Logo

भैरहवा सेजमा १५ करोडको ट्रान्सफर्मर जडान हुँदै

भैरहवा– भैरहवा सेजमा व्यवस्थित विद्युतका लागि सब–स्टेशन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपाल सरकारको पाइलट प्रोजेक्टका रूपमा रहेको भैरहवा विशेष आर्थिक क्षेत्रमा विद्युतको गतिलो प्रबन्ध नभएको भन्दै त्यहाँ उद्योग स्थापना गरेका र गर्न चाहनेहरूले बारम्बार गुनासो गर्दै आए पनि सब स्टेशन निर्माणको काम हुन सकेको थिएन ।

पछिल्लो समय विशेष आर्थिक क्षेत्र विकाश समितिले जारी गरेको बोलकबोल प्रक्रियामा काठमाडौंको नरेन्द्र निर्माण सेवाले निर्माणको टेण्डर पारेको थियो । नरेन्द्र निर्माणले करसहित कुल ३१ करोड ३३ लाख रुपैयाँमा निर्माणको जिम्मा पाएको थियो । सब स्टेशन भैरहवा विशेष आर्थिक क्षेत्र परिसरमै निर्माण भइरहेको छ । अहिलेसम्म कन्ट्रोल विल्ड्रिग, स्यू चार्ड निर्माण सम्पन्न भइसकेको छ ।

त्यसैगरी एम जडान, सिटीपिटी, डीआई जडानलगायतका काम सम्पन्न भइसकेको कार्यालयका सव इन्जिनियर दीपक चन्द्र भाटले बताए । भाटका अनुसार निर्माण कम्पनीले बुधबार राती मात्रै भारतबाट दुई थान ट्रान्सफर्मर आयात गरेको थियो । आयात गरिएका ट्रान्सफर्मर अहिले निर्माण स्थलमा आइसकेको र जडान कार्य सुरु हुने तरखरमा रहेको छ । दुई थान ट्रान्सफर्मरको मूल्य मात्रै १५ करोड रुपैयाँ रहेको छ ।

निर्माण कम्पनीका इलेक्ट्रिक इन्जिनियर शिवहरि अधिकारीले सबै सामानहरू आइपुगेको र अब क्रमश: जडान हुने बताए अधिकारीका अनुसार जडान भएको ट्रान्सफर्मर चार्ज हुन मात्रै कम्तीमा एक महिनासम्म लाग्छ । सबै उपकरण जडान र ट्रान्सफर्मर चार्जसमेतलाई हेर्दा माघ मसान्त भित्र कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ । भैरहवा सेजको सब स्टेशन ३३/११ केभिएको हुनेछ ।

सेजसम्म रोहिणी गाउँपालिकाको धकधई सब स्टेशनबाट राष्ट्रिय प्रसारणको बिद्युत भैरहवा सेजमा आउनेछ । विद्युत प्रवाहका लागि प्रसारण लाइन निर्माण पहिलानै भइसकेको नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण शाखाका प्रमुख सञ्जय कुमार मिश्राले बताए । अहिले भैरहवा सेजमा सञ्चालनमा रहेका ९ उद्योग तथा सेज कार्यालयले सिटी फिडरअन्तर्गतको विद्युत प्रयोग गर्दै आएका छन् ।

सिटी फिडरको विद्युत समय समयमा काटिने, ट्रिपिंग हुने, बजारमा विद्युत कटौती हुँदा सेजमा पनि विद्युत कटौती हुने जस्ता समस्या थिए । सेज भित्रै सब स्टेशन निर्माण र सञ्चालनपछि विद्युतको सबै समस्या हल हुने देखिएको छ । विद्युत राम्रो नभएको गुनासो व्यवसायीले गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्