गत वर्षभन्दा ३७० प्रतिशतसम्मले बढ्यो तरकारीको मूल्य
काठमाडौं– हरियो तरकारी अत्यधिक महँगो भएको छ । गत वर्षको तुलनामा तरकारीको मूल्य ३७० प्रतिशतसम्मले बढेको छ ।
गएको असोजमा बाढीपहिरोले खेतबारी डुबानमा परेको र सडक अवरुद्ध भएका बेला हरियो तरकारी महँगो भएको थियो । त्यो बेला महँगिएको तरकारी अहिले पनि तल झरेको छैन । अहिले सिजनकै तरकारी काउली, गोलभेंडा, मुला आदि उपभोक्ताले चर्काे मूल्यमा खरिद गर्न बाध्य छन् । असोजमा महँगिएको तरकारी अहिले सस्तो नभएको मात्र होइन, गत वर्षसँग तुलना गर्दा पनि अहिले तरकारीको मूल्य उच्च छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्षको तुलनामा अहिले हरियो तकारीको मूल्य झन्डै ६ गुणाले बढेको छ । गत पुस ३ मा सानो गोलभेंडा (टनेलको) थोकमा प्रतिकिलो मूल्य १७ रुपैयाँ थियो । यो वर्ष पुस ३ मा ७० रुपैयाँ पुगेको छ । यो ३७०.५७ प्रतिशतले बढी हो । यस्तै, सानो गोलभेंडा गत वर्ष पुस ३ मा प्रतिकिलो १३ रुपैयाँ २० पैसामा कारोबार भएको थियो । यो वर्ष ३४१.८९ प्रतिशतले बढेर प्रतिकिलो ५८ रुपैयाँ ३३ पैसा पुगेको छ ।
अहिले सिजन भएको काउली स्थानीयको मूल्य १९९.३० प्रतिशतले वृद्धि भएको छ । गत वर्ष पुस ३ मा स्थानीय काउली प्रतिकिलो २८ रुपैयाँ ४० पैसामा कारोबार भएको थियो । यो वर्ष बढेर प्रतिकिलो ८५ रुपैयाँ पुगेको छ । यस्तै, मूला पनि गत वर्षभन्दा ११५.२६ प्रतिशतले महँगो भएको छ । गत वर्ष मुला प्रतिकिलो १७ रुपैयाँ ५० पैसामा कारोबार भएको थियो । अहिले बढेर ३७ रुपैयाँ ६७ पैसामा कारोबार भएको समितिको तथ्यांकले देखिएको छ ।
तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले असोजमा बाढीपहिरोको असरले उत्पादन कम हुँदा तरकारीको मूल्य गत वर्षभन्दा धेरै महँगो भएको उनले बताए । ‘बेमौसमी तरकारीको मूल्य वृद्धि भए पनि सिजनको तरकारीको मूल्य घट्नुपर्ने थियो । तर, यो वर्ष सिजनको तरकारी काउली, बन्दा र गोलभेंडाको मूल्य पनि उच्च भएको छ,’ उनले भने । तरकारीको मूल्यवृद्धि हुनुपर्ने अन्य कारण नभएर गत असोजमा भएको बाढीपहिरोको नै असर देखिएको उनको भनाइ छ । उनले भने, ‘यो वर्ष भारतबाट आयात हुने तरकारीको मूल्यसमेत महँगो छ । मागअनुसार उत्पादनमा कमी आउँदा मूल्य अकासिएको छ । तरकारी महँगो हुँदा खपत पनि कम हुने भएकाले किसानसमेत खुसी छैनन् ।’
सरकारको बजारमा उपस्थिति नहुनु र व्यापारीको दादागिरीका कारण सिजनकै तरकारी उपभोक्ताले अत्यधिक महँगो मूल्य तिरेर खानुपरेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन् । ‘बेसिजनको तरकारीको मूल्य वृद्धि भए पनि सिजनको समेत अत्यधिक महँगोमा खानुपरेको छ । गत वर्ष १३ रुपैयाँमा पाउने गोलभेंडा अहिले एक सयभन्दा बढीमा खरिद गर्नुपरेको छ । काउली, मुला, हरियो साग, सिमीलगायत सबै हरियो तरकारी छोइसक्नु छैन,’ उनले भने, ‘व्यवसायीले बाढीपहिरोको बहाना बनाएर उपभोक्तालाई ठग्ने काम भइरहेको छ । यसमा राज्यको कुनै चासो छैन । बजार अनुगमन गरी बढी मूल्य लिनेलाई सरकारले कारबाहीको दायरामा ल्याएको भए सिजनकै तरकारी महँगोमा उपभोक्ताले खानुपर्ने थिएन ।’
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले विभागबाट हुने बजार अनुगमन दैनिक रुपमा भइरहेको जानकारी दिए । विगतभन्दा यो वर्ष तुलनात्मक रुपमा हरियो तरकारीको मूल्य महँगो छ । विभागले अनुगमन गरेर मूल्य घटाउने होइन । हामीले खरिद मूल्य र बिक्री मूल्यको अन्तर अस्वाभाविक छ भने बील हेरेर कारबाही गर्ने हो । पछिल्लो समय तरकारीको हकमा बजार अनुगमन भएको छैन । यो वर्ष बाढीले गर्दा नै उत्पादन कम हुँदा मूल्य बढेको हुन सक्छ,’ उनले भने । सिजनकै हरियो तरकारीको मूल्य के कारणले महँगो भएको हो विभागले अनुगमन गर्ने उनले बताए । खरिद मूल्यभन्दा व्यवसायीले धेरै नै लिएको पाइए कानुनबमोजिम कारबाही गर्ने महानिर्देशक पौडेलको भनाइ छ ।