नाम्दु सबस्टेसन चार्जसँगै विद्युतीय समस्या समाधान हुने
दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका–६ नाम्दुमा निर्माण गरिएको ३३/११ केभी नाम्दु सबस्टेसन चार्ज भएको छ । निर्माण सम्पन्न भएर पनि स्थानीयको जग्गा विवाद र निर्माण कम्पनीको प्राविधिक समस्याका कारण डेढ वर्षदेखि सञ्चालनमा आउन नसकेको उक्त सबस्टेसन अहिले सञ्चालनमा आएको छ । स्थानीय जनप्रतिनिधि समेतको पहलमा जग्गा विवाद टुंगोमा लागेपछि सबस्टेसन चार्ज भएको हो । ३३/११ केभी सबस्टेसन चार्ज भएसँगै उक्त सबस्टेसनबाट एक हप्ता अघिबाट विद्युत वितरण सुरु भएको छ ।
यो सबस्टेसनबाट वैतेश्वर गाउँपालिका र गौरीशंकर गाउँपालिका वडा नं. १ र २ मा विद्युत वितरण गरिएको छ । यसअघि यस क्षेत्रमा जिरी सबस्टेसनबाट विद्युत वितरण हुँदै आएको थियो । ठूलो भौगोलिक क्षेत्र र धेरै ग्राहक भएका कारण जिरी सबस्टेसनबाट क्षमताभन्दा बढी लोड लिंला वैतेश्वर र गौरीशंकर गाउँपालिका क्षेत्रमा पटक पटक विद्युत सेवा अवरुद्ध हुने समस्या थियो । नाम्दुको सबस्टेसन चार्ज भएसँगै अब यी क्षेत्रमा विद्युतको गुणस्तरीयता राम्रो हुने नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्र प्रमुख नेत्रमणि न्यौपानेले जानकारी दिए ।
नाम्दुको सबस्टेसन सञ्चालनमा आएसँगै दोलखामा वितरण सबस्टेसनको संख्या पाँच पुगेको छ । यसअघि मकैबारी, जिरी, सिंगटी, किर्ने सबस्टेसन सञ्चालनमा आइसकेका छन् । शैलुङ गाउँपालिकाका केही वडामा सिन्धुपाल्चोकको मुडे सबस्टेसनबाट विद्युत वितरण हुन्छ । स्थानीयस्तरमा विद्युत वितरणका लागि दोलखामा लामोसाँघु, किर्ने, सिंगटी र गर्जाङको १३२ केभी सबस्टेसनबाट विद्युत प्रवाह हुन्छ । यी सबै १३२ सबस्टेसन नजिक जलविद्युत केन्द्र रहेका कारण पनि विद्युत प्रवाहमा सहज भएको वितरण केन्द्र प्रमुख न्यौपानेले बताए ।
एउटा जिल्लाका लागि चार तिरबाट विद्युत लिन मिल्ने भएकाले अब दोलखाको विद्युतका धेरै समस्या समाधान हुने र देशकै सबैभन्दा गुणस्तरीय विद्युत सेवा दोलखामै भएको उनले दाबी गरे । ४१ हजार ९९० घरधुरीमा विद्युत सेवा पुगेको छ । विगू गाउँपालिका–१ लप्ची गाउँका २० घरबाहेक सबै घरमा विद्युत सेवा पुगेको छ । दुर्गम ना गाउँमा सोलार प्लान्ट निर्माण भएपछि अब लप्चीमात्रै विद्युत सेवा पुग्न बाँकी गाउँमा पर्छ ।
आठ करोडमा तयार भयो सबस्टेसन
सबस्टेसन ग्रीड सोलार एण्ड इनर्जी आयोजनाले प्याकेज नौअन्तर्गत आठ करोड लागतमा वैतेश्वर गाउँपालिकाको नाम्दुमा सबस्टेसन निर्माण गरिएको आयोजना प्रमुख संगीता कार्कीले जानकारी दिइन् । ग्रीड सोलार एण्ड इनर्जीले नाम्दु सबस्टेसनसहित बागमती प्रदेशमा १३ वटा सबस्टेसन निर्माण गरेको उनले बताइन् ।
३३/११ केभीलाई लुप आउट गरेर वैतेश्वर क्षेत्रमा सुरक्षित विद्युत प्रवाहका लागि ३३ केभीलाई नाम्दु भिरामुनि डाँडाघरबाट आवश्यक पोल गाडेर वैतेश्वर जिरी प्रसारण ३३ र ११ केभीलाई लुपआउट गरेर नाम्दु सबस्टेसन लगिएको दोलखा वितरण केन्द्रका कार्यालय प्रमुख नेत्रमणि न्यौपानेले बताए । ग्रीड सोलार एण्ड इनर्जी आयोजनाले २०७८ मंसिरमा ठेक्का लगाएर सबस्टेसनको निर्माण सुरु गरेको थियो । सबस्टेसन उद्घाटनपछि वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले अब विद्युत सेवा भरपर्दो हुने विश्वास गरे ।