Logo

५५ करोडमा पातिचौर–बाजुङ–लेसपार–नागी सडक स्तरोन्नति

पर्वत– मार्ग खुलेको झण्डै दुई दशकपछि पातिचौर–बाजुङ–क्याङ–लेसपार–नागी सडक स्तरोन्नतिको काम सुरु भएको छ । एसियाली विकास बैंक (एडिबी)को सहयोगमा आरसिआइपी परियोजना पोखरामार्फत सडकको स्तरोन्नति थालिएको हो । करिब २८ किलोमिटर लामो यो सडक झन्डै ५४ करोड ९० लाख रुपैयाँको लागतमा स्तरोन्नति थालिएको हो । यो अहिले जिल्लामा सञ्चालित सडक आयोजनामध्ये सबैभन्दा ठूलो रहेको मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले जानकारी दिए ।

मार्ग खुलेको लामो समयसम्म पनि सडक स्तरोन्नति नहुँदा मोदीका ५ र ४ का बासिन्दा कष्टकर रूपमा यात्रा गर्न बाध्य भएका थिए । स्तरोन्नतिअन्तर्गत अहिले चक्लाबन्दी गर्ने, नाली बनाउने, ग्याबिन जाली, टेवा पर्खाल निर्माणलगायत काम भइरहेको उपाध्यक्ष लामिछानेले जानकारी दिए । चौबिस महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी गत चैत २९ गते एमएस बाँनिया निर्माण सेवा प्रालि हेटौंडाले निर्माणको जिम्मा पाएको छ ।

अहिले स्तरोन्नतिका लागि पर्याप्त जनशक्ति राखेर काम गरिरहेको निर्माण व्यवसायीले जानकारी दिएका छन् । दुई वर्षमा कालोपत्रसहित सम्पन्न हुने सडकले छिमेकी जिल्ला म्याग्दीको पर्यटकीय क्षेत्र नागीलाई समेत जोड्नेछ । यसले पर्यटकीय र अन्य रणनीतिक महत्त्व बोकेको गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले बताए ।

विशेषगरी पर्वतको जलजला, हम्पाल, माटे हुँदै म्याग्दीका नागी, मोहोरेडाँडा, पुनहिललगायत क्षेत्रमा जाने पर्यटकलाई पनि सडकले राहत मिल्ने अपेक्षा गरिएको छ । योसँगै मोदी गाउँपालिकामै अर्को सडक कालोपत्रको काम भइरहेको छ । गण्डकी प्रदेश सरकारको समपूरक बजेटअन्तर्गत करिब ४२ करोडको लागतमा निर्माणाधीन रतिखोला–दराक–चित्रे–गँगटे सडक स्तरोन्नति तथा कालोपत्रको काम पनि दु्रतगतिमा भइरहेको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ ।

करिब १२ किलोमिटर लामो यो सडक दुई वर्षभित्रमा कालोपत्रसहित सम्पन्न हुनेछ । दुवै सडकको संघीय सांसद तथा पूर्वमन्त्री पदम गिरीले अनुगमन गरेका छन् । सो क्रममा सांसद गिरीले गुणस्तरीय काम गर्न आग्रह गरे । उनले तोकिएकै समयमा निर्धारित गुणस्तर अनुसारको काम गरेर सडक हस्तान्तरण गर्न निर्माण व्यवसायी र सम्बन्धित कार्यालयलाई आग्रह गर्दै कुनै समस्या आइलागेमा आवश्यक समन्वय गर्नसमेत सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्