भ्रमण वर्ष २०२० को सफलता «

भ्रमण वर्ष २०२० को सफलता

नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाउन औपचारिक रूपमा उद्घाटन पनि गरिसकेको छ । अंग्रेजी नयाँ वर्षको पहिलो दिन राष्ट्रपति भण्डारीले दीप प्रज्वलन गरेर भ्रमण वर्षको शुभारम्भ गर्नुभएको हो । पर्यटनलाई अर्थतन्त्रको प्रमुख आधार बनाउने लक्ष्यसहित सरकारले दशरथ रंगशालासहित सातै प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गरेको हो । उद्घाटन समारोहमा प्रकृतिलाई बिगारेर र मासेर होइन, सिंगारेर र साँचेर पर्यटन उद्योग तथा आर्थिक विकासका अभियान सञ्चालन गरिनुपर्ने कुरामा राष्ट्रपतिले जोड दिनुभएको छ । पर्यटनमा प्रकृति, सौन्दर्य, आर्थिक समृद्धिको अन्तरसम्बन्ध रहेको पाइन्छ ।
नेपालले यस प्रकारको महान् उत्सवको आयोजन यस पहिले पनि दुईपल्ट गरिसकेको छ । सन् १९९८ र सन् २०११ मा पनि नेपालले नेपाल भ्रमण वर्ष मनाइसकेको थियो । सन् १९९८ मा ५ लाख पर्यटकले नेपाल भ्रमण गर्ने लक्ष्य लिएकोमा ४ लाख ६३ हजार ६ सय ७४ ले नेपाल भ्रमण गरेका थिए । त्यस्तै, सन् २०११ मा १० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखिएकोमा ७ लाख ३६ हजार २१५ पर्यटक नेपाल भ्रमणमा आएका थिए । त्यतिबेलाको नारा टुगेदर फर टुरिजम थियो । नेपालमा व्यवस्थित रूपमा पर्यटनको सुरुवात भएको धेरै भएको छैन । त्यसो त नेपालको पर्यटन आगमनको इतिहास ६९ वर्ष पुरानो छ । नेपाल विदेशी पर्यटकका लागि औपचारिक रूपमा आगमनका लागि खुला गरिएको सन् १९५० देखि नै हो ।
तर कुनै पनि कार्यक्रमलाई सफल बनाउनका लागि त्यसको व्यापक प्रचारप्रसार गर्नुपर्छ । त्यसो गर्न सकेमात्र कुनै पनि कार्यक्रमले सफलता र सार्थकता प्राप्त गर्छ । गएको जुन र जुलाईमा बेलायतमा आयोजना गरिएको आईसीसी विश्वकप क्रिकेटदेखि यूएईमा रहेको सबैभन्दा ठूलो भवन बुर्जुखलिफासमेत भ्रमण वर्ष २०२० सफल बनाउन प्रयोग गरिएको छ । गएको संविधान दिवसका दिन नै बुर्जुखलिफामा नेपालको राष्ट्रिय झन्डा लाइटिङ गरिएको थियो ।
काठमाडौंस्थित रङ्गशालामा उद्घाटनका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ वर्ष २०२० को उज्यालो बिहानी र आरम्भसँगै नयाँ आशा, उत्साह, ऊर्जा र अपेक्षाका साथ नेपाल भ्रमण वर्ष २०२० को आरम्भ भएको बताउनुभएको छ । सरकारले यस वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । सन् २०१९ मा १२ लाख हाराहारीमा पर्यटक नेपाल आएका थिए ।
सन् १९५३ मई २९ मा नेपालका तेन्जिङ शेर्पा र न्यूजिल्यान्डका एडमनड हिलारीले सर्वप्रथम सगरमाथामा विजय प्राप्त गरेपछि नेपालको नाम नै विश्वमा फैलियो र त्यसपछि नै नेपाल सबैका लागि एउटा गन्तव्य बन्न पुग्यो । त्यसपछि नेपाली हिमाल र हिमशिखरको वर्णन विश्वभरि नै फैलियो । यहाँको प्रकृति, संस्कृतिका बारेमा विश्वभरिका मानिसको आकर्षणमात्र बढेन कि संसारका कुनाकाप्चाबाट थुप्रै विदेशी पर्यटक नेपाल भित्रिने क्रम पनि तीव्र रूपमा बढ्दै गयो ।
नेपालमा पर्यटन व्ययसायको विराट सम्भावना भएर पनि भनेजति पर्यटक नेपाल भित्र्याउन सकिएको छैन । समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्नका लागि यो महाअभियान सुरु भएको कुरा मन्त्री भट्टराईले बताउनुभएको छ । मन्त्री भट्टराईका अनुसार सन् २०२० देखि २०३० लाई पर्यटन दशकका रूपमा सञ्चालन गर्ने सरकारको योजना छ । हाल पर्यटनबाट नेपालको कुल गार्हस्थ उत्पादनमा करिब ३ प्रतिशत योगदान छ । सरकारले १५ औँ पञ्चवर्षीय योजना समाप्त हुँदा त्यो १० प्रतिशतमा पु-याउने लक्ष्य राखेको छ । नेपालमा आउने पर्यटकको संख्या प्रतिवर्ष बढे पनि उनीहरूले गर्ने खर्च र उनीहरूको बसाइ अवधि लम्बिन सकेको छैन ।
यहाँ आउने पर्यटक छिट्टै फर्कन बाध्य भएका कारण आशातीत प्रगति हुन नसकेको हो । फेरि तत्कालीन अवस्थामा नेपालमा स्थिर राजनीतिक अवस्था नभएका कारण पनि यसपूर्वका भ्रमण वर्षहरू सोचेजति प्रभावकारी हुन नसकेका हुन् । त्यसैले भ्रमण वर्ष केवल सरकारको मात्र होइन, यो त नेपाल र सबै नेपालीको प्रतिष्ठाको विषय समेत हो । सरकारले भ्रमण वर्ष सफल बनाउन सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाहरूसँग पनि सहकार्य गर्दै अगाडि बढेको छ । विभिन्न देशमा विभिन्न तहमा भ्रमण वर्ष सफल बनाउनका लागि कार्यक्रमहरु सुरु गरिएका छन् । स्वदेश तथा विदेशका विभिन्न सञ्चारमाध्यममा पनि भ्रमण वर्षको प्रवद्र्धनमा सहकार्य भइसकेको छ ।
नेपाल भ्रमण वर्ष सफल पार्न तीनै तहका सरकार सक्रिय रुपमा लागिपरेका छन् । भ्रमण वर्ष सफल बनाउन मुलुकका समग्र पर्यटकीय गन्तव्यलाई विश्व बजारका चिनाउने अभियान टड्कारो रूपमा सञ्चालन गर्नु आवश्यक देखिन्छ । पर्यटन क्षेत्रको विश्वव्यापीकरणका लागि सूचना प्रवाह गर्न विद्युतीय माध्यमका साथै फोटो, श्रव्यदृश्य सामग्री महत्वपूृर्ण हुने हुँदा त्यसमा जोड दिनुपर्ने देखिन्छ । पर्यटन आगमनको सङ्ख्या वृद्धि गर्नका लागि पर्यटन क्षेत्रमा लगानी बढाउनु अर्को महत्वपूर्ण विषय हो, जसका लागि तीनै तहका सरकारले भौतिक पूर्वाधार विकास, नयाँ गन्तव्यको पहिचान, प्रचार प्रसारजस्ता कार्यक्रमलाई प्राथमिकता दिनु आवश्यक छ ।
स्थानीय ठाउँमा अझै कैयन् पर्यटकीय सम्पदा ओझेलमा परेमा छन् जसलाई प्रचारप्रसार गर्नु आवश्यक छ । त्यस्ता पर्यटकीय स्थलको उचित प्रचारप्रसार गरी अनि देशका विमानस्थललाई तत्कालै आवश्यक सुधार गर्नु पर्ने देखिन्छ । त्यसैगरी यातायात, सुरक्षा, सूचना प्रविधिको उचित व्यवस्थापन गर्दै आवासका लागि विभिन्न प्रकारका होटेलको व्यवस्था गर्ने हो भने पक्कै पनि भ्रमण वर्ष सार्थक र सान्दर्भिक हुनेछ । पूर्वाधार विकासविना पर्यटन व्यवसाय सम्भव हुँदैन । त्यसैले नेपालको पर्यटन प्रवद्र्धनको मुख्य समस्या वा चुनौती भै पूर्वाधार विकास नै हो । पूर्वाधारको तयारी र उचित व्यवस्थापन भएमा मात्र पर्यटन व्यवसायले स्पष्ट गति लिन्छ, नत्र कागजमा मात्र योजना बनाउने हो भने विदेशी पर्यटकका लागि भ्रमण वर्ष भ्रम वर्ष नहोला भन्न सकिन्न ।
—देवेन्द्र अर्याल ‘आँसु’

प्रतिक्रिया दिनुहोस्