Logo

शिवगंगा पुलमा पप्पु र एड्भेन्चरको लापरबाही

आठ वर्षसम्म फाउण्डेसन नै बनेन

धनगढी– कैलालीको धार्मिक पर्यटकीयस्थल बेहडा बाबा जाने बाटोमा पर्ने शिवगंगा नदीमा पुल बनाउन ठेक्का लगाएको आठ वर्षदेखि अलपत्र छ । धनगढी–१७ पथरीमा पर्ने सो पुल बनाउन ठेक्का लिएको पप्पु एड्भेन्चर जेभीले आठ वर्षदेखि पुल निर्माणको योजना अलपत्र पारेको हो ।

सडक डिविजन कार्यालय महेन्द्रनगर र पप्पु एड्भेन्चर जेभीबीच २०७४ असार ३ गते तीन वर्षमा काम सक्ने गरी १४ करोड २६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । तर सो जेभीले मोभिलाइजेसन रकम लिएर लगिसकेपछि काम नै गरेको छैन । यो आठ वर्षमा को फाउण्डेसनसमेत बनाएको छैन । तर, पुलको डिजाइनभन्दा फरक स्पान बनाएपछि सडक डिभिजन कार्यालय महेन्द्रनगरले भेरिफिकेसन गराएरमात्रै थप काम गर्न सो जेभीलाई पत्राचार गरेको थियो ।

तर एड्भेन्चरले भेरिफिकेसन गराउनभन्दा डिभिजन कार्यालयबाट भुक्तानी लिनमात्रै ध्यान दियो । जसको परिणाम, हालसम्म स्पानका फाउण्डेसन भेरिफिकेसन भइसकेको छैन । शिवगंगामा पुल बनाउने योजना अलपत्र छ । तर जेभीले ठेक्काको २२ प्रतिशत रकम (तीन कारोड १३ लाख रुपैयाँं) सुरुमै भुक्तानी लिइसकेको छ । डिजाइनअनुसार स्पानको फाउण्डेसन नबनाएको एड्भेन्चरले यही कात्तिक महिनाको मध्यबाट बालुवामा पुरिएका फाउण्डेसन निकाल्ने काम गरिरहेको डिभिजन कार्यालयका प्रमुख राजेशकुमार यादवले बताए ।

‘उहाँहरूले पुरिएको फाउण्डेसन निकाली सकेपछि ल्याबमा गुणस्तर परीक्षण हुन्छ,’ उनले भने, ‘ल्याबको प्रतिवेदन अनुसार काम अगाडि बढ्छ । अहिले उहाँहरू काम गर्ने भनेर सम्पर्कमा आउनु भएको छ । पुल निर्माणको काम हुन्छ । एड्भेन्चरले यो काम गर्ने पर्छ । एड्भेन्चरले नगरे जेभीमा रहेको अर्को कन्ट्रयाक्टरले भए पनि काम गर्नैपर्छ ।’ सोही वर्ष सडक डिभिजन कार्यालय महेन्द्रनगरले सोही सडकमा पर्ने खुटिया नदीमा समेत पुल बनाउने ठेक्का लगाएको थियो । खुटिया नदीमा पनि तीन वर्षमै पुल निर्माण गरिसक्ने गरी ठेक्का लागेको थियो । खुटियामा चार वर्ष लगाएर पुल निर्माण भइसकेको पनि चार वर्ष भइसकेको छ ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकार इन्जिनियर हरिषप्रसाद जोशीले सडक निर्माणका लागि बजेटलगायत सबै व्यवस्था भए पनि निर्माण कम्पनीको लापरबाहीले काम नभएको बताए । धनगढी उपमहानगर–१७ का वडाध्यक्ष माधवराज रानाले पनि निर्माण कम्पनी र सरकारी कार्यालयको कमजोरीले गर्दा पुल निर्माणको योजना अलपत्र परेको बताए । उनले सँगै ठेक्का लगाएको खुटिया पुल बनिसक्दा पनि शिवगंगामा काम नै सुरु नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्नुपर्नेमा ठेक्का लगाउने सरकारी कार्यालयले काम गर्न नसकेको बताए ।

शिवगंगा पुलले धनगढीको वडा नम्बर १७ को पथरी र धुरझन्ना गाउँलाई धनगढी वडा नम्बर १५ को रामपुर र प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बेहडा बाबालाई जोड्छ । पुल नबनेको कारण स्थानीय बासिन्दाको दैनिक जीवन कठिन हुनुका साथै बर्खामा निकै जोखिमपूर्ण यात्रा गर्नु परेको वडाध्यक्ष रानाले बताए । ‘पुल नहुँदा दिनहुँ आउजाउ गर्न असहज छ,’ उनले भने, ‘बर्खाको बेला डन्लपमा राखेर नदी तार्नु पर्ने बाध्यता हुन्छ । डन्लपमा नदी तार्दा नागरिकले महंगो शुल्क तिर्नुपर्ने र जोखिम पनि बढी छ ।’ हिउँदमा वडा कार्यालयले काठे साँघु हालिदिए पनि हरेक वर्ष बर्खाले बगाइदिने गरेको छ । हरेक वर्ष हिउँदमा काठे साँघु हाल्न परेको वडाध्यक्ष रानाले बताए ।

मानिस, मोटरसाइकल र अटोरिक्सा काठे साँघुबाट हिड्ने व्यवस्था भए भए पनि र गाडीहरू पानीबाटै वारपार गराउनुपर्ने बाध्यता रहेको वडा सदस्य रामबहादुर चौधरीले बताए । उनले दिनहुँ जंगलमा भेडाबाख्रा, गाईभैंसी चराउन जान पनि कठीन रहेको बताए । धनगढीको क्याम्पस गेट, जोखर तालदेखि पथरी, बेहडा बाबा, रामपुर हुँदै चौमालासम्मको सो सडक नेपाल सरकारको प्राथमिकता प्राप्त धार्मिक र कृषि सडक हो । पुल नबनेकै कारण सो सडक कालोपत्रे गर्ने योजनामा समेत बाधा पुगेको वडाध्यक्ष रानाले बताए । उनले धनगढीदेख पथरीसम्म सो सडक कालोपत्रे भइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्