Logo

पुस अन्तिमबाट फ्लाइ दुबईको पुन: भैरहवा उडान

भैरहवा– पुस २९ बाट फ्लाइ दुबईले पुन: भैरहवा उडान सुरु गर्ने भएको छ । मौसमका कारण मंसिर ३० देखि उक्त उडान रोकिएको थियो । दुबई–भैरहवा–काठमाडौं दैनिक उडान गर्दै आएको फ्लाइ दुबईले मौसमका कारण उडान रोकेपछि अहिलेसम्म सञ्चालनम आउन सकेको छैन । पुस अन्तिमबाट पुन: नियमित उडान गर्ने फ्लाइ दुबईको नेपालको जिएसए युनिभर्सल टुर्स एण्ड ट्राभलको सेल्स प्रमुख नवराज शाहीले बताए ।

‘बजारमा हल्ला आए जस्तो उडान नै बन्द गरेको होइन, मौसमको कारणले मात्रै हो’ उनले भने । दुबईबाट भैरहवा ओर्लने यात्रु राम्रै रहेको र दुबई जाने यात्रुहरू पनि बढ्दै गएको शाहीको भनाइ छ । अहिले मौसममा खराबी हुँदा यहाँको विमानस्थल खुलेपछि मात्र दुबईबाट जहाज उड्ने हुँदा अन्य तालिकाका उडानसमेत प्रभावित भएको उनको भनाइ छ । मौसम खराब हुँदा काठमाडौं डाइभर्ट गर्नु पर्ने, भैरहवाकै आकाशमा चक्कर लगाइराख्नु पर्ने बाध्यता थियो ।

आगामी माघ १० पछि भूउपग्रहमा आधारित आरएनपी एआर प्रविधिमार्फत उडान अवतरण हुने सम्भावना देखिएको छ । यो प्रविधि सुरु भएपछि उडान अवतरणमा सहज हुने विश्वास शाहीको छ । पछिल्लो समय हिउँदमा प्रतिकुल मौसमका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान तथा अवतरण प्रभावित भइरहेको छ । कम प्रकाशमा पनि उडान र अवतरण गर्न सक्ने प्रविधि इन्स्ट्रमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) जडान भए पनि प्राविधिक कारणले सञ्चालनमा आउन सकेको छैन ।

आइएलएस प्रविधि प्रयोगमा नआएपछि त्यसको विकल्पमा भूउपग्रहमा आधारित प्रविधि आरएनपीएआर माघ १० बाट प्रयोगमा ल्याउने तयारी नागरिक उडड्यन प्राधिकरणले गरेको छ । मौसमकै कारण जजिरा एयरवेजले डिसेम्बर १३ देखि कुबेत – भैरहवा–कुवेतको उडान माघ पहिलो सातासम्मका लागि रोकेको छ । जजिराले माघ १० बाट उडान सुचारु गर्ने बताएको छ । कतार एयरले भने तालिका अनुसार उडान गरी अहिले उडान रोकेको छ ।

एयर एशियाले साप्ताहिक उडान बैंकक–भैरहवा–बैंकक गरिरहेको छ । एयर एशियाको तालिका अब डिसेम्बर २६ र जनवरी २ मा रहेको छ । एयर एशियाका लागि नेपाल जिएसए युनिभर्सलका प्रतिनिधि सागर चित्रकारका अनुसार बैंकक–भैरहवा सेक्टरमा यात्रु दुवैतर्फ विस्तारै बढ्दै गएको बताएका छन् । नेपाल एयरलाइन्सको काठमाडौं–भैरहवा साताको चार उडान पनि निरन्तर भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उडड्यन प्राधिकरणको कार्यालय भैरहवाका सूचना अधिकारी बिनोद सिंह रावतले बताए ।

प्रतिक्रिया दिनुहोस्