Logo

एनसेललाई उत्कृष्ट करदाताको सम्मान

काठमाडौं– एनसेल सबै भन्दा बढी कर तिरेकोमा सम्मानित भएको छ । गत आर्थिक वर्षमा संस्थागत तर्फ सबै भन्दा बढी कर योगदान गरेकोमा ललितपुर महानगरपालिकाले मंगलबार एनसेलललाई उत्कृष्ट करदाताका रुपमा सम्मान गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्त रुपमा ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभलाई सम्मान पत्र प्रदान गरेका थिए ।

सबै भन्दा बढी कर तिरी ललितपुर महानगरपालिकाको विकास र समृद्धिमा योगदान पुर्‍याएकाले उच्च कदर गर्दै एनसेललाई यो सम्मान पत्र प्रदान गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ । विगत लामो समयदेखि एनसेल सबैभन्दा बढी कर तिर्ने एक कम्पनीको रुपमा स्थापित रहँदै आएको छ ।

‘ललितपुर महानगरपालिकाले हाम्रो योगदानलाई कदर गर्दै प्रदान गर्नु भएको यो सम्मानका लागि हामी कृतज्ञ छौं । एक ठूलो करदाताका रुपमा हामीले प्रत्येक वर्ष सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षक अन्तर्गत राजश्वमा ठूलै योगदान गछौं र यसरी देशको अर्थतन्त्र र विकासमा प्रत्यक्ष, अप्रत्क्षरुपमा योगदान गर्न पाउँदा हामी गौरवान्भित छौं र यो कार्यले निरन्तरता पाउने कुरामा म विस्वश्त छु’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ।

यसअघि पनि एनसेलले विभिन्न समयमा सरकारबाट सर्वोत्कृष्ट करदाता, सर्वोत्कृष्ट आयकरदाता लगायतको विभिन्न सम्मान पाईसकेको छ । एनसेलले स्थापनाकालदेखि गत आ.व. २०८०/८१ सम्ममा सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षकमा ३०० अर्ब भन्दा बढी तिरिरहेको दावी गरेको छ । गत आ.व.मा मात्रै कम्पनीले २०.३० अर्ब कर तथा शुल्क सरकारलाई दाखिला गरेको छ ।

यसैगरी कम्पनीले व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत २ अर्ब भन्दा बढीको योगदान गरी सातै प्रदेशका समुदायस्तरसम्म पुगेर देशभरका १ करोड ३० लाख भन्दा बढी जनसंख्यालाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा लाभ प्रदान गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्