराम भुसाल रहेको अर्को कार्यदल गठन भएको छ । दुवै कार्यदलले फागुन २२ मा प्रतिवेदन बुझाउने माओवादी नेता गिरीराजमणि पोखरेलले जानकारी दिए ।
गत फागुन ८ गते दुई दलबीच एकीकरणका लागि ७ बुँदे प्रारम्भिक आधार तय भएपछि संगठनात्मक तथा विधान मस्यौदा कार्यदल र प्रतिवेदन कार्यदल गठन गरिएको थियो । यसअघि गठित संगठनात्मक र विधान मस्यौदा कार्यदलमा एमालेका ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे र विष्णु पौडेल छन् भने माओवादी केन्द्रका रामबहादुर थापा, गिरीराजमणि पोखरेल, जनार्दन शर्मा, मातृका यादव र वर्षमान पुन छन् । संगठनात्मक विधान मस्यौदा कार्यदलले संगठनलगायत पार्टी सञ्चालनका आधारभूत विषयमा टुंगो लगाएर यहि फागुन २५ भित्र मस्यौदा शीर्ष तहमा बुझाउनेछ । यस्तै पार्टी एकता प्रतिवेदन कार्यदलमा एमालेका माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त र सुवास नेम्वाङ रहेका छन् । माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल छन् ।

चैत पहिलो साता बाम एकता घोषणा : रावल
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले यही फागुन २५ गतेभित्रै एमाले–माओवादी केन्द्रबीचको एकतासम्बन्धी अन्तरिम विधान र राजनीतिक प्रतिवेदन टुंगो लगाउने र चैत पहिलो हप्ताभित्रै बृहत् एकता घोषणा गर्ने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा रावलले भने, “फागुन २५ गतेभित्रै हामी विधान र प्रतिवेदन टुंगो लगाउँछौं, त्यसपछि एकता घोषणा गर्छौं ।”
उनले एकता महाधिवेशन सकेसम्म एक वर्षभित्रै सम्पन्न गर्ने पनि जनाए । उनले भने, “दुई वटा अलग–अलग पार्टी एकताको प्रक्रियामा भएकोले हामीहरु दुवै कार्यदल अहिले आन्तरिक कार्यमा व्यस्त छौं । अन्तरिम विधान लेखन सुरु गरिसकेका छौं, राजनीतिक प्रतिवेदन पनि सँगसँगै अघि बढाइरहेका छौं ।”
विधान र प्रतिवेदन टुंगो लागेपछि एकता संयोजन समितिबाट अनुमोदन गर्ने र त्यसपछि दुवै पार्टीले आ–आफ्नो केन्द्रीय कमिटिबाट अनुमोदन गर्ने उनको भनाइ थियो । रावलले छिट्टै मन्त्रिमण्डलले पूर्णता पाउने पनि विश्वास दिलाए । आउने आइतबारसम्म उपेन्द्र यादवसहितको मन्त्रिमण्डल विस्तार हुने उनको भनाइ थियो ।
उनले भने, “हाम्रो चाहना भनेको अधिक राजनीतिक दलको सहभागिता होस् । यस्तो भयो भने राष्ट्रिय एकता बलियो हुन्छ । त्यसैले हामीले उपेन्द्रजीलाई सरकारमा सहभागी गराउन चाहेको हौं, तर उहाँ नभए सरकार विस्तार हुँदैन भन्ने कुरा होइन ।”
उनले अर्थमन्त्रीमा नियुक्त भएका डा. युवराज खतिवडा अर्थतन्त्रका ज्ञाता भएकोले समृद्धि हासिल गर्ने वर्तमान सरकारको उद्देश्यमा टेवा पुग्ने विश्वास दिलाए । उनले भने, “एमालेमा अरु योग्य नेताहरु नै नभएर उहाँलाई नियुक्त गरेको भने होइन, अरु नेताहरुले पनि विगतमा अर्थ मन्त्रालयको नेतृत्व गरिसक्नुभएको छ ।”
त्यस्तै उनले राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले कुनै टुंगो लागि नसकेको जिकिर गरे । रावलले भने, “राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले टुंगो लागेको छैन । स्थायी कमिटिमा पनि छलफल गर्छौं, माओवादी केन्द्रसँग पनि छलफल गर्छौं ।”

प्रतिक्रिया दिनुहोस्