पाँच वर्षसम्म सडक कालोपत्रेको काम अधुरै
पर्वत– तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण सुरु भएको बागलुङको एक सडक पाँच वर्षसम्म पनि अधुरै छ । निर्माण व्यवसायीले समयमै काम नगर्दा सडक कालोपत्रे हुन नसकेको हो । बागलुङको काठेखोला गाउँपालिकाको केन्द्रबाट वडा नम्बर ७ को रेशसम्म पुग्ने सडक कालोपत्रे गर्नका लागि ६ करोड ७१ लखमा ठेक्का सम्झौता भएको थियो । गाउँपालिकाले पहिलोपटक रेश जाने सडक कालोपत्रेका लागि २०७६ सालमा काम थाले पनि उक्त सडक अझै अधुरै रहेको हो ।
सम्झौताको पाँच वर्ष बित्दा पनि सडक कालोपत्रे हुन नसक्दा स्थानीयलाई यात्रा गर्न सास्ती भएको छ । २०७६ जेठ २६ गते तीन वर्षमा सक्नेगरी निर्माण व्यवसायीसँग सम्झौता भएको सडक चौथोपटक म्याद थप गर्दा पनि सम्पन्न हुनसकेको छैन । हाल उक्त सडकमा बनाइएको पूर्वाधार बिग्रन थालेको छ । उक्त सडकमा बिच्छयाइएको ग्राभेल बर्खाको पानीले बगाएको हो । उक्त सडकमा डेढ वर्षदेखि निर्माण व्यवसायी फर्केर नगएको काठेखोला –७ का वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए ।
संघीय सरकार र स्थानीय काठेखोला गाउँपालिकाको साझेदारीमा नौ करोड लागत अनुमान गरिएको सडक कालोपत्रेको ठेक्का ६ करोड ७१ लाखमा चार किमि सडक कालोपत्रेका लागि सम्झौता भएको थियो । उक्त सडक कालोपत्रेको जिम्मा पाएको निर्माण कम्पनीले सडक निर्माणमा चरम लापरबाही गरेको छ । ठेक्काको म्याद २०७९ जेठ २६ गते सकिएको निर्माण व्यवसायीले चौथोपटक म्याद थप गरेर आगामी चैतसम्मलाई पुर्याएको छ ।
काठेखोला गाउँपालिकाले आगामी चैतसम्म कालोपत्रे सक्नेगरी निर्माण व्यवसायीलाई निर्देशन गरेको गाउँपालिका अध्यक्ष राजु थापाले जानकारी दिए । सडक चौडा पार्ने र कालोपत्रेका लागि पूर्वाधार निर्माणतर्फ ६० प्रतिशत काम सकेर निर्माण व्यवसायी काममा नफर्किंदा समस्या भएको छ । कोरोना, भुक्तानीमा समस्या र कच्चा सामग्रीको अभावले काममा ढिला भएको निर्माण व्यवसायी प्रकाश आचार्यको दाबी छ । उनले केही समयमै सडक कालोपत्रे गर्ने दाबी गरेका छन् ।
सडकको सुरुवा एक्लेखेतमा पाँच करोड लागतमा मोटरेबल पुल निर्माण भएर बाह्रैमास सवारी चल्ने भए पनि सडक समयमै कालोपत्रे नहुँदा यात्रुलाई सास्ती भएको छ । अहिले रेश जाने सडक धुलाम्मे छ भने केही ठाउँमा बर्खामा खसेको पहिरो पन्छाउन बाँकी छ । बर्खामा भत्किएको सडक मर्मत गर्न निर्माण व्यवसायीले चासो नदिएको स्थानीयको भनाइ छ । उनीहरूले समयमै काम नगर्ने ठेकेदारसँग सम्झौता तोडेर नयाँलाई जिम्मेवारी दिनुपर्ने बताएका छन् ।