हिमाको बड्कीमा बन्याे स्वास्थ्य चौकी
जुम्ला– जुम्लाको हिमा गाउँपालिका–१ स्थित बड्की स्वास्थ्य चौकीमा पक्की भवन निर्माण गरिएको छ । स्वास्थ्य सेवा प्रभावकारी सञ्चालन गर्न गाउँपालिकाले बड्की स्वास्थ्य चौकीमा पक्की निर्माण गरेको हो । गत आर्थिक वर्ष २०८०/०८१ को वार्षिक विनियोजित कार्यक्रमनुसार बड्की स्वास्थ्य चौकीमा ३८ लाख लगानीमा पक्की भवन निर्माण गरिएको हो ।
पुरानो साँघुरो भवनबाट बर्थिङ सेन्टर, सामान्य चेकजाँचदेखि अन्य सेवा दिइरहेको बड्की स्वास्थ्य चौकीलाई पूर्वाधार अभावले प्रवाहमा कठिनाइ भएको थियो । भौगोलिक रूपमा विकट र सदरमुकामभन्दा टाढा रहेका हिमाका थुप्रै बस्ती स्वास्थ्य चौकीबाटै विभिन्न स्वास्थ्य सेवा लिइरहेका छन् । भौगोलिकता र नागरिकको आर्थिक अवस्थालाई मध्यनजर गरी पालिकाले पटकपटक विभिन्न रोगको शिविर पनि चलाउँदै आएको छ ।
तर साँघुरो भवनबाट नागरिकलाई सेवा दिइरहेको बड्की स्वास्थ्य चौकीले आफ्नै पक्की भवन पाएको छ । नवनिर्मित भवनको सोमबार हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले उद्घाटन गरे । स्वास्थ्य शिक्षा, खानेपानीलाई विकासलाई विशेष प्राथमिकतामा राखेर पूूर्वाधार विकासलाई प्राथमिकता दिएको उनले उल्लेख गरे । नागरिकको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको विषयमा पालिका गम्भीर छ ।
उनले भने, ‘आर्थिक रूपमा विपन्न नागरिकका लागि स्वास्थ्य चौकी ठूलो अस्पताल हो । दैनिक धेरैले सेवा लिन्छन् । तर पूर्वाधार अभावले साँघुरो संरचनाबाट सेवा दिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गरेका छौं । पालिकाभित्रका सबै, स्वास्थ्य संस्थालाई पूर्वाधार र उपकरणमा सम्पन्न बनाउने पालिकाको लक्ष्य छ ।’ गत आवको विनियोजित ३८ लाख बजेटबाट टेण्डर आह्वान भई भवन निर्माण भएको छ ।
हिमाका विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी पूर्वाधार अभावले समस्या झेल्नु नपर्ने गरी काम गरिरहेको उनको अध्यक्ष शाहीको भनाइ छ । ‘व्यवस्थाको स्थायित्व संरचनाले गर्छ । स्थानीय सरकार घरदैलोको सरकार हो । संघीयता खर्चिलो भयो भन्ने बहस पनि चलिरहेका छन् । संघीयता टिकाउन, नागरिकलाई विकासको अनुभूति दिलाउन पनि हामीले कृषि, पर्यटन, स्वास्थ्य शिक्षा, खानेपानी क्षेत्रको पूर्वाधार विकासमा विशेष जोड दिएका छाैं,’ उनले भने ।’
अध्यक्ष शाहीका अनुसार आफ्नो कार्यकालभित्र पालिकाको प्रशासनिक भवन बनाउने, खानेपानी लगानी गर्नै नपर्ने गरी काम गर्ने, स्वास्थ्य संस्था, विद्यालय भवन धमाधम बनाउने लक्ष्य राखिएको छ । पालिकाका भवन निर्माणका लागि शिलान्यास गरी माटो परिक्षणसमेत गरी अन्य प्रक्रिया अघि बढाइएको छ ।