Logo

डायलिसिस सेन्टरका ३१ प्रतिशत बिरामी प्रवासी कामदार

काठमाडौं– उपत्यकामा सञ्चालित दुई ठूला डायलिसिस सेन्टरका ६० जना बिरामीमध्ये ३१ प्रतिशत प्रवासी कामदार रहेको अध्ययनले देखाएको छ । ती सबै कामका लागि विदेश जानुअघि तन्दुरुस्त थिए । साथै तीमध्ये ५० प्रतिशत ४० वर्ष मुनिका युवा थिए ।

प्रवासबाट फर्किएका नेपाली श्रमिकहरुको स्वास्थ्य अवस्थाका सम्बन्धमा विभिन्न संस्थाहरुले गरेको अध्ययनले यस्तो तथ्य देखाएको हो । प्रतिकूल मौसम, अस्तव्यस्त बसोबास र अमर्यादित कामका कारण विशेषगरी खाडी मुलुक गएका कतिपय युवा आफूले कमाएको पैसाले उपचार खर्च नपुग्ने रोग लिएर फर्कने गरेका छन् ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा विदेश गएका फर्केका श्रमिकमा गम्भिर स्वास्थ्य समस्या बढ्दै गएको जनाइएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली युवाले अत्यन्तै अवस्थकर कार्यस्थलमा काम गर्नुपरेको र दुव्र्यवहार तथा श्रम शोषणमा परेको अध्ययनले देखाएको छ । श्रमिकहरु विभिन्न शारीरिक र मानसिक स्वास्थ्य समस्याबाट पीडित भएको प्रतिवेदनमा औंल्याइएको छ ।

जिफन्टका महासचिव जनक चौधरीले वैदेशिक रोजगारीबाट फर्कने केही श्रमिकमा गम्भिर स्वास्थ्य समस्या देखिएको जनाउँदै प्रस्थानपूर्व अभिमुखीकरणमा गुणस्तरीय चिकित्सा जाँच र गन्तव्य देशका लागि सुरक्षित रोजगारीको शर्त तथा पूर्ण स्वास्थ्य बीमा लागु गर्न आवश्यक रहेकोमा जोड दिए ।

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सुधारका लागि गठित अध्ययन कार्यदलको प्रतिवेदनले समेत जानुपूर्व गरिने स्वास्थ्य परीक्षणमा कैफियत देखाएको छ । विदेश जाने श्रमिकमा मृगौला रोगमात्र नभएर कारणबिनाको मृत्यु (नेचुरल डेथ) समेत देखिएको छ । कार्यदलका संयोजक एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ समिति अध्यक्ष डा. दिपेन्द्र रमण सिंहले वैदेशिक रोजगारीमा गएका र फर्केका श्रमिकलाई विभिन्न १० प्रकारका स्वास्थ्य समस्या रहेको जनाउँदै विभिन्न विषयमा सुधार गर्न सुझाव दिएका छन् ।

कार्यदलले श्रममन्त्री शरदसिंह भण्डारीलाई बुझाएको प्रतिवेदनमा समेत विदेशमा काम गर्ने धेरैजसो नेपाली श्रमिक सुतेको बेला मृत्यु (स्लिपिङ डेथ) हुने समस्या बढी रहेको उल्लेख छ । यसैगरी क्लिनरको रुपमा गएका महिलामा पाठेघरसम्बन्धी समस्या, ग्यास प्लान्टमा काम गर्ने कामदारमा प्रजनन् क्षमताको समस्या, इनडोर काम गर्नेलाई सुगरको समस्या रहेको प्रतिवेदनमा जनाइएको छ । यसैगरी निर्माण क्षेत्रमा काम गर्ने कामदारलाई उच्च मौसमी तातो र सुतेको बेला मृत्यु हुनेजस्ता समस्या देखा परेको उल्लेख छ ।

खासगरी खाडी मुकुक जानेहरुमा पानी नपिउने, पिसाब रोक्ने, एकै ठाउँमा धेरै जना बस्ने, बाहिर उच्च तापक्रममा काम गर्ने अनि बस्ने ठाउँको तापक्रममा धेरै फरक हुँदा मृगौलाले चाँडै काम गर्न छोड्ने समस्या बढ्दै गएको छ । सरकारको श्रम कूटनीति सबल बनाई वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणलाई समयसापेक्ष वैज्ञानिक र व्यवस्थित गर्नु आवश्यक रहेको सुझाव प्रतिवेदनले दिएको छ ।

वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका स्वास्थ्य समस्यामा मस्कुलोस्केलेटल डिसअर्डर, चोटपटक, तातोसम्बन्धी रोग, रासायनिक जोखिम, श्वासप्रश्वास, रक्त क्यान्सर आदि रहेका छन् । यसैगरी मानसिक स्वास्थ्य समस्यामा कार्य तनाव, चिन्ता, डिप्रेसन, सामाजिक अलगाव समेत रहेको पाइएको छ । संक्रामक रोगमा टीबी, कोभिड, ग्यास्ट्रोइन्टेस्टाइनल, यौन संक्रमण रहेको अभ्ययनले देखएको छ । यसैगरी नसर्ने रोगमा मुटु रोग, उच्च रक्तचाप, मधुमेह, मोटोपन रहेको देखिएको छ भने न्यूरोलोजिकल समस्यामा पार्किन्सन, अल्जाइमर, माइग्रेन, मांसपेशी कमजोर हुने आदि छन् । कार्डियोसँग सम्बन्धित उच्च रक्तचाप तथा मधुमेहसँग सम्बन्धित रोग देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्