बजेट विनियोजन हुँदा पनि रोकियो बेलिब्रिज जडानको काम
वीरेन्द्रनगर– भेरी करिडोर सडकसँग जोडिएको जाजरकोटको नलगाड जलविद्युत आयोजनाको निर्माणस्थल भित्र पर्ने खारामा पुलैमाथि पुलको योजना परे पनि निर्माणको काम नै सुरु हुन सकेको छैन । जाजरकोट पूर्वमा रहेको नलगाड जलविद्युत आयोजनाको पहुँचमार्ग आवतजावतका लागि निर्माण थालिएको मोटरेबल पुल अलपत्र परेको १० वर्ष बितेको छ ।
उक्त पुल निर्माण नभएका कारण सोही ठाउँमा प्रदेश सरकारले बेलिब्रिज निर्माणको तयारी थाले पनि कम बजेट भएकाले काम अगाडि बढ्न सकेको छैन । नलगाड नगरपालिका–५ र बारेकोट गाउँपालिका–८ बीचमा रहेको खारास्थित नलगाड नदीमा निर्माणाधीन पुलको काम निर्माण व्यवसायीले बीचमै छोडेपछि समस्या भएको हो । उक्त पुल कहिले बन्छ कुनै अत्तोपत्तो नभएको अवस्था छ ।
सोही ठाउँमा अर्को बेलिब्रिज पुल जडानका लागि अघिल्लो वर्ष भौतिक पूर्वाधार मन्त्रालयबाट उपलब्ध गराएको बेलिब्रिज पुलका सामानसमेत खारामा अलपत्र अवस्थामा छन् । नलगाड जलविद्युत आयोजनाको पुल निर्माण नभई अलपत्र परेपछि संघ सरकारले नै उपलब्ध गराएको बेलिब्रिज पुलको सामान प्रदेश सरकारले जडान गर्न ढिलाइ गर्दा अलपत्र पर्दै आएको छ ।
पूर्वाधार विकास कार्यालय, जाजरकोटले बेलिब्रिज पुल जडानका लागि एक करोड ९७ लाखको स्टिमेट बनाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयबाट आर्थिक मामिला तथा योजना मन्त्रालय पठाएको थियो । आर्थिक मामिलाले ३० लाख रुपैयाँको मात्र स्रोत सुनिश्चित गरेपछि उक्त ठाउँमा बेलिब्रिज पुल निर्माण फेरि बाधा पुगेको छ ।
उक्त बजेट अपुग भएको भन्दै मन्त्रालयमा फाइल पठाएको पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख इन्जिनियर भूपेन्द्रप्रसाद जैसीले बताए । त्यस्तै छेडागाड नगरपालिकाको मनघाटमा निर्माण हुने बेलिब्रिज पुल जडान गर्ने रकमसमेत अपुग हुँदा मन्त्रालयसँग माग गरिएको छ । उक्त ठाउँमा बेलिब्रिज जडान गर्नका लागि माग गरिएको रकमभन्दा निकै कम अर्थात् २७ लाख रुपैयाँमात्र प्रदेश सरकारले सुनिश्चित गरेर पठाएपछि काम नहुने भएको हो ।
जिल्ला कार्यालयले बनाएर माग गरेर पठाएको भन्दा भारी कम बजेट हुँदा काम नहुने भएको कार्यालय प्रमुख इन्जिनियर जैसीले बताए । यत्ता भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले कम बजेट भएका कारण काम नभएको सत्य भएको भन्दै फेरि फाइल अगाडि बढाएको बताए । जिल्ला कार्यालयबाट आएको पत्रका आधारमा काम हुने भन्दै केही दिनमा स्रोत सुनिश्चित हुने सम्भावना रहेको उनले जानकारी दिए ।
उनले भने, ‘मैले पनि कहाँ पुग्यो, त्यो फाइल भनेर बुझ्न पाएको छैन । तर मन्त्रालयबाट अगाडि बढनुपर्ने हो अहिले सम्म त ?’ नलगाड जलविद्युत आयोजनाले निर्माण गर्न लागेको पुल समयमै सम्पन्न भएको भए बेलिब्रिज पुल निर्माण गर्नु जरुरी नै थिएन । जाजरकोट छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले पुल निर्माण गर्ने भन्दै ठेक्का लिए पनि १० वर्षदेखि पुल निर्माण हुन सकेको छैन ।
प्रमुख खड्काको खड्का कृष्ण कन्स्ट्रक्सन प्रालिले २०७२ सालमा दुई वर्षमै सक्नेगरी पहुँच मार्गको सडक र पुल निर्माणको जिम्मेवारी लिएको थियो । ठेकेदार कम्पनीले साढे तीन करोडमा पुल निर्माण गर्ने ठेक्का पाएको भेरी करिडोर अन्तर्गत जाजरकोट–डोल्पा सडक खण्डसँग जोडिएको नलगाड पहुँचमार्गले जुम्लासँग सडक जोड्छ ।
यो पुल नबन्दा नलगाड नदीमा परेर धेरैको मृत्यु भएको स्थानीय रामबहादुर खत्रीले बताए । उनले भने , ‘पुल निर्माण नहुँदा हामीले धेरै दु:ख पाएका छौँ, नलगाड नदीमा काठको लाप्को बनाएर सवारीसाधन तार्दा जोखिम हुन्छ,’ उनले भने, ‘काठे पुलबाट ओहोरदोहोर गर्न पनि चर्को मूल्य बुझाउनुपर्छ ।’
वर्षायाममा उक्त काठको पुल नदीले बगाउने गर्छ भने हिउँदयाममा मात्र काठको पुल सञ्चालन गरिन्छ । पुल निर्माण नहुँदा भेरी करिडोरबाट गएका सवारीसाधन खारा र बारेकोट गाउँपालिकाबाट आएका सवारीसाधन साधुतरामा रोकिने गरेका छन् । नलगाड जलविद्युत आयोजनामा फिल्ड इन्जिनियर पदम थापाका अनुसार पुल निर्माणका लागि खारा र साधुतरा साइटमा दुई पिलर उठाइएको छ ।
पिलर राख्दा नै समस्या भएपछि आयोजनाबाट चिठी लेखेर पुन: पूर्ण पिलर निर्माण गर्न आग्रह गरिएको थियो । ठेकेदार कम्पनीले कार्यालयले लेखेको चिठी लत्याउँदै पिलर हालेपछि विवाद सुरु भएको थियो । हाल आएर उक्त काम पूरै रोकिएपछि पुलैमाथि पुल भए पनि काम कत्तै पनि सुरु हुन सकेको छैन । नलगाड जलविद्युत आयोजनाका प्रमुख दिपक मुडभरीले पुल निर्माणका लागि म्याद थप भएको बताए ।
उनले थने, ‘पुल निर्माण गर्दा आएका समस्या आफैँ समाधान गर्छु भनेर मेयरसाबले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यदि नगरे कारबाही गर्छौं । पुल जसरी नि बनाउनुपर्छ । फिल्डमा तत्काल गएर काम सुरु हुन्छ अब । केही समय अगाडि कारबाही प्रक्रिया अगाडि बढाएर कालोसूचीमा राख्न खोज्दा पुल बनाउँछु भनेपछि छाडिएको छ ।’
उत्ता नलगाड जलविद्युत आयोजनाले निर्माण व्यवसायीलाई काम गर्न ताकेता गर्दै म्याद थपे पनि काममा प्रगती भने अहिलेसम्म हुन सकेको छैन । आयोजनाका इन्जिनियर पदम थापाका अनुसार हाल सम्मा पुलको काममा कुनै प्रगति भएको छैन । ताकेता गरे पनि परिणाम हुनै पनि आउन सकेको छैन । यता आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाहले केही दिनमै स्रोत सुनिश्चित हुने बताएका छन् ।
उनले भने, ‘डीपीआर कसरी बनाएको होला यो बेलिब्रिज जडानको अचम्मा लाग्छ ? दुई करोडको हाराहारीमा जडान शुल्क हुन्छ भन्दै फाइल ल्याएको छ । जब कि सोही ठाउँमा नयाँ निर्माण हुने पक्की पुलको लागत तीन करोड रहेको छ । डीपीआरको नाममा लुटने परिपार्टी मलाई मन नपरेको हो । राज्यको पैसा हो भन्दैमा जथाभावी गर्नुपर्ने चलनको अन्त्य हुनुपर्छ ।’
मन्त्री शाहले राज्यले बेलिब्रिजको सामान दिएर जडानमात्र गरभन्दा झण्डै दुई करोड लाग्ने डीपीआर बनाउने तर सोही ठाउँमा पक्की पुल तीन करोडमा निर्माण गर्न ठेक्का लाग्ने यो कस्तो खालको प्रवृत्ति हो उनले भने । अहिले खारामा काठको अस्थायी पुल बनाएर स्थानीयबासीले यातायातका साधन वारपारको काम चलाइरहेका छन् ।
उक्त काठको पुल निर्माण गर्नका लागि काठ राख्दै गर्दा बारेकोट गाउँपालिका–८ लैखमका दलबहादुर सिंह घाइते भएर काठमाडौँमा उपचार कार्य जारी छ । उता निर्माण व्यवसायी तथा नगरप्रमुख रत्नबहादुर खडकालाई पुल निर्माण कहिलेबाट सुरु हुन्छ भनेर फोन गर्दा रिसिभ नहुँदा प्रतिक्रिया लिन सकिएन ।