बाख्रा पालनमा रमाउँदै बस्नेत दम्पती

तेह्रथुम-मिहिनेत गरे गाउँमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिन सफल बनेका छन् छथर गाउँपालिका–१ आङदिमका लोकबहादुर बस्नेत र उनकी श्रीमती प्रेमकुमारी ।
बिहानीको झिसमिसे उजेलीसँगै झमक्कै साँझले उज्यालो नछोपुन्जेल बाख्राको स्याहारमै रमाइरहने यी दम्पती एक सफल व्यवसायीको रूपमा परिचय बनाउनसमेत सफल भएका छन् । व्यवसाय सुरु गरेपछि विभिन्न समयमा समस्या भए पनि निरन्तरताले नै सफल व्यवसायी बनेका हुन् । उमेरमा केही कमाउने जोसले विभिन्न विदेशी मुलुकमा पुगेका लोकबहादुर यतिबेला विदेशको भन्दा बाख्रा पालनबाट राम्रो आम्दानी लिँदै आएको बताए । बस्नेत बाख्रापालनबाट राम्रो आम्दानी हुने सोचका साथ ब्यवसाय सुरु गरेका थिए । २०७० सालमा उनले बाख्रापालन सुरु गरेका थिए । थोरै लगानीमा सुरु गरेको उनको ब्यवसाय सफल बन्नमा श्रीमती प्रेमकुमारीको ठूलो हात रहेको उनले बताए । सामान्य रूपमा बाख्रापालन सुरु गरेका बस्नेतको फर्ममा अहिले ४० वटा बाख्रा रहेको उनले बताए ।
व्यवसाय सुरु गर्न अघि घरखर्च चलाउन साहुकैमा पुग्नु उनका लागि कुनै नौलो कुरा थिएन । महंगो ब्याजमा लिएर घरखर्च चलाउनु उनको बाध्यता नै थियो । घरखर्च चलाएको ऋण तिर्नैका लागि पराइको भूमिमा पुगेका लोकबहादुरले सोचेजस्तो कमाइ गर्न सकेनन् । विदेशी भूमिमा गरेको मिहिनेतलाई आफ्नै गाउँमा व्यवसायमा खर्चेसँगै विदेशको भन्दा चौगुना आम्दानी लिँदै आएको बस्नेत बताउँछन । बस्नेतले ब्यवसायलाई अझ ब्यवस्थित बनाउने लक्ष्यका साथ सुशील बाख्रा फर्म नै दर्ता गरेर निरन्तरता दिँदै आएका छन् । पछिल्लो समय उनको फर्ममा बयरजातका पाठापाठी उत्पादन सुरु गरेका छन् । सामान्यतया बयरजातको पाठापाठी महंगो भए पनि आम्दानी राम्रो हुने भएकाले मासुकै दाममा बिक्री गर्दा पनि जापान अमेरिकामा हुने आम्दानी घरैमा बसेर लिन सकिने बस्नेतले बताए ।
३ छोरा र १ छोरी रहेका बस्नेत दम्पती गाउँमै नमुना ब्यवसायीका रूपमा परिचित बन्न थालेका छन् । बाख्रापालनबाट आएको आम्दानीले घरखर्च तथा बचत गर्दै आएको प्रेमकुमारीले बताइन् ।