Logo

लक्ष्मी सनराइज बैंकको वृक्षरोपण

काठमाडौं– डा. जेन गुडालको नेतृत्वमा लक्ष्मी सनराइज बैंकले ‘नेटिभ पकेट वृक्षरोपण’ कार्यक्रम सम्पन्न गरेको छ ।

वातावरणीय दिगो विकास तथा स्थानीय जैविक विविधता सुधारको लागि प्रेरणादायी प्रयास स्वरूप जेन गुडाल इन्स्टिच्युट नेपाल, लक्ष्मी सनराइज बैंक, टिका विद्याश्रम उच्च माध्यमिक विद्यालय र ‘रेभोल्युसन प्रोजेक्ट’ को सहकार्यमा काठमाडौंको टिका विद्याश्रम उच्च माध्यमिक विद्यालयमा २५० वटा रुखको ‘नेटिभ पकेट वन’ बनाउने उद्देश्यले वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

विश्व प्रसिद्ध एथोलोजिस्ट तथा वातावरणविध डा. जेन गुडालले स्वयं यस कार्यक्रममा उपस्थिति जनाउँदै रुखप्रति आफ्नो सम्मान व्यक्त गर्दै वातावरणीय शिक्षा र दिगो विकासमा यस पहलको योगदानको प्रशंसा गरे । उनले बैंकको वातावरणीय संरक्षणको प्रतिवद्धता र विभिन्न अभ्यासको सराहना गरे ।

२५० वटा रुखको नेटिभ पकेट वनको वृक्षारोपण ‘मियावाकी प्रविधि’ बाट गरिएको हो । यस प्रविधिले छोटो समयमा घना वन सिर्जना गर्दछ । यस प्रविधिले जैविक विविधता बढाउने मात्र नभएर एक दिगो हरित उद्यानको सिर्जना पनि गर्दछ जसले स्थानीय पर्यावरणलाई फाइदा पुर्‍याउनुका साथै विद्यार्थी तथा स्थानीयको प्रकृतिसँग दीर्घकालीन सम्बन्ध प्रोत्साहन गर्दछ ।

लक्ष्मी सनराइजको आर्थिक सहयोग रहेको सो वृक्षरोपण पहलको नेतृत्व रेवोल्युसन प्रोजेक्टका विज्ञहरूद्वारा भएको थियो । यो पहल बैंकको गत महिना सम्पन्न नवौं आमन्त्रण गल्फ प्रतियोगितामा गरिएको ‘१००० वटा रुख रोप्ने प्रतिबद्वता’ को एक पाटो पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्