कर्णालीमा घट्यो धान उत्पादन
जुम्ला– कर्णालीमा धान उत्पादन घटेको छ । सिँचाइ अभाव र युवा पलायनले जमिन बाँझो रहेपछि धान उत्पादन घटेको हो । सरकारी तथ्यांकनुसार कर्णालीमा अझै ८२ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन । पर्याप्त सिँचाइ सुविधा नपुग्नु, ठोस नीति नबन्नु, काला पहाड तथा तेस्रो मुलुकमा जाने युवाको संख्या बढ्नु र खेतीयोग्य जमिनमा धमाधम घर भवन निर्माण हुनु जस्ता कारणले धानसहित अन्य कृषि वस्तुको उत्पादन घटेको हो ।
परम्परागत खेती प्रणाली, मल तथा उन्नत बीउ विजनको अभावले कर्णालीमा कृषि उत्पादन घटेको कृषि अधिकृत लक्षिराम महत बताउँछन् । कर्णालीका सुर्खेत, दैलेख र सल्यान बाहेक ७ जिल्लामा बर्सेनि खाद्यान्न अभाव हुने हुने गरेको छ । उनले भने,‘आयातित सेतो चामलमा स्थानीय बढी निर्भर छन् । सिँचाइ अभावले खेत बाँझो मात्र भएका छैनन् । सिँचाइ सुविधासमेत पुगेका जमिनमा धमाधम कंक्रिट संरचना बनेका छन् । जसका कारण उत्पादन घट्दै गएको छ ।’
जुम्लाको हकमा २०७९ सालको असोज १९ देखि २५ सम्म भएको अविरल वर्षापछि आएको बाढीले कृषि क्षेत्रमा ठूलो क्षति गरेको थियो । उक्त बाढीले जुम्लाको १८ सय हेक्टर मार्सिधान फल्ने खेतहरू बगरमा परिणत भएका छन् । बालुवा भरिएर बगर बनेका खेतहरू अझै पुरानै अवस्थामा पुग्न सकेका छैनन् । जसका कारण पछिल्ला वर्षमा निरन्तर धान उत्पादन घट्दै गएको छ । जुम्लामै पहिलो मार्सी धानको खेती भएको तातोपानी गाउँपालिका स्थित लाछु ज्युलोमा भरिएको बालुवा अझै निकालिएको छैन् ।
बाढीले भत्केका कुला निर्माण नहुँदा र बालुवा ननिकाल्दा उत्पादन घटेको किसान धनबहादुर बुढाले बताए । उनी भन्छन,‘ सिँचाइ पर्याप्त छैन । धेरै किसानका खेतहरू बालुवा भरिएर कित्ता काँट गर्नु पर्ने अवस्था छ । समयमै पानी पर्दैन् । अधिकांश मार्सी फाँट नदी आसपास छन् । धानको उत्पादन बढाउन स्थानीय तहले ठूलो लगानीका तटबन्ध निर्माणमा ध्यान दिन जरुरी छ ।’ सडक निर्माणमा मात्रै प्राथमिकता दिएका स्थानीय तहले कृषि क्षेत्रमा खासै ध्यान दिएका छैनन् ।
स्याउ, ओखर, सिमि, कोदो, फापरलगायतका अन्न फैलिने जुम्लामा उत्पादन वृद्धि र बजारीकरणमा समेत स्थानीय तहले चासो दिनु पर्नेका किसान दत्त बुढाको भनाइ छ । कर्णालीमा कुल २ लाख ९९ हजार ३३९ हेक्टर क्षेत्रफल जमिन खेतीयोग्य छ । २ लाख १६ हजार ८८० हेक्टर क्षेत्रफल जमिनमा मात्रै खेती गर्ने गरिएको छ । त्यसमा पनि ४५ हजार ४६८ हेक्टर क्षेत्रफल जमिनमा मात्र धान खेती भइरहेको छ ।
कर्णाली प्रदेशमा चालु आवमा गत आवको तुलनामा धान उत्पादन घटेको छ । यस वर्ष कर्णालीका १० वटै जिल्लामा गरी कुल एक लाख २३ हजार ७९५ टन धान उत्पादन भएको छ । जबकी गत आर्थिक वर्ष २०८०/८१ मा कर्णालीमा एक लाख २४ हजार ९ सय ६९ टन धान उत्पादन भएको थियो । जसमा चालु आवमा १ हजार १ सय ७४ टनले उत्पादन घटेको प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकमा उल्लेख छ । कर्णालीमा वार्षिक २३ हजार टन खाद्यान्न अभाव हुँदैं आएको छ ।
कृषि उत्पादनको प्रचुर सम्भावना भए पनि नीति र लगानी अभावले बर्सेनि खाद्यान्न अभाव हुने र परनिर्भरता बढ्ने समस्या विद्यमान छ । यद्यपि हाल प्रदेशको ३९ हजार ७६३ हेक्टर जमिनमा धान खेती भइरहेको छ । कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतमा सबै भन्दा बढी धान उत्पादन भएको छ । सुर्खेतमा सबैभन्दा बढी ५२ हजार ९ सय ४ टन धान उत्पादन भएको मन्त्रालयको तथ्यांक छ । सबैभन्दा कम हुम्लामा एक हजार ३६ टन धान उत्पादन भएको तथ्यांकमा उल्लेख छ । त्यस्तै, दैलेखमा २५ हजार १ सय २० र सल्यानमा २३ हजार ६ सय ३० टन धान उत्पादन भएको छ ।
जाजरकोटमा ८ हजार ७ सय ५० टन धान उत्पादन हुँदा मार्सीधानको जिल्ला भनेर चिनिने जुम्लामा भने ६ हजार २ सय ९५ टन धान उत्पादन भएको छ । कालिकोटमा ५ हजार ५ सय, रुकुम पश्चिममा ५ हजार ४ सय ८५ टन धान उत्पादन भएको कृषिमन्त्रालयको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार डोल्पा र हुम्लामा धान उत्पादकत्व निकै कम देखिएको छ । डोल्पामा १९९ हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा ३५० मेट्रिक टन धान उत्पादन भएको छ । ५८५ हेक्टर क्षेत्रफलमा खेती भएको मुगुमा ९७५ मेट्रिक टन उत्पादन भएको छ ।