वन विकासको बाधक होइन: मन्त्री ठकुरी
काठमाडौं- वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वन विकासको बाधक नभएको बताएका छन् । ‘जलवायु समानुकुलित भू–परिधि तथा सुधारिएको जीवकोपार्जनका लागि पहल’ सामाजिक, राजनीतिक परिवर्तन, आर्थिक अवसरहरु र जलवायु परिवर्तनको सन्दर्भमा सामुदायिक वनको अबको भूमिका विषयक राष्ट्रिय नीति सम्वाद काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले वन विकासको बाधक नभएको प्रष्ट पारेका हुन् ।
विकासमा वनबाट हुने बाधाहरु सबै फुकाउँदै लगिएको भन्दै आर्थिक विकासको लागि बाधक नभएर साधक बन्ने मन्त्री ठकुरीकाे भनाइ थियो । ‘हामीले वनको संरक्षण गर्दै देशको विकाससँग जोड्नुपर्छ । देशभर २३ हजार बढी सरोकारवाला निकायहरु सहभागी छन् । मन्त्री ठकुरीले भने, वनले हाम्रो गरिबीलाई समेत न्यूनिकारण गर्न सहयोग पुग्छ । कार्बन उत्सर्जन घटाउने र गरिबी निवारणमा वनले पर्याप्त भूमिका खेलेको छ । ४५ प्रतिशत नेपाल क्षेत्रफल वनको क्षेत्रफलले ढाकेको छ ।’
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा प्रा.डा.शिवराज अधिकारीले हिजोभन्दा आज सामुदायिक वनको भूमिका बढ्दै गएको बताए । समय परिस्थिति अनुसार वनमा विकासको मोडलमा परिवर्तन गर्नु पर्ने उनको भनाइ थियो । वनलाई आर्थिक महत्त्वको रुपमा विश्वव्यापी हेरिने गरेको उनले बताए ।
वनलाई आर्थिक लाभको रुपमा मात्र नभएर वनलाई जलवायु न्याय र वातावरण संरक्षणकर्ताको रुपमा पनि हेरिनु पर्ने उनको भनाइ थियो । उपाध्यक्ष अधिकारीले भने, ‘वनलाई आर्थिक रुपले मात्र हेरिने विषय होइन । वनको महत्त्व कति छ भन्ने कुरा थाहा पाउनु पर्छ । वन तथा वातावरण मन्त्रालयको समृद्धि वनको संरक्षण र दायित्वसँग जोडिएको छ ।’
संयुक्त राष्ट्र संघ खाद्य संगठन तथा नेपाल भुटान प्रतिनिधि केमिचो सिमिजुले लामो समयदेखि नेपाल र एफओ साझदारको रुपमा निरन्तर काम गर्दै आएको बताए । नेपालको उन्नति र प्रगतिका लागि नेपाल सरकार एफएओ नेपालसँगै सहकार्य गर्दै अगाडि बढ्ने अधिकारीकाे भनाइ थियो । सामाजिक, आर्थिक, वातावरणीय रुपमा वनको योगदान महत्त्वपूर्ण रहेको र सिमिचोले वनबाट उपलब्धीहरु प्राप्त गर्न समुदायलाई सम्वोधन गर्न अनुरोध समेत गरेका थिए । वहुआयामिक रुपमा समुदायको रुपान्तरणमा जोडदिन उनले आग्रह गरे ।
वन तथा वातावरण मन्त्रालयका सचिव दिपककुमार खरालले नीतिगत भएको सम्वाद कार्यक्रमले जलवायु परिवर्तन, जलवायु न्याय, कार्वन व्यापार, क्षति न्यूनिकरण गर्न महत्त्वपूर्ण सुझावहरु आउने बताए । सचिव खरालले नेपालको सामुदायिक वनको अभ्यासमा समुदायको योगदानलाई बिर्सनु नहुने बताए । उपयुक्त छलफलले भोलिका दिनमा नीतिगत रुपमा सुधार गर्न महत्त्वपूर्ण रहने उनले बताए ।
सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुरप्रसाद भण्डारीले सामुदायिक वन उपभोक्ता महासंघले राजनैतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महत्त्वपूर्ण भूमिका निभाएको बताए । भण्डारीले समाजवाद उन्मूख अर्थतन्त्रलाई पछ्याउदै वन क्षेत्र पनि अगाडि बढ्नु पर्ने बताए । वनलाई वनको व्यापारसँग मात्र नभई वनले वातावरणीय क्षेत्रमा पुर्याएको योगदानको पनि मूल्याङ्कन हुन जरुरी उनको भनाइ थियो ।
कृषि विकास मन्त्रालयका सह–सचिव मटिना जोशी वैद्यले कृषि र वनको सम्बन्ध एक अर्कासँग नजिक रहेको बताउँदै कृषि र वनको समृद्धि देशको समृद्धिसँग जोडिने भएकाले एकाआपसमा समन्वयले गरेर अगाडि बढ्नु पर्ने कुरामा जोड दिइन् । वैद्यले कृषि दिनप्रतिदिन खस्कदै गएको बताउँदै वनको सरोकारवाला निकायहरुसँग सामाजिक, आर्थिक रुपमा सहकार्य गर्दे कार्यक्रमहरु लागु गर्नु पर्ने बताइन् । उनले कृषि र वनको विषय सम्बन्धित फोरमहरुमा प्राथमिकताकासाथ उठाउन पर्ने र जलवायु अनुकुलनका लागि २० अर्ब लगानी आवश्यक रहेको बताइन् । सह सचिव वैद्यले कृषि मन्त्रालयले धेरै भन्दा धेरै जोखिम बेहोर्नु बताइन् ।