Logo

पर्यटकीयस्थल हम्पालमा पदमार्ग निर्माण सुरु

पर्वत– पर्वत जिल्लाको सबैभन्दा उच्च स्थानमा अवस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल हम्पालमा पदमार्ग निर्माण शुरु भएको छ । विश्वकै १० उत्कृष्ट पदमार्गमा सूचीकृत अन्नपूर्ण चक्रिय पदमार्गको वैकल्पिक गन्तव्यको रूपमा विकास भएको हम्पालमा पदमार्ग निर्माण गर्न थालिएको हो ।

गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा यस वर्ष झण्डै दुई किलोमिटर लामो पदमार्ग निर्माण गर्न थालिएको पर्वत–भमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष मनबहादुर खड्काले जानकारी दिए । उनका अनुसार गत महिनादेखि सुरु भएको पदमार्ग निर्माण कार्य ६ महिनाभित्र सम्पन्न हुनेछ ।

कास्कीको नयाँ पुलबाट पर्वतको मोदी गाउँपालिको ताङ्ले–भमरकोट–डाँडाकमेरे–माटे–जलजला–मोहोरेडाँडा–घोडेपानी जोड्ने पदमार्गअन्तर्गत माटेको लेकसम्म १६ किलोमिटर लामो पदमार्ग निर्माण भइसकेको छ । बाँकी रहेको क्षेत्रमध्ये यस वर्ष दुई किलोमिटर पदमार्ग निर्माण गरिने भएको हो । योसँगै थप एक किलोमिटर पदमार्ग निर्माण गर्न सकेमा जलजलासम्म सिधा पदमार्गले जोडिने खड्काले जानकारी दिए ।

पदमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ विनियोजन भएको छ । नयाँपुलदेखि पर्वतको मोदी र जलजला गाउँपालिका हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्ने नयाँ पदमार्ग तयार भएपछि पछिल्लो समय पर्यटकको आकर्षण बढ्दै गएको छ । माटेको लेकदेखि जलजलासम्म पदमार्ग नहुँदा पर्यटक घाँसे भीर र झाडीको बाटो पार गर्दै कष्टपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

अहिले निर्माण हुन लागेको पदमार्गले माटेको लेकदेखि हम्पालको वाईफाईडाँडासम्म जोडिने खड्काले बताए । विगत १३ वर्षअघि पहिचान भएको नयाँपुल–मोहरिया–ताङले–भमरकोट–फलाटे–डाँडाकेटेरी–थामाको डिल–हम्पाल–जलजला–कोखेडाँडा–मोहरेडाँडा–फूलबारी–पुनहिल हुँदै घोडेपानी जोड्ने पदमार्ग सञ्चालनमा आए पनि हम्पाल क्षेत्रमा व्यवस्थित पदमार्ग निर्माण कार्य बल्ल सुरु भएको स्थानीय होटल ब्यवसायी टिका पुनले जानकारी दिए ।

पदमार्ग निर्माण भएपछि राती वा दिउँसो जुनसुकै समयमा पनि पदयात्रा गर्न सहज हुने उनले बताए । पदमार्ग निर्माणपछि विद्युतीकरण समेत आवश्यक पर्ने उनको भनाइ छ । जलजला गाउँपालिका र मोदी गाउँपालिकाको सहयोगमा गत मंसिरमा जलजला र वाईफाईडाँडासम्म विद्युत सुविधासमेत विस्तार गरिसकिएको छ । अब पदमार्गमा समेत रातीको समयमा हिँडडुल गर्न मिल्नेगरी विद्युतीकरण गर्नुपर्ने आवश्यकता रहेको पुनले बताए ।

यो पदमार्गमा आश्रयस्थल र खानेबस्ने ठाउँको व्यवस्थापन भएपछि गत कात्तिकदेखि नियमित रूपमा सञ्चालनमा ल्याइएको हो पुनले भने, ‘कल्चर, नेचर र एडभेन्चर यो पदमार्गको आकर्षण हो ।’ मनोरम हिमश्रृङ्खला, सुन्दर जंगल, हावापानी, सूर्योदय र सूर्यास्त दृश्यावलोकन गर्नुका साथै तनाव व्यवस्थापनका लागि यो पदमार्ग निकै आकर्षक मानिएको छ । विसं २०६८ मा स्थापना भएको संस्थामार्फत् तत्कालीन जिल्ला विकास समिति, संघीयतापछि गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारको गरी हालसम्म एक करोड ६० लाख सहयोगमा नयाँ पुलबाट पर्वतको सबैभन्दा उच्च स्थानमा रहेको माटेसम्मको १६ किलोमिटर पदमार्ग निर्माण भएको हो ।

ढुंगाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको हो । साथै पदमार्गमा १० वटा विश्रामस्थल निर्माण भएको छ । यो पदमार्गले पर्वतको मोदी गाउँपालिकाको १, २, ३ र ५ नम्बर, जलजला गाउँपालिकाको ५ र ६ तथा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ६, ७ र ८ नम्बर वडालाई समेटेको छ । हिमाल, पहाडी भूगोल अवलोकन गर्दै यात्रा गर्न सकिने यो पदमार्गमा पर्ने लौसीबोट, भुक र ताङ्ले तथा लेसपार्कमा घरबास (होमस्टे) सञ्चालन भएको छ भने मगर, गुरुङ, दलित, क्षेत्री र ब्राह्मण समुदायको विविधतायुक्त संस्कार, संस्कृति, रहनसहन र जनजीवन यो पदमार्गको आकर्षण हो ।

दुई रात तीन दिनमा यात्रा गर्न सकिने यो पदमार्गमा पर्ने वनजंगलमा विभिन्न प्रजातिका जडिबुटी, वन पैदावर पाइनुका साथै मृगलगायत वन्यजन्तुको बसोबास छ । गाईभैँसीका घुम्ती गोठ पनि देख्न सकिन्छ भने धवलागिरि र अन्नपूर्ण रेञ्जका हिमाल अवलोकन गर्दै यात्रा गर्न पाइन्छ । पदमार्गमा पर्ने पर्वतको फलाटे, हम्पालस्थ्ति वाईफाईडाँडा र जलजलामा चिया पसल र रेस्टुराँ तथा सामुदायिक लज सञ्चालन भएका छन् ।

पूर्वजानकारी दिई आउने पर्यटकलाई पर्वत–भुमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिले घुमाउने व्यवस्था मिलाउँदै आएको छ । प्रदेश सरकारले पर्वतको हम्पाल, घोडेपानी नजिकै कास्की र म्याग्दीको सिमानामा पर्ने मुण्डेलाई पोखराको स्याटेलाइट गन्तव्य घोषणासमेत गरेको छ । सडकका कारण छोटिएको अन्नपूर्ण चक्रीय पदमार्गमा सहायक गन्तव्य पहिचान गरेर पर्यटकको बसाइ लम्ब्याउन सरकार तथा निजी क्षेत्रले सक्रियता देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्